युरोकप फुटबल प्रतियोगिताको शनिबार राति सम्पन्न खेलमा जर्जिया र चेक गणतन्त्रले टोलीले एक–एक अंक बाँडेका छन् । दुवै टिमले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका हुन् ।
पहिलो हाफको इन्जुरी समयमा जर्जियाले खेलमा अग्रता लिएको थियो । जर्जियाका लागि जर्जेस मिकाउताडेजले पेनाल्टीमार्फत गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा जर्जिया अगाडि रह्यो ।
खेलको ५९ औँ मिनेटमा चेक गणतन्त्रले जवाफी गोल गर्यो । चेक गणतन्त्रका लागि प्याट्रिक सिकले जवाफी गोल गरेका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् ।
समूह ‘एफ’ तालिकामा तीन अंकसहित टर्की पहिलो स्थानमा छ । पोर्चुगल पनि तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । यी दुबै टोलीले एक–एक खेल खेलेका छन् ।
दुई खेल खेलेको चेक गणतन्त्र एक अंकसहित तालिकको तेस्रो स्थानमा छ । दुई खेलबाट एक अंक बटुलेको जर्जिया चौथो स्थानमा आसिन छ ।
चेक गणतन्त्र आफ्नो पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलले पराजित भएको थियो । जर्जिया भने आफ्नो पहिलो खेलमा टर्कीसँग ३–१ गोलले पराजित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।