नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा भारतले लगातार पाँचौं जित निकालेको छ । पाँचौं जित निकाल्नेक्रममा गएराति सम्पन्न सुपर–८ खेलमा भारतले बंगलादेशलाई ५० रनले हरायो ।
भारतले सुपर–८ को पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।
सुपर–८ मा लगातार दोस्रो जितपछि भारत सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो हारपछि बंगलादेशको सेमिफाइनल यात्रा भने समाप्त भएको छ ।
सुपर–८ को आफ्नो दोस्रो खेलमा भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन मात्र बनाउन सक्यो ।
उसका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए । यस्तै, तन्जिद हसनले २९, रिशाद हुसेनले २४, लिटनकुमार दास र महमुदउल्लाह १३/१३ र शाकिब अल हसनले ११ रन जोडे ।
भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसप्रीत बुमराहले दुई/दुई तथा हार्दिक पाण्ड्याले एक विकेट लिए ।
त्यसअघि एन्टिगुआस्थित सर भिभियन रिचर्ड्स स्टेडियममा एन्टिगुआ टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९६ रन बनायो ।
उसका लागि हार्दिक पाण्ड्याले अर्धशतकीय पारी खेले । उनले २७ बलमा चार चौका र तीन छक्कासहित अविजित ५० रनको पारी खेलेका हुन् । यस्तै, विराट कोहलीले ३७, कप्तान रोहित शर्माले २३, ऋषभ पन्तले ३६, शिवम दुबेले ३४ र सूर्यकुमार यादवले ६ रन बनाए ।
बंगलादेशका लागि बलिङतर्फ तान्जिन साकिब र रिशाद हुसेनले दुई/दुई र शकिब अल हसनले एक विकेट लिए । विश्वकपमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले राम्रो सुरुवात गरेको छ । उसले १२ ओभरमा बिनाविकेट ८४ रन बनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।