रोमानिया : जहाँ प्रत्येकसँग छ आफ्नै घर

पछिल्लो अध्ययनअनुसार नेपालमा ८५ प्रतिशत जनता आफ्नै घरमा बस्छन् । तथ्यांक विभागले सन् २०१२ मा गरको अध्ययनले यति ठूलो जनसंख्या आफ्नै घरमा बस्ने देखाएको हो । 

तथ्यांकअनुसार, नेपालमा १२ प्रतिशत भाडामा बस्छन् भने अन्यले अफिस वा अन्य व्यवस्था मिलाएर बस्ने गरेका छन् । 

विश्वमा सबैभन्दा धेरै जनता आफ्नै घरमा बस्ने देशको सूचीमा पहिलो नम्बरमा आउँछ, रोमानिया । युरोस्टेटको तथ्यांकअनुसार यहाँका ९६ प्रतिशत मानिससँग आफ्नै घर छ । 

भाडामा पाइने घरको अभाव र घरका मालिक बन्ने सामाजिक दबाबका कारण अधिकांशले आफ्नै घर बनाए पनि रोमानियानीको घर अनुभव भने त्यति मीठो छैन । घरपछाडिको कहानीमा पुस्ताअनुसार विविधता पाइन्छ ।

बुचारेस्ट युनिभर्सिटीका प्रोफेसर बोगडन सुडिटुका अनुसार साम्यवादी शासनको अन्त्य हुँदा सन् १९९० मा देशका ७० प्रतिशत घर राज्यको अधिनमा थिए । 

त्यसपछि भने सरकारले घर बेच्न सुरु गर्यो । मानिसहरू आफू बसिरहेको घरमै बस्न चाहन्थे, र त्यतिवेला घरको मूल्य पनि निकै कम थियो । 



१९४६ देखि १९६४ सम्म जन्मिएका मानिसलाई विश्वभर ‘बेबी बुमर्स’ भनिन्छ । हाल विश्वभर अधिकांश व्यवसाय र सम्पत्ति यो पुस्ताको अधिनमा छ । रोमानियामा पनि यही ‘बेबी बुम’ पुस्ताले नै सबैभन्दा ज्यादा घर आफ्नो बनाएका थिए । त्यो वेला रोमानियाको मुद्रा अवमूल्यन हुँदै थियो । मुद्रास्फीतिका कारण घर खरिद गर्न निकै सजिलो भएको थियो । 

सुडिटुका अनुसार सन् १९९१ मा एक लाख रोमनियन ल्युमा एउटा अपार्टमेन्ट पाइन्थ्यो । १९९४ मा भने त्यो मूल्यमा एउटा रंगीन टिभी पाइन्थ्यो ।



सन् १९९६ पछि सरकारले नै जनतालाई बेच्ने हेतुले केही घर बनाएको थियो । त्यतिवेलासम्म मानिसहरू निजी घर बनाउन पनि थालिसकेका थिए । 

त्यतिवेलासम्म निजी घरको मालिक हुन कसैलाई पनि रहर थिएन । तर, पछि सरकरले नै जनतामा त्यो मानसिकता विकास ग¥यो । 

सन् १९६० देखि १९८० को बीचमा जन्म भएकालाई ‘जेनेरेसन एक्स’ भनिन्थ्यो । बेबी बुमर्सपछि यो पुस्ता घरको मालिक बन्ने अवस्थामा पुग्यो । त्यतिवेला रोमानियाका मानिसको सम्पत्ति किन्ने सोच त फेरिएन, तर आर्थिक संकटका कारण घर किन्न भने गाह्रो भयो ।

रोमानियाले आर्थिक मन्दीको समय सन् २००९ मा ‘फस्ट होम प्रोगाम’ सुरु गर्याे, जुन पहिलो सम्पत्तिको रूपमा घर किन्नेका लागि सहयोगी बन्यो ।

त्यतिवेला बिल्डर्सलाई पनि प्रोत्साहन मिल्यो र जनताले पनि ५ प्रतिशत अग्रिम भुक्तनीमै कर्जा पाउने भए । आफ्नै घरको मालिक बन्ने लहर चुलियो ।

सन् १९८१ देखि १९९६ सम्म जन्मेको पुस्तालाई ‘मिलेनियल्स’ भनिन्छ । मिलेनियल्स पुस्तामा आफ्नो स्वामित्वमा घर किन्ने परम्परा घटेको छ । उनीहरू भाडाको घरमा बस्न थालेका छन् । भाडामा बस्नु अन्य देशको लागि सामान्य भए पनि रोमानियाको लागि भने फरक कुरा हो । 

निसिफरका अनुसार रोमानियामा घर भाडामा दिने प्रस्ट कानुन छैन । यसैले, पनि मानिस अझै घरको मालिक नै बन्न चाहन्छन् ।

रोमानियामा घरभाडा निकै कम छ, त्यसैले लामो समयसम्म पनि भाडामा लगाउनेहरूको लगानी उठेको छैन । रोमानियामा धेरैजनासँग १ देखि ३ वटासम्म घर छ ।

रोमानिया अहिले पनि घर मालिकको देश हो । विश्व बैंक र रोमानिया क्षेत्रीय विकास कार्यक्रमको रिपोर्टअनुसार यहाँ भाडामा केही पनि पाइँदैन । ठुल्ठुला परिवार पनि सँगै रहन्छन् । परिवारमा सदस्य बढेसँगै घर छोड्ने प्रचलन यहाँ छैन । 

सबैजसो रोमानियानीसँग घर त छ, तर घरभित्रको परिवार सम्पन्न भने छैन । रिपोर्टका अनुसार रोमानियाको एकतिहाई घर कमजोर भइसकेको छ । यहाँ मौसमी विपद् र भूकम्पले दुःख दिइरहन्छ । रोमानिया युरोपमा सबैभन्दा धेरै भूकम्पको जोखिम रहेको देशमा पर्छ । घर मर्मत खर्च नभएर अधिकांश घरको राम्रो रेखदेख पनि भएको छैन । 

  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार १८:११:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया