आइपिएल इमर्जिङ प्लेयर बन्लान् त सन्दीप ?

काठमाडौं– आइपिएलको इमर्जिङ प्लेयरको भोटिङमा नेपालका सन्दीप लागिछाने निकै अघि देखिएका छन् । यद्यपि, अझै लामो समय चल्ने भोटिङको नतिजाबारे अहिल्यै अनुमान भने गर्न सकिन्न । 

इमर्जिङ प्लेयरको मनोनयनमा परेका ८ खेलाडीमध्ये अहिलेसम्मको भोटिङमा सन्दीपले ६६ प्रतिशत भोट पाएका छन् । उनलाई पछ्याइरहेका मोहम्मद सिराजको नाममा २२ प्रतिशत भोट छ । यो अवार्डको विजेता अनलाइन भोटिङ र टेलिभिजन कमेन्टेटरहरुको मतका आधारमा चुनिनेछन् । 

सर्वसाधारणले यहाँ क्लिक गरेर नोमिनेसनमा परेका आठमध्ये कुनै एकलाई भोट गर्न सक्छन् । कुनै खेलाडीको फोटोमा क्लिक गर्नेबित्तिकै उसैलाई भोट जान्छ । एउटा डिभाइसबाट एकपटक मात्र भोट गर्न पाइन्छ । 

सन्दीपले जारी संस्करणमा ४ खेलबाट ५ विकेट लिएका छन् । गत संस्करणमा अन्तिमका ३ खेल मात्र खेल्न पाएका उनले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएर सबैको मन जितेका थिए ।

अवार्ड जित्नेले १० लाख भारु हात पार्नेछ । ११औं संस्करणसम्म आइपुग्दा एउटाबाहेक सबै संस्करणमा भारतीय खेलाडीले अवार्ड जितेका छन् । २०१६ मा भने यो अवार्ड बंगलादेशका बलर मुस्ताफिजुर रहमानले जितेका थिए ।



अवार्ड जित्नका लागि सन्दीपले खेलप्रेमी भोटरको मन जितेर मात्र पुग्दैन, विज्ञ कमेन्टेटरहरुको मन पनि जित्नुपर्छ । दिल्लीका ९ मध्ये ४ खेल मात्र खेल्ने मौका पाएका सन्दीपले अवार्ड हात पार्न आउँदा खेलमा प्लेइङ ११ मा पर्दै उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ । 

आइपिएल खेल्ने टिमले एक खेलमा चारजना मात्रै विदेशी खेलाडी खेलाउन पाउँछ । एकसे एक विदेशी खेलाडी रहेको दिल्लीमा सन्दीपका लागि खेल्ने अवसर जुटाउनु नै पहिलो चुनौती हुनेछ । मौका मिलेका खेलमा औसत खेलेर मात्र पुग्दैन, फेरि मौका पाउन हरेक खेलमा लोभलाग्दो प्रदर्शन जरुरी हुन्छ । 



  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार ९:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया