logo-img

एमालेका महेश बस्नेतसँग फेरि हारे झलनाथ
पहिले निर्वाचन हारे, अहिले मुद्दा

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले दायर गरेको एक मुद्दामा अदालतले उनीविरुद्ध निर्णय दिएको छ । निर्वाचनको नतिजा बदर गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले उनको माग अस्वीकार गरेको छ ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेता खनालले धाँधलीयुक्त निर्वाचित गरी आफूलाई पराजित गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरू कर्मचारीले आफूलाई पराजित गराएको उनको दाबी थियो । 

इलाम–१ मा एकीकृत समाजवादीका उम्मेदवार खनालले २३ हजार ८९ मत पाएका थिए । एमाले उम्मेदवार महेश बस्नेतले २५ हजार ७५३ मतसहित उनलाई हराएका थिए । ५९ हजार ३७९ मत खसेकोमा गन्ने बेलामा ५९ हजार ७०५ मत भेटिएको भन्दै खनालले निर्वाचनमा धाँधली भएको दाबी गरेका थिए ।

खनालले निर्वाचन सामग्री प्रयोगमा बाधा व्यवधान भएको, मतपत्रको दुरुपयोग भएको, नगद वा जिन्सी लाभ लिइ मतदान गर्न प्रेरित गरिएको, मतदाता नै नभएकालाई मतदान गर्न दिइएको जिकिर गरेका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले इलाम–१ को निर्वाचन परिणामलाई सदर गरेको हो । 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको इजलासले फेरि मतदान गराउनुपर्ने खनालको माग अस्वीकार गरेको हो ।



 



  • प्रकाशित मिति : असार ५, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया