टोकियो– सबा पाउको शरीर लिएर धर्तीमा उत्रेको दुनियाँको सबैभन्दा सानो छोराले ९ महिनाको अस्पताल बसाइँपछि पहिलाेपटक घर देखेकाे छ ।
२०१८ को अक्टोबरमा जापानको टोकियोस्थित अस्पतालमा जन्म लिँदा रेयुसुके सेकियाको शरीरको लम्बाइ केवल २२ सेन्टिमिटर थियो, र वजन २५८ ग्राम । आमा तोसिकोले उनलाई पौने ६ महिना मात्र गर्भमा राखिन् । कम्प्लिकेसनका कारण गर्भधारणको १७३ दिनमै आकस्मिक शल्यक्रिया गरी उनलाई निकालिएको थियो ।
शिशुलाई बचाउन डाक्टरहरुले कडा मिहिनेत गरे । फलस्वरुप, ९ महिनामा शिशुको वजन १३ गुणाले बढेर ३ किलोभन्दा माथि पुगेको छ । सेकियाको स्वास्थ्य राम्रो छ । अस्पतालले उनकाे प्रगति हेरेर आज घर पठाएकाे हाे ।
एनआइसियुमा राखेर उनलाई ट्युबको मद्दतले खाना दिइन्थ्यो । मेडिकल स्टाफ कपासको सहाराले उनको मुखमा दूध राख्थे ।
आमा तोसिको भन्छिन्, ‘जन्मिँदा रेयुसुके स्याउजत्रै थियो । कतिपटक त उसलाई छुँदा पनि टुट्लाजस्तो डर लाग्थ्यो । तर, अहिले ऊ दूध पिउन सक्ने भएको छ । उसलाई नुहाउन सकिने भएको छ ।’
यसअघि विश्वको सबैभन्दा सानो छोराको रेकर्ड जापानकै अर्को शिशुको नाम थियो । गतवर्ष जन्मिएको उक्त शिशुको वजन २६८ ग्राम थियो । ऊ यही फेब्रुअरीमा हस्पिटलबाट डिस्चार्ज भएको छ ।
विश्वकै सानो छोरी भने सन् २०१५ मा जर्मनीमा जन्मिएकी युनिभर्सिटी अफ आयोवाको रेकर्डले देखाउँछ । जन्मँदा उनको वजन २५२ ग्राम थियो । डाक्टरहरुका अनुसार, यस्ता कम वजन हुने शिशुहरुमा छोराको तुलनामा छोरीको जीवित रहने सम्भावना ज्यादा हुन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।