कोपा अमेरिका फुटबलमा उपाधि दाबेदार ब्राजिलले पहिलो जित दर्ता गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिलले पाराग्वेविरुद्ध ४–१ गोलको सानदार जित दर्ता गरेको हो ।
पहिलो खेलमा कोस्टारिकासँग अंक बाँडेको ब्राजिलले शनिबारको जितसँगै तालिकामा ४ अंक बनाएको छ । यो समूहबाट कोलोम्बियाले अन्तिम ८ मा स्थान पक्का गर्दा ब्राजिल पनि नकआउट चरणको प्रवेश नजिक छ ।
ब्राजिलले पाराग्वेविरुद्ध पहिलो हाफमै ३ गोल गरेको थियो । ३५ औं मिनेटमा लुकास पुएटाको पासमा गोल गर्दै अग्रता दिलाए । ४३ औं मिनेटमा साभियो मोरेराले गोल गरेपछि ब्राजिलको अग्रता दोब्बर भएको थियो ।
पहिलो हाफको अतिरिक्त पाँचौं मिनेटमा भिनिसियस जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दा ब्राजिलले पहिला हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ४८ औं मिनेटमा पाराग्वेका लागि ओमार एल्डरेटले गोल फर्काउँदै अन्तर ३–१ मा झारेका थिए । तर, ६५ औं मिनेटमा लुकास पुएटाले पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिल ४–१ ले अघि बढ्यो ।
८१ औं मिनेटमा एड्रियन एन्ड्रेस क्युवाले रातो कार्ड पाउँदै मैदान छाडेपछि पाराग्वे १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा भने ब्राजिलले उठाउन नसक्दा अन्ततः ४–१ को नतिजाका साथ तालिकामा ३ अंक थप्न सफल भयो ।
ब्राजिल ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अब समूह चरणको अन्तिम खेलमा ब्राजिलले कोलोम्बियासँग बराबरी खेल्दा पनि अन्तिम ८ मा प्रवेश गर्ने छ ।
पराजित हुँदा उसले कोस्टारिका र पराग्वेको नतिजामा भर पर्नुपर्नेछ । कोस्टारिका एक अंकका साथ अहिले तालिकाको तेस्रो स्थानमा छ ।
पाराग्वेले अहिलेसम्म जितको खाता खोलेको छैन । समूह चरणको अन्तिम खेलमा कोस्टारिका र पाराग्वे भिड्ने छन् । अन्तिम खेल ३ जुलाईमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।