काठमाडौं – नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ। भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौं उडान स्थगित गरेपछि यात्रुहरुलाई समस्या परेकाे भन्दै निगमले दिल्ली उडान थपेको निगमका सहायकप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।
निगमले वैशाख १८ काठमाडौं नयाँदिल्ली सातामा १४ उडान गर्ने जनाएको छ। निगमले अहिले काठमाडाैं–दिल्ली हप्तामा ११ उडान भर्दै आएको छ।
आर्थिक संकट परेपछि जेट एयरले एक साताअघि काठमाडौं–दिल्ली उडान बन्द गरेको थियो ।
यसअघि निगमले ‘न्यारो बडी’ र वाइड बडी जहाजबाट दिल्ली उडान गर्दै आएकामा वैशाख १८ गतेदेखि रातिको उडान भने वाइड बडी जहाजबाटै गर्ने जनाएको छ ।
‘व्यवसायिकतासँगै यात्रुको सहजताका लागि दुबै ‘वाइड बडी’ जहाजबाटै दिल्ली उडान गर्दैछौं, ‘वाइड बडी’ उड्दा २७४ यात्रु र समान आउने जाने हुन्छ, जुन ‘न्यारो बडी’ (१५८ सिट क्षमता) को दोबर यात्रु एउटै ‘वाइड बडी’ले बोक्ने भएकाले सबै उडान ‘वाइड बडी’ मार्फत नै गर्न लागेका हौं,’ सहायक प्रवक्ता कोइरालाले भने।
निगमले हाल भारतकै मुम्बई र बैङ्लोरमा सातामा तीन उडान भर्दै आएको छ भने अन्य आठ मुलुकमा पनि अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।
केही महिनाभित्रै जापानको ओसाकाका लागि पनि उडान गर्ने तयारी गरेको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि एक ‘बोइङ’–७५७, दुई ‘न्यारो बडी’ र दुई ‘वाइड बडी’ जहाज छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।