logo-img

‘स्काउटमा समय सापेक्ष सुधार ल्याउन आवश्यक छ’

युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन् । बुधबार ७३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंको लैनचौरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नबिर्सेर समयसापेक्ष भई अघि बढ्नुपर्ने सुझाव दिए । उनले डिजिटल स्काउटिङको आवश्यकता औंल्याउँदै त्यसतर्फ ध्यानाकर्षण गराए । 

कार्यक्रममा शुभकामना दिँदै मन्त्री श्रेष्ठले भने, ‘स्काउट अब समय सापेक्ष हुनुपर्छ । त्यो भनेको २१ औँ शताब्दीमा धेरै जसो संस्थाहरू समय सापेक्ष बन्न खोज्ने क्रममा आफू को हो र के का लागि स्थापना गरेको भन्ने नै बिर्सने बानी छ यहाँ । तर नेपाल स्काउटले २१ औँ शताब्दी सापेक्ष हुने आफ्नो जरा, माटोलाई नबिर्सीकन मूल्य मान्यता अगाडि बढाउनु पर्छ ।’

यस्तै, स्काउटले आफ्नो कार्य र जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आइरहेको चर्चा गर्दै उनले ‘वारियर अफ द नेचर’ र ‘प्रोटेक्टर अफ द कल्चर’को टाइटल दिनुपर्ने बताए । उनले त्यो सँगै सापेक्ष स्काउट बनाउनका लागि स्काउटको डिजिटल रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । 

‘सबै कुरा डिजिटलमा सिफ्ट हुँदै जाँदा सामाजिक गतिविधि पनि त्यहाँ हुने भएकाले डिजिटल स्काउटिङ आजको आवश्यकता हो । यसमा गम्भीर हुन आग्रह गर्छु,’ मन्त्री श्रेष्ठले भने । मन्त्री श्रेष्ठले सामाजिक, सांस्कृतिक पक्षको कार्यसँगै विश्वव्यापी चुनौतीको रूपमा आएको मानसिक स्वास्थ्यको मुद्दामा समेत स्काउटले काम गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘स्काउट जुन भद्र र शिष्ट तरिकाले गइरहेको छ यसले ग्लोबल मुद्दा भइरहेको हेट स्पिचमा सर्तक हुन पर्छ । किनभने मानसिक स्वास्थ्यको समस्या धेरैमा पाइएको छ । विशेष गरी महिलाहरूमा देखिएको मनोवैज्ञानिक चुनौतीमा स्काउटले हेर्नुपर्छ ।’



यस्तै उनले दिगो विकासको लक्ष्य हासिल गर्नमा स्काउटले महत्त्वपूर्ण सहयोग गर्न सक्ने चर्चा गरे । सरकारी र अन्तर्राष्ट्रिय कार्यक्रमहरू धेरै भन्दा धेरै स्काउटले लिनुपर्नेमा जोड दिँदै उनले भने, ‘दिगो विकासको लक्ष्य हासिल गर्न नेपालले जुन सन्धिहरू गरेको छौँ, त्यसको लागि स्काउट एउटा एकदमै राम्रो संगठन हो जसले दिगो विकास लक्ष्यलाई योगदान गर्न सक्छ ।’ 



  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया