logo-img

सुरक्षित ‘सुरक्षा निकाय’ र रुन्चे कोरली बहर

एक दशकसम्म ‘जनयुद्ध’ को नेतृत्व गरेर शान्ति प्रक्रियाको बाटो हुँदै सत्ताको बागडोर सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३ असारमा गृहजिल्ला चितवन पुगेर नेपाल प्रहरीको नेतृत्व परिवर्तनबारे चलेको हल्लाका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा यसरी जवाफ दिए, ‘नेपाल प्रहरीमा आइजिपी (प्रहरी महानिरीक्षक) परिवर्तन हुँदैन, यो हल्ला मात्रै हो ।’ 

प्रधानमन्त्री प्रचण्डले आफूले तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखलाई बोलाएर ‘ढुक्कले काम गर्नुस्’ भनेको बताए । सञ्चारकर्मीमाझ यसो भन्दै गर्दा प्रधानमन्त्री प्रचण्डको मुहारमा दुईथरि भाव प्रष्ट झल्किन्थ्यो । एउटा सुझबुझपूर्ण अभिभावकीय राजनीतिज्ञको र अर्को अनुभवको । नेपाली सेनाका तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई बर्खास्त गर्दा आफूले कस्तो मूल्य चुकाउनुपर्‍यो भन्ने कुरा प्रचण्डले नबुझ्ने कुरै भएन । 

पहिलोपटक ३१ साउन २०६५ मा प्रधानमन्त्री बनेका प्रचण्डका लागि तत्कालीन कटवाल बर्खास्ती प्रकरण प्रत्युत्पादक बनेको थियो । ‘नागरिक सरकारले दिएको आदेश पालना नगरेको’ भनेर अवकाशको चार महिना अघि कटवाललाई बर्खास्त गर्ने निर्णय गर्दा प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिनु परेको थियो । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले सेनापति कटवाललाई पत्र लेख्दै प्रधानमन्त्रीको आदेश उल्लङ्घन गर्न भनेपछि प्रचण्ड दबाबमा परेका थिए । पहिले कांग्रेसका यादव राष्ट्रपति थिए,अहिले पनि कांग्रेसकै रामचन्द्र पौडेल राष्ट्रपति छन् । कांग्रेस त्यतिबेला पनि प्रतिपक्ष थियो,अहिले पनि प्रतिपक्षमा नै छ । कांग्रेस,एमाले लगायतका दलसँगै राष्ट्रपतिको समेत साथ पाएपछि कटवालको पद थमौती भयो । प्रचण्डले सरकार छाड्नुपर्‍यो ।

२० साउन २०७३ मा कांग्रेससहितका दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भए । यो कार्यकालमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति विवादले उग्र रूप लियो । १ फागुन २०७३ मा बसेको मन्त्रिपरिषद् बैठकले सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा तेस्रो वरीयताका प्रहरी नायब महानिरीक्षक (डिआइजी) जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुखमा बढुवा गर्ने निर्णय गर्‍यो । पहिलो वरीयतामा भएका नवराज सिलवाल र दोस्रो वरीयतामा रहेका प्रकाश अर्याललाई पन्छाउँदै चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय भएको थियो, त्यस बेला ।

सरकारको निर्णयविरुद्ध पहिलो वरीयताका सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दिए । चन्दले महानिरीक्षकको दर्ज्यानी चिह्न लगाउन नपाउँदै अदालतले प्रहरी प्रमुख नियुक्तिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । पछि अदालतले चन्दलाई महानिरीक्षक बढुवा गर्ने निर्णय बदर गर्दै कार्यसम्पादन मूल्याङ्कन, ज्येष्ठता र योग्यताका आधारमा आइजिपी नियुक्त गर्न आदेश गर्‍यो । पछि सरकारले डिआइजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्‍यो । 

पहिलो र दोस्रो कार्यकालमा सुरक्षा निकायमाथि छेडखानी गर्दा भुक्तमान बनेका प्रचण्डको माथि उल्लेखित अभिव्यक्ति त्यही अनुभवको उपज हो भन्दा फरक नपर्ला । बुझ्न कठिन छैन,अहिले प्रचण्डको तेस्रो कार्यकाललाई पनि सुरक्षा निकायसँग अनावश्यक जोरी खेलाएर विवादमा तान्न शक्तिकेन्द्रहरू लागि परेका छन् । यही कारण हुन सक्छ,२ असारमा प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेर प्रहरी संगठन र नागरिक स्तरमा निराशाजनक सन्देश प्रवाह गर्ने प्रचार भएको भन्दै खण्डन गरेको थियो । 



उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने आइजिपी वसन्तबहादुर कुँवरसँग सन्तुष्ट छैनन् । पछिल्लो पटक कान्तिपुर मिडिया ग्रुपका  अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने विषयमा गृहमन्त्री लामिछाने र आइजिपी कुँवरबीच तिक्तता बढेको छ । आइजिपी कुँवर गृहमन्त्री लामिछानेको समेत नाम जोडिएको सहकारी प्रकरणमा संसदीय समितिले मात्र नभएर प्रहरीले समेत अनुसन्धान गर्नु पर्ने पक्षमा छन् । यो प्रकरणले गृहमन्त्री लामिछाने र आइजिपी कुँवरको चिसोपनालाई थप मलजल गरेको छ । गृहमन्त्री लामिछाने केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को नेतृत्वमा रहेका श्यामलाल ज्ञवालीलाई प्रहरी प्रमुख बनाउन चाहन्छन् । ज्ञवालीलाई प्रहरी नेतृत्वमा ल्याएर आरजु राणादेखि मञ्जु खाँडसम्मलाई भुटानी शरणार्थी प्रकरणमा डाम्ने गृहमन्त्रीको योजना रहेको बताइन्छ ।​



कुँवर आइजिपी बन्ने समयमा समेत एआइजी ज्ञवालीले आफ्नो काँधमा एउटा फुली थप्न थुप्रै प्रयास गरेको अवगत नै छ । पूर्व आइजिपी ठाकुरप्रसाद ज्ञवालीका भाइ श्यामलाल २६ भदौमा अनिवार्य अवकाशमा जानेछन् । लामिछानेको चाहना पुरा गरेर भए पनि आइजिपी बनेर मनको मृगतृष्णा पुरा गर्ने ज्ञवालीको चाहना हुन सक्छ । तर, ३२ जेठमा तीन वटै सुरक्षा निकायका प्रमुखसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले तत्काल नेतृत्व नफेरिने बताएका छन् । आइजिपी हटाउन खोजेको खबर आइरहेपछि प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख प्रधानमन्त्री प्रचण्डसँग भेट्न त्यस दिन बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

सुरक्षा निकायलाई प्रधानमन्त्री प्रचण्डले दिएको निर्धक्क जवाफ र गृहमन्त्री लामिछानेको अपरिपक्व हर्कतले बुढो गोरु र नयाँ बहरको कथा प्रतीत हुन्छ । बुढो गोरु र भर्खरको कोरली बहर जोत्न जाने क्रममा कसैले बुढो गोरुलाई सोधेछ । कहाँ जान लागेको ? बुढो गोरुले लामो सास फेर्दै बिस्तारै भनेछ, ‘जोत्न जान लागेको ।’ त्यहीँ कोरली बहरले च्याँठिँदै ,रमाउँदै र फुर्ती लाउँदै जोत्न हिँडेको भनेछ । दिनभरि जोतेर बेलुका फर्किने क्रममा फेरि सोध्दा बुढो गोरु केही पनि नभए जस्तो गरी सामान्य भावमा जोतेर आएको हो भनेर जवाफ दिएछ । तर, कोरली बहरले भने बोल्नै नसके जस्तो गरी रुन्चे आवाजमा भनेछ– जोतेर आएको । नेपाली राजनीति र सुरक्षा निकायले यही अनुभव, ज्ञान, सीप र क्षमताको नेतृत्व खोजेको छ, रुन्चे कोरली बहर होइन ।

  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया