logo-img

नेकपा एस महाधिवेशन : मतदाता नामावली आज प्रकाशन गरिँदै

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही असार १६ देखि २० गतेसम्म आयोजना हुने पार्टीको राष्ट्रिय महाधिवेशनका लागि आज साँझ मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।    

नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने दसौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण आज साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । 

पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची यही असार ५ गते प्रकाशन गर्ने कार्यतालिका छ । योग्यता नपुगेका उम्मेदवारविरुद्ध उजुरी दिने, उजुरी छानबिन गर्ने मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको नामावली पनि सोही दिन प्रकाशन गरिने छ ।

बुधबार नै उम्मेदवारको नाम फिर्ता लिने, सर्वसम्मति नभए मतदान गर्ने, मतदान सकिएलगत्तै मतगणनाको समयसीमा निर्धारण गरिएको छ । सम्बन्धित कमिटीले केन्द्रलाई मतपरिणाम सार्वजनिक गरेपछि त्यसको अभिलेख केन्द्रमा पठाउनुपर्ने छ ।



देशभर १ लाख ५० हजार सङ्गठित सदस्य रहेको पार्टीले एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने जनाएको छ । आसन्न राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनोट गरिने छ ।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्य स्वतः प्रतिनिधि छनोट गरिने छ । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट प्रतिनिधि चुनिएर आउनेछन् । 

दलित, युवा महिलालगायत केही प्रतिनिधि समानुपातिक प्रतिनिधित्वको मापदण्डबाट सहभागी हुने व्यवस्था गरिएको छ । पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि सङ्ख्या निर्धारण गरिएको छ । 



  • प्रकाशित मिति : असार ४, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया