logo-img

विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई हरायो, रच्यो इतिहास

वेस्ट इण्डिजमा जारी नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपमा  अफगानिस्तानले उपाधि दाबेदार अस्ट्रेलियालाई २१ रनले हराएको छ ।

क्रिकेट इतिहासमा अफगानिस्तानले पहिलोपटक अस्ट्रेलियालाई हराउन सफल भएको हो । सुपर–८ अन्तर्गतको खेलमा अफगानिस्तानले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रनमै अलआउट भयो ।  

उसका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् । उनले ४१ बलमा तीन छक्का र ६ चौकासहित सर्वाधिक ५९ रन बनाए । यस्तै, कप्तान मिचेल मार्शले १२ र मार्कस स्टोइनिसले ११ रन जोडे ।



बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । अफगानिस्तानका लागि गुलबदिन नायबले करियरकै उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा २० रन दिएर चार विकेट लिए । यस्तै, नवीन उल हकले तीन, मोहम्मद नाबी, फजलहक फारुकी र राशिद खानले एक/एक विकेट हात पारे ।  

त्यसअघि सेन्ट भिन्सेन्टस्थित अर्नोस भेल ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन बनायो ।   

उसका लागि ओपनिङ ब्याटरद्वय रहमानउल्लाह गुर्बाज र इब्राहिम जाद्रानले अर्धशतकीय पारी खेले । ४९ बलको सामना गरेका गुर्बाजले चार चौका र चार छक्कासहित सर्वाधिक ६० रन बनाए ।   



यस्तै, जाद्रानले ४८ बलमा ६ चौकासहित ५१ रनको पारी खेले । उनीहरूबीच पहिलो विकेटका लागि शतकीय साझेदारी बन्यो । यस्तै, करिम जनतले १३ रन जोडे । 

अस्ट्रेलियाका लागि तीव्र गतिका बलर प्याट कमिन्सले ह्याट्रिक लिए । जारी विश्वकपमा कमिन्सको यो लगातार दोस्रो ह्याट्रिक विकेट हो । कमिन्सले बंगलादेशसँगको खेलमा पनि ह्याट्रिक लिएका थिए । 

योसँगै उनी टी–२० आईमा लगातार दोस्रोपटक ह्याट्रिक विकेट लिने बलर बने । कमिन्सले आज चार ओभरमा २८ रन दिएर ह्याट्रिक विकेट लिएका हुन् । यस्तै, एडम जाम्पाले दुई र मार्कस स्टोइनिसले एक विकेट हात पारे ।  

सुपर–८ को पहिलो खेलमा अस्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस पद्धतिमा २८ रनले हराएको थियो । अफगानिस्तान पहिलो खेलमा भारतसँग ४७ रनले पराजित भएको थियो । 

यो जितपछि अफगानिस्तान सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ । ऊ अहिले दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तानले सुपर–८ को अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ ।

पराजित अस्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन बन्ने देखिएको छ । उसले सुपर–८ चरणको अन्तिम खेलमा लयमा देखिएको भारतसँग खेल्ने तालिका छ । 

  • प्रकाशित मिति : असार ९, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया