१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

सुदूरपश्चिममा डेंगु : ५ महिनामा १४० जनामा संक्रमण पुष्टि
फाइल तस्बिर

लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।


सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताए । 



उनका अनुसार गत माघयता सुदूरपश्चिममा १ सय ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटीमा ४७ जना सङ्क्रमित फेला परेका उनले जानकारी दिए ।  

निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुई जनामा सङ्क्रमण देखिएको छ । 



‘पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ’, जोशीले भने, ‘अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन् । पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्ने छ ।’ उनले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए । 

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिए । 

स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उनको भनाइ छ । निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा १ हजार १ सय ९४ जनामा डेङ्गु सङ्क्रमण देखिनाका साथै चार जनाको मृत्यु भएको थियो । रासस



  • प्रकाशित मिति : ५ असार, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया