logo-img

सुदूरपश्चिममा बढ्न थाले डेङ्गु र स्क्रबटाइफसका बिरामी

सुदूरपश्चिम प्रदेशमा डेङ्गु र स्क्रबटाइफसका बिरामी बढेपछि त्यसविरुद्ध अभियान थालिएको छ । गएको माघयता यहाँ एक सय १६ जनामा डेङ्गु तथा चार सय नौजनामा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएपछि  प्रदेश सरकारले अभियान थालेको हो । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा सबैभन्दा बढी स्क्रबटाइफसका बिरामी डडेल्धुरामा एक सय ९१ जना छन् ।  कैलालीमा ८२, अछाममा ४७, दार्चुलामा ३२, डोटीमा २५, कञ्चनपुरमा १७, बैतडीमा सात, बझाङमा सात र बाजुरामा एकजना सङ्क्रमितको अभिलेखीकरण भएको छ । यसैगरी, डोटीमा २७, कञ्चनपुरमा २६, अछाममा २३, कैलालीमा १९, बाजुरामा १२, बझाङमा पाँच, दार्चुला तीन, डडेल्धुरा एकजनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । 

बर्सात सुरु भएसँगै  डेङ्गु र स्क्रबटाइफसका बिरामी बढ्दै जान थालेका निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले बताए । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । उनी भन्छन्, ‘वर्षा सुरु भएसँगै पहाडका साथै तराईमा पनि सङ्क्रमणको जोखिम बढेको छ । तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे कम देखिएका थिए अब पानी परेर लामखुट्टे बढ्ने र सङ्क्रमणको जोखिम उच्च हुनेछ ।’ पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए । 

बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिहरूमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको  जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए ।  



वर्षा सुरु भएसँगै पछिल्लो समय डेङ्गु र स्क्रबटाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । उनले भने, ‘तराईका साथै पहाडमा पनि डेङ्गु र स्क्रब टाइफसको जोखिम बढ्दै गएको छ, बर्सातको समयमा विशेष ख्याल गर्नुपर्छ ।’

बर्सात्को समयमा किर्नालगायत किराहरूले टोक्ने भएकाले स्क्रबटाइफसका बिरामीहरू बढ्ने गरेका हुन् । चौपाया नजिक  गइरहनेलाई  किर्नाले टोक्ने जोखिम बढी हुने बताउँदै उनले    माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रबटाइफस हुने जानकारी दिए । विशेष गरी पशुपालक किसानलाई सावधानी अपनाउन उनले आग्रहसमेत गरे ।  



  • प्रकाशित मिति : असार १५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया