नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता अलराउन्डर दीपेन्द्र सिंह ऐरीले दिलाएका छन् ।
उनले ३.४ ओभरमा क्विन्टन डिककलाई १० रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन् । नेपालले आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको हो ।
नेपाल–दक्षिण अफ्रिकाबीचको खेल सेन्ट भिन्सेन्टको अर्नोस भेल ग्राउन्डमा भइरहेको हो । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज सागर ढकालको स्थानमा सन्दीप लामिछानेलाई मौका दिएको हो ।
नेपाल र दक्षिण अफ्रिका सिनियर क्रिकेटमा पहिलोपटक एकअर्काको सामना गर्न लागेका हुन् । नेपालले दक्षिण अफ्रिकासँग उमेर समूहको क्रिकेटमा भने प्रतिस्पर्धा गरिसकेको छ ।
यू–१९ विश्वकपमा नेपालले दुईपटक दक्षिण अफ्रिकालाई हराएको रेकर्ड पनि छ । नेपाल अब सिनियर क्रिकेटमा पनि दक्षिण अफ्रिकालाई हराउँदै इतिहास रच्न चाहन्छ । यद्यपि उच्च लयमा रहेको दक्षिण अफ्रिकालाई हराउन सहज छैन ।
ऊ एक खेलअगावै सुपर आठमा पुगिसकेको छ । दक्षिण अफ्रिकाले जारी विश्वकपमा श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्सलाई हराइसकेको छ । अब ऊ नेपाललाई पनि हराउँदै अपराजित सुपर आठ चरण खेल्न चाहन्छ ।
नेपाल भने दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै सुपर आठ सम्भावना जीवित राख्न चाहन्छ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटको हार बेहोर्यो । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकासँग अंक बाँडेको नेपाल अहिले तालिकाको चौथो स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।