उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काम गर्ने नसके सरकारबाट आफै बाहिरिने बताउँदै आएका छन् । जोखिम मोलेर सरकारमा गएको बताउदै उनले काम गर्न नसकेको अवस्थामा सरकारबाट बाहिरिन सबैको झोलामा राजीनामा सँगै रहेको बारम्बार बताउँदै आएका छन् ।
कांग्रेसले काम गर्न नसकेर प्रधानमन्त्रीले गलहत्याएर निकाल्नुपरेको आरोप लगाउँदै उनले आफूहरु काम गर्न नसके आफैँ बाहिरिने बताइरहेका छन् । उनले आफूले भ्रष्टाचारका माछा समाउन थालेको बताउँदै ‘कतिपय माछाहरू बडो चिप्लो हुने र समाउन खोज्दाखोज्दै चिप्लिने गरेको तर जतिसुकै चिप्ला र बाठा तिनीहरूको कुनै सीप नलाग्ने उनले दाबी गर्दै आएका छन् ।
रवि मात्र होइन, उनको पार्टीका हरेकजसो सांसदले काम गर्न नसके वा नदिइए सरकार छाड्ने बताउँदै आएका छन् । शनिबार मात्रै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पनि अनावश्यक सम्झौता गर्न परे राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिन तयार रहेको बताएका थिए । रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आयोजित समारोहमा उनले राजीनामा पत्र खल्तीमा बोकर हिँडेको भन्दै त्यस्तो अवस्था आए मिति मात्र लेखेर राजीनामा दिन तयार भएको बताएका थिए ।
उनले भनेका थिए, ‘अहिले जुन खालको अवस्था छ, केही कुरामा हामीलाई अनावश्यक, अनधिकृत हिसाबले कुनै खालको सम्झौता गर्न पर्यो भने त्यो दिन नै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्र लेख्न बाँकी छ । त्यो तयार गरेर बोकेर नै हिँडेका छौँ ।’
उनले सत्तामा पुरानो कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको भन्दै सरकारलाई दिएको समर्थनमाथि समीक्षा गर्नुपर्ने बेला आएको नै बताए । उनले भने, ‘शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो कुरा हो भन्ने कुरा सबैले अनुभव गरिरहेका छौँ । किनभन्दा हामीले सरकारको नेतृत्व गरिरहेका छौँ र सत्ता पुरानो कर्मकाण्डी हिसाबले उपलब्धि नहुने गरी चलिरहेको हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौँ । हामीले सरकारलाई दिएको समर्थन माथि समीक्षा गर्नुपर्ने बेला पनि छ । साथै सत्ता साझेदार दलहरूले पनि यसलाई एक पटक समीक्षा पनि गर्ने र पुनरावलोकन पनि गर्ने कुराहरू पनि चल्न थालेको छ ।’
पहिलोपटक सरकारमा गएका बेला नागरिकतामा देखिएको त्रुटिका कारण सरकारबाट बाहिरिन बाध्य भएका लामिछानेको गृहमन्त्रीमा यो दोस्रो इनिङ हो । उनले पछिल्लो कार्यकालमा सहकारी ठगीको बिल्ला मात्रै होइन, कामै गर्न नसकेको आरोपसमेत खेप्दै आएका छन् । रास्वपाका मन्त्रीहरूले सार्वजनिक गरेको सयदिने उपलब्धिमा पनि ‘केही गर्न नसके पनि केही बिगारेनौँ’ भन्ने निष्कर्ष देखिएको छ ।
पछिल्लो समय उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रमुख (आइजिपी) वसन्तबहादुर कुँवरसँग सन्तुष्ट छैनन् । आइजिपी कुँवर आफ्नो स्पिरिट अनुसार हिँड्न नसकेको गृहमन्त्री लामिछानेको बुझाइ छ । त्यसैले उनले प्रहरी प्रमुखलाई हटाउन चाहेको चर्चा हुँदै आएको छ ।
कान्तिपुर पब्लिकेसनसका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने विषयमा गृहमन्त्री र आइजिपी कुँवरबीच मतभिन्नता देखिएको थियो । गृहमन्त्री लामिछाने सिरोहियालाई तत्कालै नियन्त्रणमा लिन ताकेता गरिरहेका थिए भने कुँवरले प्रधानमन्त्रीसँग पनि कुरा गर्नुपर्ने बताएका थिए ।
नागरिकता विवादमा प्रहरीले ८ जेठमा सिरोहितलाई पक्राउ गरेको थियो । उनी ९ दिन प्रहरी हिरासतमा बसेर छुटिसके । यो प्रकरणले गृहमन्त्री लामिछाने र आइजिपी कुँवरको मतभिन्नतालाई थप बढाएको छ । यसैले उनले प्रहरी प्रमुख परिर्वतनका लागि प्रयास गरिरहेका छन् ।
तर, सोमबार गृह जिल्ला चितवन पुगेका प्रधानमन्त्री दाहालले सम्वाददाताहरुले राखेको जिज्ञासामा नेपाल प्रहरीको महानिरीक्षक परिवर्तन हुने कुरा हल्ला मात्रै भएको बताए ।
आफूले ढुक्क भएर काम गर्न महानिरीक्षकहरूलाई निर्देशन दिएको उल्लेख गर्दै उनले भने, ‘दुवै प्रहरी संगठनका आइजिपी बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, काम गर्नुस् भनेको छु । ‘त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु,’ दाहालको थप भनाइ थियो, आइजिपी परिवर्तन हुँदैन । त्यो हल्ला मात्रै हो ।’
एकातिर लामिछाने आइजिपीको कामसँग सन्तुष्ट छैनन् भने अर्कोतिर गृह प्रशासन संयन्त्रले आफ्ना कतिपय निर्देशन उपेक्षा गरेको भन्दै दाहाल स्वयंले नेपाल प्रहरीको नेतृत्वप्रति असन्तोष प्रकट गरेका छन् । यसैलाई आधार बनाएर प्रहरी प्रमुख फेरिन लागेको भनेर चुहिएको सूचनाले होहल्ला सिर्जना गरेपछि नेपाल प्रहरीले विज्ञप्ति प्रकाशित गरेर यसको खण्डन गरेको थियो ।
सरकारमा बसेर काम पनि गर्न पनि नसकिने र प्रतिपक्षीको प्रहार एकोहोरो आफैमाथि भइराख्ने परिस्थितिका कारण रास्वपा सरकारमा रमाइरहने अवस्था छैन । प्रहरी प्रमुख हटाउने विषयमा प्रधानमन्त्री सहमत नभएपछि रास्वपाका लागि यो सरकारबाट बाहिरिने बहाना हुनसक्छ ।
र, यो पनि...
परराष्ट्रमन्त्री श्रेष्ठलाई किन पदबाट हटाउँदै छन् प्रचण्ड ? सिके राउत होलान् परराष्ट्रमन्त्री ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।