logo-img

पुस्तक अंश : ‘जाजरकोटको एक अनन्त यात्री’

जाजरकोटको जरा

“यस्तो कहिल्यै नहोस्, कसैलाई नपरोस् ।” 

यो वाक्य त्यतिबेला जाजरकोटका कारण देशभर फैलियो । 

लटरम्म फूल फूलिरहेका थिए । गाउँ नै फूलको बास्नाले झुमिरहेको थियो । एक हप्तामै फूल, मिठाई, रङ्ग, झिलिमिलीको पर्वमा मान्छेहरु झुम्दै थिए । चटारो थियो मान्छेहरुलाई । तर कार्तिक २६ गते हुने लक्ष्मी पूजाभन्दा अघि नै प्रकृतिको ताण्डव सुरु भयो । १७ गते शुक्रबार जाजरकोटमा मृत्यु नाच्यो । रातमा भूकम्प काल बनेर आयो । तिहारमा फूलेका सयपत्री फूलहरुको भाग्य पनि दुर्भाग्यमा परिणत भयो । फूलहरु भाइटिकामा दिदीभाइ दाजुबहिनीको गलामा र घरको ढोकामा सजिएनन् ।

फूल भगवान्लाई हैन लासलाई चढ्यो । 

जब जाजरकोटमा भूकम्प आयो, त्यसले सारा पृथ्वीभरका मान्छेमा कम्प ल्याइदियो । आँसु खसालिदियो । रुनेमा, म पनि एक थिएँ । म त मेयरसाब थिएँ । मैले छातीमा आँसु लुकाएर एक्लै रुनु पर्दथ्यो । कारण म रुँदा सारा नगरवासी कमजोर हुन्थे । यसै भनेर म रुन पाइनँ । राति एक्लै दिनभरिका दृश्य सम्झेर रुन्थेँ । न रात । न दिन । न भोक । न प्यास । म मर्दामर्दै बाँचेको मान्छेजस्तै अधकल्चो भएको थिएँ । तर पनि शरीरमा जोस र जाँगर भरेर आफैँले आफैँलाई सान्त्वना दिँदै अरुको ज्यान बचाउन आफ्नो ज्यानलाई बाजी राखेर कुदिरहेँ ।



सम्झनै नपरे हुने जस्तो लाग्ने दृश्य सम्झन्छु । 

१६ दिनको बच्चा च्यापेर सुत्केरी आमा चिसो भुइँमा सुतेकी थिइन् । बच्चाको नाभिबाट रगत बगिरहेको थियो । एउटै शरीरमा दुई जीवन हुर्काइरहेकी अर्की आमा चिसोसँग सङ्घर्ष गरिरहेकी थिइन् । शीत जति सबै भित्र छिर्ने प्वाल परेको पालमा निमोनिया वरिपरि घुमिरहेको थियो । उनीहरु मृत्युसँग पौँठाजोरी खेलिरहेका थिए । 



अर्कोतिर, मानिसहरु आलापविलाप गर्दै रोइरहेका थिए । कतिका घर ढलेका थिए । कतिका आफन्त गुमेका थिए । कतिका हातखुट्टा चुँडिएको थियो । यस्तो लाग्थ्यो, त्यहाँ नढलेको, नगुमेको र नचुँडिएको कोही पनि थिएन । पालमुनि बस्नेहरुलाई रात र दिन बराबर थियो । राति निद्रा लाग्दैनथ्यो । निद्रा लागे पनि सपनीमा त्यही भूकम्प सम्झेर ऐँठन भइरहन्थ्यो । 

भूकम्पले घरका मान्छेहरुलाई मात्र पुरेन । गोठका गाईवस्तुहरु पनि पुरिएका थिए । मान्छे धेरै संवेदनशील प्राणी हो । मान्छेलाई सम्झेर मान्छे रmने, गाइवस्तुलाई सम्झेर पनि मान्छे रmने, निर्जीव वस्तु सम्झेर पनि उही मान्छे रmने । आँसुको भेल भेरी बगे झैँ लाग्दथ्यो । 

कार्तिक १७ गते जाजरकोटको भेरी नगरपालिकामा गएको भूकम्पले यस्तो कारुणिक दृश्य देखायो । त्यो कारुणिक दृश्यका पात्रहरुको घाउमा मलम लगाउन म चरैवेति चरैवेति हिँडिरहेको छु । 

०००

‘मान्छेले आफ्नो थलो बिर्सनुहुँदैन ।’ गाउँघरमा बुढापाकाले कुरा गर्थे । आज म भूकम्पले जर्जर बनाएको आफ्नै थलोमा बसेर त्यो कुरा सम्झिरहेको छु । मेरो बाजे जहाँ जन्मिनुभयो, मैले त्यहीँ आफ्नो जीवन र कर्मलाई समर्पित गरेको छु । जाजरकोटको जरा समात्दै म अझै पनि त्यही पुख्र्यौली थलोमै छु । कहिल्यै छुट्टिन नसक्ने गरी म चुम्बक झैँ टाँसिएको छु । मैले जाजरकोटलाई सधैँ प्रेम गरेको छु । मलाई थाहा छ– जाजरकोटले पनि मलाई उत्तिकै प्रेम गरेको छ । 

कहिलेकाहीँ लाग्छ, मैले पूख्र्यौली थलो छोडेको भए के हुन्थ्यो ? यदि म अन्यत्र कतै गएको भए सायद सुखको जीवन त बिताउँथेँ होला तर यहाँ जस्तो आत्मसन्तुष्टि बोध गर्थिनथेँ । यहाँ सुखमा हाँसिदिने र दुःखमा रोइदिने आफ्ना छन् । पराइ संसारमा ‘आफ्ना’ खोज्नु भनेको आकाशपाताल जोडिनु जस्तै हो । 

आफ्नै ठाउँ, आफ्नै मान्छे । सायद यही पो स्वर्ग हो । “मरेपछि स्वर्ग पुगिन्छ वा पुगिँदैन तर जीवित रहुन्जेल स्वर्ग अनुभूति गर्नुछ भने आफ्नो थलो फर्किनुहोस् ।” मैले परदेशमा रहेका साथीभाइलाई यही भन्दै आएको छु । 

वर्तमान समयमा हाम्रो स्थायी बसोबास जाजरकोटको भेरी नगरपालिकाको वडा नं. ६, भेरे गाउँमा छ । त्यो भन्दा पहिले रामी डाँडाको शिर्पाचौर (बारेकोट गाउँपालिका) भन्ने ठाउँमा थियो । त्यहाँ अझै पनि हाम्रा पुर्खाहरुका हाँगो देख्न सकिन्छ । 

मैले देखेको जीवित पुर्खा मेरो बाजे मनसुर घर्ती हो । उहाँकै कारण हामी फैलियौँ । उहाँ रामी डाँडाबाट बसाइ सरी भेरे गाउँमा आएदेखि हामी यहीँ छौँ । 

बाजेका दुई भाइ छोरा र एक छोरी । ठूलो छोरा पठान घर्ती मगर, कान्छो छोरा श्याम बहादुर घर्ती मगर र छोरी मङ्गली घर्ती मगर (काली) । 

तत्कालीन समयमा ठूलो बुवा पेसाले कृषक भएपनि उहाँले गर्ने कृषि निर्वाहमूखी थियो । उहाँ अहिले यस धर्तीमा हुनुहुन्न तर मेरो सम्झनामा सधैँ जीवित हुनुहुन्छ । उहाँ जता भएपनि कृषिमै व्यस्त रहनुभएको होला भन्ठान्छु । लाग्छ– अहिलेको जस्तो आधुनिक कृषि औजार उहाँले तत्कालीन समयमा पाउनुभएको भए कृषिमा आमूल क्रान्ति ल्याउनुहुन्थ्यो होला । आज ठूलो बुवा नभए पनि उहाँजस्तै मिहिनेती दाइहरु छन् । सबैले आ–आफ्नो ठाउँमा राम्रै गरिरहेका छन् ।

मेरो बुवा प्रधानपञ्चको कान्छो छोरो । त्यसमाथि शिक्षकको जागिरे । ‘कान्छो सबैको प्यारो ‘भनेजस्तै हुनु’भो उहाँ । गाउँमा धुम्रपान र मद्यपान सामान्य थियो । खाने पिउनेमा खुब जम्नुहुन्थ्यो । उहाँको गाउँमा राम्रै प्रभाव थियो । तर अहिले भने उहाँले सबै नशाहरु छोडेर आध्यात्मिक जीवन शैलीलाई अपनाउनुभएको छ । 

उहाँका सहपाठीहरु रोजीरोटीको लागि अक्सर भारत जान्थे । त्यतिबेला बाहिरी मुलुक जानु भनेको भारत मात्रै थियो । मान्छेहरू काठमाडौं त बिरलै पुग्थे । अमेरिका, अस्ट्रेलिया र युरोपका देशहरुसँग हाम्रो गाउँ परिचित भइसकेको थिएन ।

देशमा निरङ्कुश पञ्चायती व्यवस्था विद्यमान थियो । भित्रभित्रै पञ्चायत विरोधीहरुले व्यवस्था बदल्न सङ्घर्ष गरिरहेका थिए । वि.सं. २०३६ सालमा सुधारिएको पञ्चायत र बहुदलीय व्यवस्थामा कुन राम्रो भनेर जनमत सङ्ग्रह भइसकेको थियो । सुधारिएको पञ्चायतमा सबैभन्दा धेरै मत खसेको कारण देशमा पञ्चायती व्यवस्था नै कायम थियो ।  

भनौँ, एक हिसाबले पञ्चायती व्यवस्था उत्कर्षमा पुगेको थियो । त्यही समयमा मेरो जन्म भयो– वि.सं. २०३८ साल असार १५ गते । 

मलाई जन्माउन बुवाले दोस्रो विवाह गर्नुभएको रहेछ । बुवाले कान्छी श्रीमती विवाह नगरेको भए म जन्मिदैनथेँ होला । म जन्मिएपछि चार भाइ र एक बहिनी अझै थपिए । उता जेठी आमातिर एक भाइ पहिलै थिए । पछि एक भाइ र दुई बहिनी थपिए । 

शिक्षकको कमाइ कति नै हुन्थ्यो र ! दुईवटा परिवार धान्न धौधौ नै थियो बुवालाई ।

***​

भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ती (सी.पी.) द्घारा लिखित तथा  लेखन कुञ्जबाट प्रकाशित पुस्तक ‘जाजरकोटको एक अनन्त यात्री’ असार १५ शनिवार लोकार्पण हुँदै छ ।

  • प्रकाशित मिति : असार १४, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया