साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो ।
कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत् रहेको बताए । उनले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिए ।
उनका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा ३ सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ । ‘वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ’, उनले भने, ‘हल्ला फैलिएपछि एकै घरका चार जनासम्म नुन लिन आएको पाइएको छ ।’
स्थानीय गोरख धामीले नुनको अभावको कुरा सुनेपछि आफू लाइन बस्न आएको बताए । ‘नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरू कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो’, उनले भने ।
बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गरे । उनका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।