राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाअनुसार फेल हुने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । लेटर ग्रेडिङ निर्देशिका–२०७८ बमोजिम सार्वजनिक नतिजाअनुसार परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये आधाभन्दा बढी विद्यार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएका हुन् ।
परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थी एनजी भएका छन्, जसमध्ये २ विषयमा एनजी हुने विद्यार्थीको संख्या १ लाख १५ हजार ८३४ रहेको छ । दुई विषयमा एनजी हुने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न ग्रेड वृद्धि परीक्षा दिनुपर्ने हुन्छ । ग्रेड वृद्धि गर्न सकेको खण्डमा मात्र विद्यार्थीले यही शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना हुन पाउने छन् ।
ग्रेडवृद्धि परीक्षा आगामी १८ र १९ साउनमा हुने बोर्डले जनाएको छ । उक्त परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशित हुने बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । प्रकाशित नतिजाअनुसार २ लाख २२ हजार ४ सय ७२ जना विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य छन् ।
नयाँ निर्देशिकामा सैद्धान्तिक र आन्तरिक परीक्षाको मूल्यांकन नजोडिने व्यवस्था रहेकाले यसपटक ननग्रेड हुने विद्यार्थीको संख्या बढेको हो । पुरानो ग्रेडिङ प्रणालीमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा पाएको अंकलाई जोडिन्थ्यो । विद्यार्थीले प्राप्त गरेको सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको अंकलाई जोड्दा न्यूनतम् ग्रेडिङ पुगेको खण्डमा विद्यार्थी पास हुन्थे । तर, अहिले त्यसो व्यवस्था छैन ।
प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम् ३५ प्रतिशत अंक प्राप्त गर्न नसक्ने विद्यार्थी एनजी हुने व्यवस्थाअनुसार पहिलोपटक एसइईको नतिजा सार्वजनिक गरिएको हो । नयाँ ग्रेडिङ प्रणालीअनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षामा न्यूनतम् ३५ प्रतिशत अर्थात् २६.२५ अंक प्राप्त गर्नुपर्छ । विद्यार्थीले उक्त अंक प्राप्त गर्न नसकेको खण्डमा उनीहरूको शैक्षिक प्रमाणपत्रमा एनजी उल्लेख हुन्छ ।
लेटर ग्रेडिङ पद्धति २०७२ सालदेखि नै विद्यालय तहमा सुरु भए पनि २०७८ सालमा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका संशोधन गरेर ग्रेडिङ हुन न्यूनतम् ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको थियो । गत शैक्षिक सत्रबाट कक्षा १० मा नयाँ पाठ्यक्रम लागू भएकाले बोर्डले यो वर्षको एसइई नतिजा नयाँ लेटर ग्रेडिङ निर्देशिका बमोजिम सार्वजनिक गरेको हो ।
गणित र विज्ञानमा बढी फेल
एनजी हुने २ लाख ४२ हजार ३१३ जना विद्यार्थीमध्ये सबैभन्दा धेरै गणित र विज्ञान विषयमा (एनजी) फेल भएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १ लाख ७७ हजार ९८५ विद्यार्थी गणित विषयमा एनजी भएका छन् भने १ लाख २६ हजार ९३३ विद्यार्थी साइन्समा फेल भएका छन् ।
यसैगरी अंग्रेजी विषयमा १ लाख १ हजार ३८३ विद्यार्थी अंग्रेजी विषयमा फेल भएका छन् । बोर्डका अनुसार सामाजिक अध्ययन विषयमा ७३ हजार ८७७ विद्यार्थी फेल भएका छन् । यस्तै, अर्थशास्त्रमा ६९ हजार ४१६ विद्यार्थी फेल भएका छन् ।
करिब साढे २ लाख विद्यार्थी एनजी
एसइई परीक्षामा अघिल्लो वर्षको तुलनामा यस वर्ष ननग्रेड अर्थात् एनजी हुने विद्यार्थीको संख्या २ लाख २८ हजार ३२१ जनाले बढी देखिएको छ । गत वर्षको एसइई परीक्षामा १३ हजार ९९२ जना विद्यार्थी एनजी भएका थिए । यस वर्ष २ लाख ४२ हजार ३१२ जना विद्यार्थी एनजी भएका छन् । तर, यो वर्ष एनजी हुने विद्यार्थीको संख्या बढ्नुको मुख्य कारण लेटर ग्रेडिङ निर्देशिका–२०७८ हो ।
यस वर्षदेखि यो निर्देशिका लागू भएका कारण धेरै विद्यार्थी फेल हुने अनुमान नतिजा प्रकाशन हुनअघि नै गरिएको थियो । यसअघिको ग्रेडिङ प्रणालीमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा विद्यार्थीले प्राप्त गरेको अंक जोडेर न्यूनतम् तोकिएको अंक ल्याएको खण्डमा पास हुने व्यवस्था थियो भने अहिलेको नयाँ निर्देशिकामा उक्त व्यवस्थालाई हटाइएको छ ।
कक्षा १० का विद्यार्थीमा २०७९ सालदेखि लागू भएको यो निर्देशिकाअनुसार विद्यार्थीले ७५ पूर्णाङ्कको सैद्धान्तिक परीक्षामा न्यूनतम् ३५ प्रतिशत अर्थात् २६.२५ अंक र २५ पूर्णाङ्कको प्रयोगात्मक (आन्तरिक) परीक्षामा न्यूनतम् ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने हुन्छ ।
निर्देशिका बमोजिम तोकिएको न्यूनतम् अंक प्राप्त गर्न नसक्ने विद्यार्थीले मूल प्रमाणपत्र नै नपाउने निर्देशिकामा उल्लेख गरिएको छ । निर्देशिकाको परिच्छेद ३ को बुँदा ७ को उपबुँदा २ को (क) मा कक्षा ८, १० र १२ मा सबै विषयमा न्यूनतम् ग्रेड पूरा गरेपछि मात्र सम्बन्धित निकायले मूल प्रमाणपत्र उपलब्ध गराउने उल्लेख छ ।
मूल प्रमाणपत्र प्राप्त गर्न नसकेका विद्यार्थीले तीन पटकसम्म दुईवटा विषयमा ग्रेड वृद्धि परीक्षा दिन सक्नेछन् ।
३.६ देखि ४.० जीपीए ल्याउनेको संख्या अघिल्लो वर्षभन्दा धेरै
गत वर्षको एसइई परीक्षाभन्दा यो वर्ष ३ दशमलव ६० जीपीएदेखि चार प्राप्त गर्ने विद्यार्थीको संख्या धेरै रहेको राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । यस वर्ष ३१ हजार २०९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।
अघिल्लो वर्ष २२ हजार ४७५ जना विद्यार्थीले मात्र उक्त जीपीए प्राप्त गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।