आन्दोलनरत ट्याङ्कर चालक र सरकारबीच सहमति भएको छ । चालकहरूले उठाएका सात बुँदे माग १५ दिनभित्र पूरा गर्ने सरकारी प्रतिवद्धतापछि सहमति बनेको हो ।
सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, आयल निगमका कार्यकारी निर्देशकसहितको सरकारी टोली र नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका प्रतिनिधिबीच भएको वार्तापछि सहमति जुटेको चालक संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिए ।
‘भर्खरै वार्ता सकियो । १५ दिनभित्र हामीले अघि सारेका सात बुँदे माग पूरा गर्ने सरकारी पक्षले प्रतिवद्धता जनाएको छ । सहमतिको खाका तयार गर्दैछौं, केही समयमा सार्वजनिक गर्छौं,’ अध्यक्ष लामाले भने ।
चालकहरूले पेट्रोलियम ढुवानी रोकेपछि काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ । चालकहरू हड्तालमा उत्रिएपछि थानकोट डिपोबाट इन्धनको वितरण प्रभावित भएको छ ।सात बुँदे माग राख्दै पेट्रोलियम ढुवानी गर्ने ट्याङ्कर चालक आन्दोलित भएका हुन । ढुवानी मजदुरहरूको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरूको सुरक्षा ग्यारेन्टी गरिनुपर्नेलगायतका माग राखेका छन् ।
श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागू गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् । ट्याङ्कर चालकहरूको हडतालका कारण काठमाडौं उपत्यकाका अधिकांश पम्पहरू बन्द भएका छन् । अधिकांश पम्पमा इन्धन रित्तिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।