साउदी अरबको मक्काबाट हजयात्रा गरेर फर्केका माल्दिभ्सका एक तीर्थयात्रीमा ‘मेनिन्गोकोकल रोग’ देखापरेपछि हजयात्रामा नागरिक पठाएका सबै राष्ट्रहरूको ध्यान खिचिएको छ ।
माल्दिभ्सले ‘मेनिन्गोकोकल रोग’को पहिलो केस पुष्टि गरेको छ । हेल्थ प्रोटेक्सन एजेन्सी (एचपिए)ले गत साता टापु राष्ट्रमा रोग पत्ता लागेको पुष्टि गरेको हो । हालै तीर्थबाट फर्केका आफ्ना एक नागरिकमा ‘मेनिन्गोकोकल रोग’ देखापरेको भन्दै माल्दिभ्स सरकारले रिपोर्ट गरेपछि नेपालमा पनि उच्च सतर्कतासहित आकस्मिक बैठक राखेको छ ।
माल्दिभ्सले मेनिन्गोकोकल रोगको पहिलो केस पुष्टि गरेको हो । हेल्थ प्रोटेक्सन एजेन्सी (एचपिए)ले मंगलबार टापु राष्ट्रमा रोग पत्ता लागेको पुष्टि गरेसँगै नेपालमा पनि जोखिमको आकलन गरिएको छ । यस वर्ष नेपालबाट पनि सात सयभन्दा बढी नागरिक मक्का गएका थिए ।
माल्दिभ्समा मेनिन्गोकोकल रोगको एउटा केस पत्ता लागेको घोषणा गरे पनि अन्य विवरण खुलासा गरिएको छैन । मुस्लिमहरूको पवित्र सहर मक्कामा बर्सेनि ठूलो संख्यामा मुस्लिमहरूले हजयात्रा गर्छन् । आर्थिक र शारीरिक रूपमा सक्षम सबै मुस्लिमहरूले आफ्नो जीवनकालमा कम्तीमा एकपटक उक्त तीर्थयात्रा गर्नुपर्ने बताइन्छ । सोही कारण नेपालबाट पनि हरेक वर्ष ठूलो संख्यामा नागरिक जाने गर्छन् । साउदी अरबका अनुसार यस वर्ष १८ लाख मानिसले हज गरेका थिए । यही भिडमा उक्त रोेग फैलिएको अनुुमान लगाइएको छ ।
सतर्कता बढाउँदै नेपाल
हज गरी फर्केका आफ्ना नागरिकमा मेनिन्गोकोकल रोग देखापरेको भन्दै माल्दिभ्स सरकारले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत जानकारी दिएपछि नेपालमा आकस्मिक बैठक राखिएको थियो ।
यस विषयमा गत बुधबार डब्ल्यूएचओका प्रतिनिधिसहित स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा नेपालमा ‘मेनिन्गोकोकल रोग’को जोखिमबारे आकस्मिक बैठक बोलाइएको थियो । नेपालबाट पनि हरेक वर्ष गृह मन्त्रालयको समन्वयमा इस्लाम धर्मावलम्बी हज गर्न जाने गरेका छन् । माल्दिभ्सका नागरिकमा मेनिन्गोकोकल रोग देखिएपछि नेपालमा पनि सतर्कता अपनाउने निर्णय गरिएको (इडिसिडी)का प्रमुख डा. यदुचन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार नेपालबाट हजयात्रामा जाने हरेक नागरिकलाई भ्याक्सिन लगाएर पठाउने गरिन्छ । नेपालमा मक्का मदिनामा हजयात्रामा जानुअघि अनिवार्य रूपमा प्रत्येक यात्रीले तीनवटा भ्याक्सिन क्वार्डिभ्यालेन्टए सिवाइडब्लू मेनिङकोकल कन्जुगेट भ्याक्सिन, इनयाक्टिभेटेड पोलियो भ्याक्सिन (आइपिभी) र सिजनल इन्फ्लुएन्जा भ्याक्सिन अनिवार्य लगाउनुपर्ने हुन्छ । भ्याक्सिन लगाएर पठाइने भए पनि त्यही ठाउँबाट फर्केका व्यक्तिमा संक्रमण देखिएपछि उच्च निगरानी गर्नुपरेको उनको भनाइ छ ।
‘योपटक भर्खरै हज गरी फर्किएका व्यक्तिमा माल्दिभ्समा मेनिन्गोकोकल रोग देखिएपछि हामीले सतर्कता अपनाउने निर्णय गरेका हौँ,’ डा. घिमिरेले भने ।
‘हिजोआज हज गरी फर्किएका नागरिकलाई निगरानी राखिने र फर्कन बाँकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेक्सबाटै उनीहरूमा केही लक्षण छ कि छैन भनेर हेरिनेछ । र, केही समय उनीहरूको निगरानीसमेत गरिने निर्णय भएको छ,’ इडिसिडीका निर्देशक डा. घिमिरेले भने ।
उनका अनुसार लक्षण देखिएकालाई टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिनुका साथै टेकु अस्पतालमा उपचार गर्ने निर्णय गरिएको छ ।
यसका साथै हरेक वर्ष साउदी अरबको मक्का, मदिनामा हज गर्न धेरै नेपाली इस्लाम धर्मावलम्बी जाने गर्छन् । हजका लागि मक्का मदिनामा संसारभरबाट एकैपटक धेरै मान्छे भेला हुने र उनीहरू विभिन्न देशबाट आउने हुँदा त्यस्ता मानिसबाट कुनै पनि संक्रमणजन्य रोग हज यात्रीलाई नलागोस् र देशमा समेत त्यस्तो संक्रमण रोग नभित्रियोस् भनेर सरकारले हजयात्रीलाई अनिवार्य रूपमा भ्याक्सिन लगाउँदै आएको उनले जानकारी दिए ।
के हो मेनिन्गोकोकल रोग ?
मेनिन्गोकोकलले मस्तिष्क वरपरका तन्तुहरूमा गम्भीर असर निम्त्याउँछ, जसलाई मेनिन्जाइटिस पनि भनिन्छ । रक्तप्रवाहमा संक्रमण, मेनिन्गोकोकल सेप्टिसिमिया वा मेनिन्गोकोसेमिया, र निमोनिया पनि भनिन्छ । यसले गम्भीर फोक्सोको संक्रमणको दुर्लभ घटनाहरू पनि निम्त्याउने जनस्वास्थ्यविद् बताउँछन् ।
जनस्वास्थ्यविद्का अनुसार मेनिन्गोकोकल ब्याक्टेरिया रगतको स्थानान्तरण, श्वासप्रश्वास प्रणालीबाट, खोक्दा, हाछ्युँ गर्दा, नजिकै बस्ने वा घनिष्ठ हुने माध्यमबाट फैलिन्छ । त्यसैले कोरोनाकालमा अपनाइएका जनस्वास्थ्यका मापदण्ड अपनाउन उनीहरूको सुझाब छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।