अमेरिका र वेस्ट इण्डिजमा जारी आइसिसी टी–२० विश्वकपको पहिलो चरण लगभग सकिनै लागेको छ । २० मध्ये १६ टिमले अब एक/एक म्याच मात्र खेल्न बाँकी छ ।
अहिलेको अवस्थामा आशा गरिएका बलियो टिमले जितको खाता खोल्न सकेका छैनन्, जस्तोः इंग्ल्याण्ड, श्रीलंका, न्यूजिल्याण्ड । पहिलोपटक विश्वकप खेलिरहेका अमेरिका, क्यानडा र युगान्डाले भने जित हात पारिसकेका छन् ।
उनीहरूमध्ये अमेरिका र क्यानडाले त टेस्ट टिमलाई स्तब्ध नै पारिसकेका छन् । अमेरिकाले पाकिस्तान तथा क्यानडाले आयरल्याण्डलाई स्तब्ध पारेका हुन् ।
यस्तै, जारी संस्करणको २९ खेल सकिँदा पाँच टिमले ह्याट्रिक जित अर्थात् लगातार तेस्रो खेल आफ्नो पक्षमा पारेका छन् । ती चार टिम हुन्, भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इण्डिज र अफगानिस्तान ।
समूह ‘ए’ मा रहेको उपाधि दाबेदार भारतले पहिलो खेलमा आयरल्याण्डलाई ९ विकेटले हराउँदै सानदार सुरुवात गर्यो । यस्तै, उसले दोस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ६ रनको रोमाञ्चक जित निकाल्यो ।
भारतले ह्याट्रिक जित पूरा गर्नेक्रममा आयोजक अमेरिकालाई सात विकेटले हरायो । योसँगै भारतले एक खेलअगावै सुपर एटमा स्थान सुरक्षित गरेको छ । भारतले सन् २००७ यता टी–२० विश्वकप जित्न सकेको छैन । ऊ यसपटक १७ वर्षअघिको इतिहास दोहोर्याउने दाउमा छ ।
यस्तै, जारी विश्वकपमा लगातार तीन खेलमा जित निकाल्ने अर्को टिम हो, अस्ट्रेलिया । उपाधि दाबेदार मानिएको अस्ट्रेलियाले समूह ‘बी’ मा ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गर्यो । उसले दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ३६ रनले हरायो ।
अस्ट्रेलियाले तेस्रो खेलमा नामिबियाविरुद्ध ९ विकेटको फराकिलो जित निकाल्दै एक खेलअगावै फाइनलको यात्रा गर्यो । अस्ट्रेलिया २०२१ को टी–२० विश्वकप विजेता टोली हो ।
त्यस्तै, हालसम्म विश्वकपको फाइनलसमेत पुग्न नसकेको दक्षिण अफ्रिकाले जारी संस्करणमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले तीन म्याच खेल्दा सबैमा जित निकालेको छ । उसले श्रीलंकालाई ६ विकेटले हराउँदै विश्वकपको सुरुवात गरेको थियो ।
दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ४ विकेटको जित निकाल्यो । उसले तेस्रो खेलमा बंगलादेशलाई ४ रनले पाखा लगाउँदै एक खेलअगावै सुपर एटको यात्रा गर्यो ।
यस्तै, विश्वकप २०२४ मा आयोजक वेस्ट इण्डिजले पनि सुपर एटको यात्रा गरिसकेको छ । यसपटक समूह ‘सी’ मा रहेको दुईपटकको विश्वकप च्याम्पियन वेस्ट इण्डिजले पहिलो खेलमा पपुवा न्यूगिनीलाई ४ विकेटले हराउँदै सुखद सुरुवात गर्यो ।
वेस्ट इण्डिजले दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनको फराकिलो जित निकालेर सुपर एट सम्भावना बलियो बनायो । र, वेस्ट इण्डिजले बिहीबार बिहान तेस्रो खेलमा न्यूजिल्याण्डलाई १३ रनले स्तब्ध पार्दै दोस्रो चरणको टिकट सुरक्षित गर्यो ।
यस्तै, जारी विश्वकपमा अफगानिस्तानले पनि सुपर आठमा स्थान बनाइसकेको छ । समूह ‘सी’ मा रहेको अफगानिस्तानले दमदार प्रदर्शनका साथ सुपर आठमा स्थान बनाएको हो । उसले पहिलो खेलमा युगान्डालाई १२५ रनले हराउँदै सानदार सुरुवात गरेको थियो ।
दोस्रो खेलमा अफगानिस्तानले न्यूजिल्याण्डलाई ८४ रनले स्तब्ध पार्यो । उसले पहिलोपटक न्यूजिल्याण्डलाई हराएको हो । तेस्रो खेलमा पपुवा न्यूगिनी (पिएनजी) लाई ७ विकेटले हराउँदै एक खेलअगावै सुपर आठको यात्रा गर्यो ।
१० वर्षपछि विश्वकप खेलिरहेको नेपालको सुपर आठ यात्रा भने कठिन छ । नेपालले दोस्रो चरणको यात्रा पक्का गर्न बाँकी दुईवटै खेलमा जित निकाल्नैपर्ने समीकरण बनेको छ । नेपालले अब शनिबार दक्षिण अफ्रिका र सोमबार बंगलादेशसँग खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।