खुलामञ्चका व्यवसायी भन्छन्– कानुनी रूपमै सटर भाडामा लिएका हौँ, एक रुपैयाँ पनि खुवाएका छैनौँ

काठमाडौं– खुलामञ्चको बसपार्कमा आफूहरूले कानुनी रूपमै सटर भाडामा लिएको व्यवसायीहरूले दाबी गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरूले यस्तो दाबी गरेका हुन् । 

केही दिनअघि आएको खुलामञ्चमा गैरकानुनी तबरले सटर निर्माण भइरहेको भन्ने समाचारको खण्डन गर्दै व्यवसायीहरूले आफूहरूले काठमाडौं भ्यु–टावर निर्माण गरिरहेको कम्पनी जलेश्वर स्वछन्द विकोई बिल्डर्स कम्पनीसँगको सहमतिमा सटर बनाएको प्रस्ट्याएका छन् । 

खुलामञ्चमा सटर बनाउनेमध्येका एक व्यवसायी रवीन्द्र विकले आफूहरू विगत तीन वर्षदेखि नै सो ठाउँमा फुटपाथमा व्यवसाय गर्दैै आएको सुनाउँदै भने, ‘अहिले काठमाडौं भ्युटावर बनाउने क्रममा ठेकेदारले सटर बनाएको थाहा पाएपछि हामी फुटपाथबाट त्यहाँ सरेका छौँ । हामीले कानुनी तबरले नै ठेक्का पाएको कम्पनीसँग सम्झौता गरेका हौँ ।’

उनले आफूहरू र निर्माण कम्पनीबीच आपसी सहमतिमा भाडा कायम गर्ने भद्र सहमति भएको बताए । ‘बाहिर हामीले ठूलो रकम बुझाएर सटर भाडामा लिएका हौँ भन्ने गलत समाचार आएका छन्,’ उनले भने, ‘यसमा हाम्रो पर्याप्त ध्यानाकार्षण भएको छ । हामीले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि बुझाएका छैनौँ ।’

बसपार्कभित्र ठेकेदारले सरसफाइ गर्ने, पिच गर्ने, बिजुली बत्तीको व्यवस्था गर्नेलगायतका सुधारका कार्यक्रमसहित खुलामञ्च व्यवस्थित गर्ने कुरा भएको भन्दै उनले यो राम्रो काम भएकाले आफूहरुको समर्थन रहेको बताए । पहिला सँगै हिँडेका साथीहरू नै अहिले पेटमा लात हान्ने हिसाबले हिँडेको उनको आरोप छ ।

कार्यक्रममा खुलामञ्चमै सटर बनाएका अर्का व्यवसायी झलक विकले आफूहरू पहिलेदेखि नै खुलामञ्चकै सडकमा व्यापार, व्यवसाय गर्दै आएको सुनाए । उनले भने, ‘अहिले बसपार्क व्यवस्थित बनाउने भिजनसहित कम्पनीले व्यवस्थापन गरेको छ । तर, हाम्रा सँगैका साथीहरू हामीलाई निःशुल्क हुनुपर्छ भन्ने मनसायले विरोध गर्दै हिँड्नुभएको छ ।’



केही व्यवसायीहरूले आफूले हिजो सित्तैमा पाउँछु भन्ने आशाले समर्थन गरेको तर सित्तैमा नपाएपछि विरोध गर्न थालेको उनको आरोप छ । ‘सित्तैमा सटर नपाएपछि अहिले उहाँहरू भत्काउनुपर्छ भनेर हिँड्नुभएको छ,’ उनले भने ।

कार्यक्रममा बोल्दै अर्का व्यवसायी माधव चौलागाईंले आफूहरू फुटपाथमा व्यापार, व्यवसाय गर्दै आएकाले अहिले ठेकेदारले व्यवस्थित गरेको बताए । ‘हामी खुसीका साथ व्यवसाय गरिरहेका छौँ,’ उनले भने, ‘अब फेरि फुटपाथमा जान चाहन्नौँ ।’ राज्यले आफूहरूलाई करको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । 



  • प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार १२:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया