मलाई फिल्मको कमी छैन, फिल्म नपाएर रेस्टुरेन्ट चलाएकी होइन : ऋचा शर्मा

काठमाडौं– हलिउड र बलिउड जगतमा सेलेब्रिटीले आर्थिक रूपमा अब्बल बन्न विभिन्न क्षेत्रमा लगानी गर्ने ‘ट्रेन्ड’ नौलो होइन । विश्वका चर्चित सेलेब्रिटीले फिल्मबाहेक अन्य क्षेत्रमा पनि हात हालेको देखिन्छ । त्यसमा पनि रेस्टुरेन्ट र क्याफेलगायत होटल व्यवसायमा धेरै सेलेब्रिटीको लगानी रहेको देखिन्छ । 

पछिल्लो समय यो ट्रेन्डले नेपाली सेलेब्रिटीलाई पनि तान्न थालेको देखिन्छ । नेपाली सेलेब्रिटीहरू रेस्टुरेन्ट व्यवसायमा आकर्षित भइरहेका छन् । यो सूचीमा हालै एयटा नाम थपिएको छ । त्यो नाम हो ऋचा शर्मा । अभिनेत्री ऋचा शर्माले दरबारमार्गमा अवस्थित शेर्पा मलमा आफ्ना केही साथीसँग मिलेर ‘पांग्रा एक्सप्रेस’ नामक फुड स्टल सञ्चालनमा ल्याएकी छन् । प्रस्तुत छ, तिनै ऋचा शर्मासँग फरकधारकर्मी कमल विष्टले गरेको कुराकानीको सम्पादित अंश :

रेस्टुरेन्ट व्यवसायमा लगानी गर्ने योजना कहिले र कसरी बन्यो ?

केही समयअघि मेरो एउटा साथी दुबईमा लामो समय यसै क्षेत्रमा काम गरेर नेपाल फर्किएको थियो । उसमा नेपालमै यही क्षेत्रमा केही गर्ने सोच रहेछ । उसलाई यसमा राम्रो अनुभव पनि छ । सुरुमा उसले मलाई प्रस्ताव गर्यो । मैले यही कुरा सँगै स्कुल पढेका केही साथीलाई सुनाएँ । उनीहरूसँग छलफल भएपछि सँगै काम गर्ने सहमति भयो । चारजनाको संयुक्त लगानीमा हामीले ‘पांग्रा एक्सप्रेस’ सुरु गर्यौँ । 

म आफैँलाई पनि पहिल्यैदेखि फास्टफुडमा लगानी गर्ने इच्छा थियो । चाहेकै क्षेत्रमा गरौँ भनेर साथीबाट अफर आयो र यो त्यसैको उपज हो । 

स्टलको नाम ‘पांग्रा एक्सप्रेस’ राख्नुको पछाडि केही कारण छ ?



हामीले एउटा ‘ट्रक’बाट ग्राहकहरूलाई सेवा दिइरहेका छौँ । किचेन नै ‘ह्विल’ भएको ट्रकमा छ । ‘ह्विल’लाई नेपालीमा पांग्रा भनिने भएर पसलको नाम नै पांग्रा रहन गयो ।
 
पछिल्लो समय सेलेब्रिटीहरू रेस्टुरेन्ट, कफी सप र आदिमा लगानी गर्न आकर्षित भइरहेको देखिन्छ । तपार्इंले पनि अरूको सिको गर्दै त्यहीँ ‘ट्रेन्ड’ पछ्याउनु भएको हो ?

सेलेब्रिटीहरूको ‘साइड बिजनेस’ हुनु हलिउड, बलिउड जता पनि सामान्य नै हो । मैले कसैलाई पछ्याएको वा सिको गरेको होइन । आफूलाई आर्थिक रूपमा अझ सबल गर्न इन्भेस्ट गरेको हुँ । त्यसमा पनि मलाई फास्ट फुडमा पहिल्यैदेखि लगानी गर्न मन थियो । राम्रो अवसर आउँदा त्यसलाई ग्र्याब गरेको हुँ । 



तपाईंको त मूल पेसा सिनेमा हो, रेस्टुरेन्ट क्षेत्रमा आउनुभएको छ । यसले करिअरलाई बाधा त पुग्दैन ? 

खासै गाह्रो हुँदैन । मेरो मुख्य काम मार्केटिङ हेर्ने हो । सधैँ पसलमै बसेर काम गरिरहनुपर्दैन । हामीमध्ये एकजना पार्टनरले त्यहीँ बसरै समय दिनुहुन्छ । हाम्रो सम्झौता पनि त्यसरी नै भएको छ । 

फिल्मी क्षेत्रमा सफल नहुँदा सेलेब्रिटीले साइड बिजनेस गरेको देखिन्छ, ऋचा शर्माले पनि फिल्मको अफर नआएर सेफसाइड खोज्नुपरेको त होइन ?

व्यवसाय र चलचित्र दुई फरक कुरा हुन्, म यसलाई यसरी लिन्छु । भन्नेले त यहाँ जे पनि भन्छन् । अनेक थरीका अड्कल काट्न सुरु गरिहाल्छन् । तर, मेरो हकमा कुरा गर्नुपर्दा मलाई फिल्मको कमी छैन । जति पनि काम पाउँछु । यसको अर्थ फिल्म नपाएर रेस्टुरेन्ट क्षेत्रमा लगानी गरेकी होइन ।

आज फिल्म, भोलि फिल्म, हलबाट एउटा फिल्म निस्किएको हुँदैन, अर्को फिल्म लाइनमा भएका धेरै कलाकार छन् । मैले पहिले पनि कहिल्यै पनि ब्याक टु ब्याक फिल्म गरिनँ, गर्दिनँ पनि । म जति गर्छु राम्रो गर्ने प्रयास गर्छु । 

तर केचाँहि साँचो हो भने मलाई बिजनेस पनि गर्न मन छ । अब यसलाई अरूले कसरी लिन्छन् त्यो उहाँहरूलाई नै छोड्न चाहन्छु । 

 

  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार १७:५१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया