logo-img

मनसुनसँगै सरुवारोगको बाढी, जोखिम टार्न गराैँ यस्ताे पूर्वतयारी

शनिबार राति हलुका वर्षा भएसँगै यस वर्षको मनसुन सुरु भइसकेको छ । केही दिनदेखि प्रचण्ड गर्मीका कारण भइरहको उकुुसमुकुसमा शनिबार राति परेको पानीले केही मात्रामा भए पनि उपत्यकासँगै आसपासका क्षेत्रमा केही राहत महसुस गराएको  छ । 

मनसुन सुरु भएको संकेतसँगै देशका धेरै ठाउँमा बाढी पहिरो पनि गइरहेको छ । धेरै मानिसको ज्यानसमेत गइसकेको छ । बाढी पहिरोको कारण धेरै बस्तीहरूमा असर भएको  छ । यसले मानिसको दैनिक जीवनयापनमा पनि असर गरेको छ । धेरैजसो खानेपानीको मुहानमा बाढी पसेर मानिसहरू दूषित पानी खान बाध्य भइरहेका छन् । जसले गर्दा विभिन्न खालका रोगहरूको जोखिम बढ्दै गइरहेको छ ।

वर्षाको कारण देखिने मौसमी संक्रमणजन्य सरुवारोग लागेमा सामान्य ध्यान दिन सके पनि यस्ता संक्रमणबाट जोगिन सकिने भए पनि सामान्य असावधानीले गर्दा बर्सेनि धेरै मानिस यस्ता मौसमी संक्रमणबाट प्रभावित हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । 
वर्षातको समय दूषित पानी र खानाका कारण विभिन्न रोग लाग्न सक्छन् । विशेष गरेर यो समयमा झाडा–पखाला र ज्वरोका बिरामी धेरै देखिन्छन् । यसका साथै भाइरल हेपाटाइटिस (ए र ई) पनि हुन सक्ने उनको भनाइ छ । 

झाडा–पखाला 

झाडा–पखालाको मुख्य कारण दूषित पानी र खराब खानपान हो । दूषित पानीले विभिन्न संक्रमण फैलाउन सक्छ । वर्षाको समय ढल वा अन्य फोहोर मिसिएर पानीको मुहान फोहोर हुन सक्छ । जसले झाडा–पखालाको संक्रमण फैलाउने जोखिम रहन्छ । त्यहीकारण उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्रै पिउन डा. पुन सुझाउँछन् । 



हैजा 

झाडापखलाको समस्या देखिनुको प्रमुख कारण हैजा पनि हो । हैजाको प्रकोपको कारण कहिलेकाहीँ बालबालिकाको मृत्युसमेत भएको रेकर्ड छ । दुई वर्षपहिले काठमाडौंमै समेत हैजा फैलिएको अवस्था थियो । चौलानी पानीजस्तो पातलो दिसा बारम्बार लाग्ने, पेट दुख्ने, बान्ता हुने, वाक–वाक लाग्ने, खुट्टा तथा पेटको मांसपेसी बाउँडिने यसका लक्षण हुन् ।



डा. पुनका अनुसार लक्षणविहीन हैजाका बिरामीले हैजा फैलाउने जोखिम बढी रहन्छ । ‘हैजाको लक्षण देखिएको मानिसले उपचार गराउँछ, निको हुन्छ । स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिएको हुन्छ, जसले गर्दा उनीहरूबाट नै हैजा फैलिने जोखिम कम रहन्छ,’ डा. पुनले भने, ‘तर लक्षणविहीन हैजाका बिरामीले १० दिनसम्ममा हैजा फैलाउने जोखिम रहन्छ । लक्षण नदेखिएपछि व्यक्तिलाई थाहा हुँदैन । संक्रमित व्यक्तिले शौच गरेको ढल व्यवस्थित छैन र त्यो हामीले प्रयोग गर्ने पानीमा मिसियो भने हैजाले महामारीकै रूप लिन सक्छ ।’

फुड पोइजनिङ 

यस मनसुनको बेला देखिने अर्को स्वास्थ्य समस्या भनेको फुड पोइजनिङको हो । त्यहीकारण बासी खाना, झिँगा भन्किएको वा दूषित खाना खानुहुँदैन । ताजा र राम्ररी पकाइएको खाना खानुपर्छ । 

ज्वरो 

वर्षातको समयमा धेरै व्यक्तिमा ज्वरो आउने समस्या पनि बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । चिकित्सकहरूका अनुसार वर्षातको समयमा कीटजन्य, पानीजन्य र सरुवारोगमा ज्वरोको लक्षण देखिन्छ । तर, त्यो बाहेक कारण थाहा नै नभएको ज्वरोका बिरामी पनि गर्मी र वर्षातको समयमा बढी हुने गरेको चिकित्सकहरूको भनाइ छ ।
 
ज्वरो विभिन्न रोगको लक्षण हुन सक्छ । मुख्यतः यस समय धेरैमा टाइफाइड हुने जोखिम रहन्छ । त्यहीकारण खानपानमा ध्यान दिन जरुरी छ । अत्यधिक ज्वरो आएमा नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्नुपर्ने डा. पुनले जानकारी दिए । 

डेंगु 

मनसुनको समयमा लामखुट्टेको संख्या निकै बढ्ने गर्छ । यसले विभिन्न रोग सार्छ । यस समय विशेषगरी डेंगुको जोखिम अत्यधिक रहने डा. पुन बताउँछन् । उनका अनुसार लामखुट्टेलाई घरवरपर आउन नदिनका लागि सरसफाइमा ध्यान दिनुपर्छ । 

घरवरिपरिको वातावरण सफा राख्ने, खाल्डाखुल्डी पुर्नेलगायत काम गर्न सकिन्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, शरीरमा मस्क्युटो रिपेलेन्ट लगाउने गर्नुपर्छ । पूरा बाहुला भएका कपडा लगाउनु राम्रो हुन्छ । 

स्क्रब टाइफस 

मनसुनको समयमा स्क्रब टाइफस पनि धेरैमा देखिन्छ । ‘ओरेन्सिया सुसुगामोसी’ नामक संक्रमित किर्नाले टोकेपछि स्क्रब टाइफस लाग्छ । प्रायजसो मुसा वा अन्य जीवजन्तुको शरीरमा बस्ने यस्तो संक्रमित किर्नाले टोकेपछि ज्वरो आउने, शरीरमा रातो बिमिरा आउने, शरीर दुख्ने, ग्रन्थी सुन्निनेलगायत लक्षण देखिन्छन् । 

यो किर्ना प्रायः झाडी, खेतबारी, वनजंगल, घरवरिपरिको झाडी वा घुर्यान हुने ठाउँमा देखिने गर्दछ । त्यहीकारण झाडी वा बारीमा जथाभावी नबस्ने वा नांगो खुट्टाले नटेक्ने, घरवरपर सफा राख्ने, खेतबारी जाँदा पन्जा प्रयोग गर्ने, शरीर ढाक्ने लामो कपडा लगाउनेलगायत सतर्कताका उपाय अवलम्बन गर्नुपर्छ । 

सर्पदंश 

पछिल्लो समयमा सर्पको टोकाइबाट मानिसको मृत्यु भएको खबर नियमितजस्तै आउने गरेको छ । मनसुनको समयमा सर्पको टोकाइ बढेसँगै मानिसको मृत्यु भइरहेको छ ।

सर्पदंशको विषयमा भएका विभिन्न अध्ययनमा नेपालमा बर्सेनि २० हजार मानिसलाई सर्पले टोक्ने गरेको र तीमध्ये एक हजारजनाको मृत्यु हुने उल्लेख छ । मनसुनको समयमा देखिने समस्यामध्ये सर्पदंश पनि एक प्रमुख समस्या भएको डा. पुन बताउँछन् ।

मनुसुनजन्य रोग लाग्नै नदिन के गर्ने ? 

– उमालेको वा निर्मलीकरण गरेको पानी मात्रै पिउनुपर्छ । व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । साबुनपानीले हात पटक–पटक धुनुपर्छ । 

– पोषणयुक्त खाना खानुपर्छ । झिँगा भन्किएको र बासी खानाबाट टाढा रहनुपर्छ । जंकफुड नखानु राम्रो हुन्छ । तरकारीहरू राम्रोसँग पकाएर मात्रै खानुपर्छ । 

– आफूवरपरको वातावरणलाई सफा राख्नुपर्छ । लामखुट्टे फैलन नदिनका लागि घरवरपरका खाल्डाखुल्डी पुर्नु राम्रो हुन्छ । लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, शरीरमा मस्क्युटो रिपेलेन्ट लगाउन सकिन्छ । त्यस्तै, पूरा बाहुला भएका कपडा लगाउनु राम्रो हुन्छ । 

– बाहिर निस्कँदा मास्क प्रयोग गर्न बिर्सनुहुँदैन ।

–सर्पदंशबाट बच्नका लागि गर्मी तथा वर्षातको समयमा सावधानी अपनाउनुपर्छ ।

–खेतबारीमा जाँदा गमबुटको प्रयोग गर्ने, तराईतिर सुत्दा झुल लगाउनेजस्ता सावधानी अपनाउनुपर्छ । 

–राति टर्च लिएर मात्र बाहिर निस्कने, कतै जानुपर्दा जुत्ता लगाउनेजस्ता सावधानी अपनाउनुपर्ने डा. पुनको सुझाव छ ।

  • प्रकाशित मिति : असार २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया