पछिल्लो समय नेपाली टेलिभिजनमा रियालिटी सो प्रसारण गर्ने होडबाजी नै चलिरहेको छ । दर्शकको आकर्षण रियालिटी सोमा बढ्दै गएपछि टेलिभिजनहरूले पनि रियालिटी सोलाई प्राथमिकता दिँदै आएका छन् । एपिवान, कान्तिपुर, हिमालय, नेपाल टेलिभिजनलगायतबाट रियालिटी सो प्रसारण हुँदै आएका छन् ।
नेपालमा धेरै रुचाइएका रियालिटी सोहरू ‘फ्रेन्चाइज’ हुन् । विदेशमा हिट भइसकेका सोलाई नेपालीकरण गरेर प्रसारण गरिन्छ । जसमा नेपाल आइडल, द भ्वाइस अफ नेपाल, सारेगमप लिटल च्याम्प, हिमालय रोडिजलगायत सोहरू नेपालका विभिन्न टिभी च्यानलले फ्रेन्चाइज किनेर प्रसारण गरेका हुन् ।
फ्रेन्चाइज सोहरूमध्ये नेपालमा निकै लोकप्रिय बनेको एउटा सो हो– ‘नेपाल आइडल’ । जसको पाँच सिजन निकै भव्य रूपमा सफल भइसकेको छ । गत हप्ता मात्रै गायन रियालिटी सो ‘नेपाल आइडल’ सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । ८ असारमा भएको ग्राण्ड फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् । उनले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रुपैयाँ र अन्य विभिन्न उपहारसमेत जितेका छन् ।
पोखराकी सलोमी गुरुङ फर्स्ट रनर अप र दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाखसहित विभिन्न उपहार हात पारे । दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । नेपाल आइडलमा दर्शकहरूले विभिन्न माध्यमबाट भोटिङ गर्ने व्यवस्था गरिएको थियो । यसपटक पनि आफूलाई मनपर्ने प्रतियोगीलाई इ–सेवा, प्रभु पे, एसएमएस र विदेशमा हुनेले मोमो एपबाट पनि भोट गर्न सकिने व्यवस्था गरिएको थियो ।
हुन त नेपालमा पछिल्लो समय फ्रेन्चाइज रियालिटी सो मात्रै सुरु भएको छैन । ‘नेपाली तारा’, ‘खोजी प्रतिभाको’, ‘कमेडी च्याम्पियन’लगायत केही सोहरू धेरै अगाडिदेखि रियालिटी सोका रूपमा प्रसारण हुँदै आएका छन् । अर्ग्यानिक सोका नाममा धेरै रियालिटी सोहरू नेपाल सुरु भएका छन् र केही सोहरूलाई दर्शकले रुचाएका पनि छन् । त्यसमध्येको अर्को चर्चित रियालिटी सो हो– ‘कमेडी च्याम्पियन’ ।
केही दिनअघि मात्रै नेपालले तेस्रो कमेडी च्याम्पियन पाएको छ । तेस्रो संस्करणको उपाधि काठमाडौंका सुनील खड्काले हात पारेका छन् । १५ असारमा भएको ग्रान्ड फिनालेमा खड्का दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै विजेता घोषित भएका हुन् ।
उनले २५ लाख नगदसहित सिजी मोटर्सको विद्युतीय गाडी नेटा भी कार लगायतका अन्य पुरस्कार पाएका छन् । फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले हुँदा सेकेन्ड रनरअप नवलपुरकी सुयशा खनाल भइन् । फस्र्ट र सेकेन्ड रनरअपले भने एक–एकवटा स्कुटर पुरस्कार पाएका छन् । उनीहरू सबै सार्वजनिक भोटका आधारमा विजेता, फस्र्ट रनरअप र सेकेन्ड रनरअप घोषित भएका हुन् । यसरी जुनसुकै रियालिटी सोको विजेता सार्वजनिक भोटिङका आधारमा छनौट हुन्छन् ।
यसरी दर्शकको भोटिङको आधारमा विजेता घोषित हुँदा विभिन्न किसिमका प्रश्न उब्जिन थालेका छन् । के सार्वजनिक भोटिङबाट प्रतियोगितामा विजेता निर्धारण गर्नु निष्पक्ष विधि हो ? कि यसको जिम्मा जजहरूमै छाडिनुपर्छ ? कि भोटिङ सिस्टम आयोजकहरूको कमाइ खाने धन्दा हो ? यस्ता प्रश्न उब्जिन थालेका छन् । प्रायः भोटिङका आधारमा विजेता घोषणा गरिने रियालिटी सोहरू विवादित पनि हुने गरेका छन् ।
कमाइ खाने धन्दा बन्दै रियालिटी सो !
कुनै पनि रियालिटी सोको फाइनलिस्ट मात्रै सार्वजनिक भोटिङमा निर्भर हुँदैनन् । टप १२, टप ११, टप १० गर्दै फाइनलिस्ट बन्नलाई पनि केही प्रतिशत जज र केही प्रतिशत भोटिङमै निर्भर हुन्छ भने विजेता बन्नका लागि सबै भोटिङमै निर्भर हुन्छ ।
जसका लागि विभिन्न माध्यमबाट भोट गर्न सकिन्छ । प्रतियोगीलाई भोट गर्न नेपालभित्रका दर्शकले मोबाइलबाट एसएमएस अर्थात् ‘सर्ट म्यासेज सर्भिस’बाट गर्न सकिन्छ भने आयोजकहरूले इ–सेवा, प्रभु पे, फोन पे, खल्तीलगायतसँग सहकार्य गरेका हुन्छन् । यी माध्यमबाट पनि रियालिटी सोका प्रतियोगीलाई भोट गर्न सकिन्छ । एसएमएसको कुरा गर्नुपर्दा प्रति एसएमएस १० रुपैयाँ पर्छ । पहिला दर्शकले प्रतियोगीलाई भोट गर्नु वा एसएमएस गर्दा प्रति एसएमएस ७ रुपैयाँ पथ्र्यो । रियालिटी सोको आम्दानीको एउटा माध्यम भोटिङ सिस्टम हो । एसएमएसबाट मात्रै होइन, खल्ती, इ–सेवा लगायतबाट पनि भोट गर्दा पैसा काट्छ ।
जनताले गरेको भोटिङ संख्याले विजेता घोषणा गर्ने भन्दै सर्वसाधारणलाई आकर्षित गरिन्छ । जनताले जुन प्रतियोगीलाई बढी एसएमएस गर्छन् उही विजेता हुन्छ भनेपछि लाखौँले भोट गर्छन् । एकजनाले एकपटक मात्र होइन, एउटै नम्बरबाट कैयौँपटक एसएमएस पठाउन मिल्ने प्रावधान हुन्छ । जसले गर्दा धनी अर्थात् भोट किन्न सक्नेले लाखौँ रुपैयाँ खर्च गरेर एसएमएस गर्ने प्रावधान मिलाउँछ र ऊ विजेता बन्छ ।
कतिपय रियालिटी सोका प्रतियोगी पैसा खर्च गरेरै विजेता बन्ने गरेको स्वीकार गर्छन्– नेपाल लोक स्टारका प्रतियोगी रविराज शाह । ‘विजेता घोषणा भोटिङ सिस्टमबाट हुँदा पैसा नहुनेहरू प्रतियोगिताको विजयी हुन सक्दैनन्,’ उनी भन्छन्, ‘कुनै एकजना रियालिटी सोको प्रतिस्पर्धीले सर्वसाधारणको एसएमएस पाएनन् भने उनलाई अगाडि बढ्नै दिइँदैन किनभने जनताको एसएमएस ऊसँग छैन । जनताको एसएमएस उनले पाएनन् भन्नुको अर्थ जनताले एसएमस गरेनन् र टेलिभिजनले फाइदा पाउन सकेन ।’
विजेता घोषणा सर्वसाधारणको भोटिङमा मात्र निर्भर हुँदा प्रतिभा भएका मानिस पैसा नभएमा विजयी हुनबाट वञ्चित हुने उनी बताउँछन् । उनका अनुसार राम्रो प्रतिभा भएका मानिस विजेता हुनबाट वञ्चित मात्रै हुँदैनन्, कोही–कोही निरुत्साहित पनि हुन्छन् ।
‘भोटिङ सिस्टमले विजेता घोषणा गर्दा सधैँ सही व्यक्ति विजयी हुन्छन् भन्ने मलाई लाग्दैन,’ उनी स्पष्ट पार्छन्, ‘नेपालमा भोटिङ सिस्टम व्यवस्थित भएन । एउटै नम्बरबाट हजारौँपटक भोट गर्न सकिन्छ । खल्ती, इ–सेवा लगायतबाट ५० रुपैयाँदेखि हजार, दुईहजर रुपैयाँसम्मको एकै पटक भोट गर्न सकिन्छ । यसरी हेर्दा जोसँग पैसा छ, जसले भोट किन्न सक्छ र विजेता बन्न सक्छन् । प्रतिभा भएको मानिससँग पैसा छैन भने त ऊ विजयी हुन सक्दैन ।’
नेपालकै सबैभन्दा ठूलो मौलिक सिंगिङ रियालिटी सो ‘नेपाल लोकस्टार’मा भाग लिँदा आफ्नो ६० लाख रुपैयाँ बराबर भोटिङमा मात्र खर्च भएको उनको दाबी छ । उनी ‘नेपाल लोकस्टार’ को टप ६ बाट बाहिरिएका थिए । उनका अनुसार टप १५–१६ सम्म जजको आधारमा आए पनि फाइनलसम्म नै जजको मत र भोटिङ सिस्टम दुवै हुनुपर्ने उनको तर्क छ । ‘जजको मतको आधारमा मात्र विजय धोषणा गर्नु पनि गलत हुन्छ,’ उनी भन्छन्, ‘जजहरूले जात, धर्म, वर्ग, क्षेत्र हेर्न सक्छन् । स्वाभाविक रूपमा आफ्नो जात, धर्म, ठाउँ, क्षेत्रको मानिसप्रति थोरै न थोरै लगाव त हुन्छ नै । त्यसकारण पब्लिक भोटिङ र जजको मतको आधारमा विजयी घोषणा गर्नुपर्छ ।’
एउटै मोबाइबाट हजारौँपटक भोट गर्न मिल्ने, आइएमई पेमा लोड गरेर ५ लाखको भोट गर्न मिल्ने व्यवस्था गलत भएको उनको भनाइ छ । भोटिङ सिस्टमले गर्दा प्रतिभा भएका कतिपय व्यक्ति निरुत्साहित हुने भन्दै उनी उदाहरण दिन्छन्,‘कुनै जात, क्षेत्रका मानिसले एकजुट भएर भोट दिन्छन् । लाखौँलाखको भोट गरिन्छ । तर, तराईका मानिस एकपटकभन्दा बढी भोट दिँदैनन् । त्यसकारण सबै निर्णय जजलाई पनि दिनुहुँदैन र सबै निर्णय भोटिङमा पनि निर्भर रहनुहुँदैन ।’
उनका अनुसार जजलाई ४० प्रतिशत र बाँकी सर्वसाधारण भोटिङका आधारमा विजेता घोषणा हुनुपर्छ । तर, भोटिङ सिस्टम एकदमै व्यवस्थित गर्न आवश्यक रहेको बताउँछन्, गायक शाह । भन्छन्, ‘जुनसुकै रियालिटी सोको पनि भोटिङ सिस्टम एकदमै व्यवस्थित गर्न आवश्यक छ । एउटै नम्बरबाट धेरैपटक भोट गर्न मिल्ने व्यवस्था हटाउनुपर्छ । इ–सेवा, फोन पेलगायतबाट एकै पटक ४–५ लाखको भोट गर्न मिल्ने व्यस्था हटाउनुपर्छ । यो सरासर व्यपार हो ।’
दर्शकले प्रतियोगीलाई भोट गर्नु वा एसएमएस गर्दा प्रतिएसएमएस कम्तीमा १० रुपैयाँ लाग्छ । अब एउटा एसएमएस गर्दा यति पैसा के हो र भनिन्छ । तर, लाखौँले एसएमएस गर्दा टेलिभिजनले कति रकम लिन्छ ? पैसा हुनेले कति पटक एसएमएस गर्छन् ? कार्यक्रम सञ्चालकले प्रतियोगीहरूलाई बढीभन्दा बढी मत दिन उक्साउने गर्छन् । त्यति मात्र नभएर टेलिभिजनले प्रतियोगीलाई मत माग्न पनि आग्रह गर्छन्, प्रतियोगीहरू पनि विजेता बन्ने आसामा जनतासँग भोट माग्छन्, उनीहरूले आफ्ना आफन्तहरूलाई भोट गर्न अनुरोध गर्दै आएका छन् ।
यसरी भोट माग्नुको बाहिरी कुरा भोट भनिए पनि भित्री रूपमा आयोजकहरूका लागि पैसा देऊ भनिएको हो भन्दा फरक नपर्ला । एक मिनेटसम्म कुरा गर्दा २ रुपैयाँ लाग्ने तर एउटा एसएमएस गर्दा १० रुपैयाँ लाग्छ । त्यो कसरी भइरहेको छ, यसमा सम्बन्धित निकाय चुपचाप देखिन्छ । सोझासाझा जनताले आफन्तलाई जिताउने एसएमएस गर्ने गरेका छन् । यत्तिका महँगो शुल्क लाग्छ भन्ने कतिपयलाई थाहा छैन । सर्वसाधारणको अज्ञानताको फाइदा लिनका लागि टेलिभिजनले भोटिङ गर्न आह्वान गर्छ, तर त्यसको प्रत्यक्ष फाइदा आयोजकले लिइरहेका छन् ।
प्रत्यक्ष रूपले दर्शक र प्रतियोगीको ‘सेन्टिमेन्ट’ जितेर एसएमएस गर्न लगाए पनि अप्रत्यक्ष रूपमा जनताको रकम लुट्नेभन्दा अरू काम भएको छैन । जे भनिए पनि प्रतियोगीको आफन्तले गर्न सक्ने खर्चको आधारमा विजेता बनाइनु युक्तिसंगत छैन । प्रतिभाशाली भए पनि पैसा खर्च गर्न नसक्नेलाई प्रतियोगीलाई बाहिर राखेर घोषणा गरिएको विजेता साँच्चै सम्बन्धित विधामा पोख्त छन् त ? भन्ने प्रश्न पनि उब्जिन्छ ।
कतिपय रियालिटी सोको विजेता गुमनाम छन् भने दोस्रो, तेस्रो, चौथो भएका प्रतियोगीहरू चर्चित छन् । कतिपय रियालिटी सोका धेरै प्रतियोगी भोट किन्दा लागेको ऋणको भारी बोकेर विदेसिन बाध्य रहेको गायक रवि बताउँछन् । ‘एकजनाले नै करोडौँ करोडको भोट गर्न मिल्छ,’ उनी भन्छन्, ‘जित्ने आशामा प्रतिस्पर्धीले ऋण नै काढेर भोटिङमा खर्च गर्छन् । पछि त्यही भोटिङका लागि लागेको खर्च तिर्न नसेकर विदेसिन बाध्य छन् । रियालिटी सोमा भाग लिएका ९५ प्रतिशत प्रतियोगी भोटिङका कारण ऋणको भारी बोक्न बाध्य छन् । थोरैले मात्र स्पोन्सर पाउँछन् ।’
उनका अनुसार एउटा प्रतिस्पर्धीले फाइनलसम्म पुग्न २५–५० लाखसम्म खर्च गर्छन् । त्यति मात्र होइन, रियालिटी सोमा भाग लिएका प्रतिस्पर्धीसँग गीत गाउन, कुनै देश टुरमा लैजानेलगायतका सम्झौता हुन्छ । आयोजकहरूले त्यो पनि पूरा नगर्ने गरेको उनको आरोप छ ।
जनतालाई वा दर्शकलाई कसले कति भोट प्राप्त गरे ? थाहा हुँदैन । त्यसको तथ्यांक आयोजकहरूले लुकाउने गरेका छन् । यसरी जनताको मत भन्दै पैसा बटुल्ने र ठगी गर्ने कार्य भइरहेको छ । तर, यो ठगी अवैध नभएर वैध ठगी भइरहेको छ ।
भोटिङकै कारण विवादित बन्छन् रियालिटी सो !
आफूलाई मन परेको प्रतियोगी अथवा आफ्नो प्रतियोगी विजेता नबन्दा सो ‘बायस्ड’ भयो भन्नु स्वाभाविक हो । तर, केही लियालिटी सो भोटिङकै कारण धेरै विवादमा तानिन्छन् । उदाहरणको रूपमा एपिवान टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालटी सो ‘नेपाल आइडल’लाई लिन सकिन्छ । नेपाल आइडलको पहिलो सिजनमा पैसाको खेल भएको भन्ने विषयमा सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी हुन थालेपछि आयोजकले आइडलका प्रतियोगीलाई निःशुल्क भोट गर्न सक्ने व्यवस्था समेत गरेको थियो ।
आइडलले प्रतियोगी छनोटका लागि खुल्ला गरेको भोटिङको अवसरमा पैसाको खेल भएको, निर्णायकले प्रतिभाभन्दा पनि पैसा हेरेको र क्षमतावान् प्रतियोगीलाई आइडलबाट बाहिर राखेको, जजले पनि निष्पक्षभन्दा पनि आयोजकको चाहना पूरा गरेको जस्ता विषयलाई लिएर सर्वसाधारणले आइडलका बारेमा सामाजिक सञ्जालनमा व्यापक आलोचना गरेपछि आयोजकले एममार्फत निःशुल्क भोट गर्न सक्ने व्यावस्था पनि मिलाएको थियो । र, एपमार्फत एक व्यक्तिले आइडलका प्रतियोगीलाई पाँच भोटसम्म गर्न सक्ने सीमा निर्धारणसमेत गरेको थियो ।
यति मात्र होइन, टेलिभिजन रियालिटी सो ‘द डान्स योद्धा : ब्याटल अफ मुभ्स’का शुभम् भुजेलले अन्य सोहरू भोटिङका कारण निकै विवादित बनेकाले आफूहरूले भोटिङ सिस्टम नै नराखेको बताएका थिए । विवादरहित सो बनाउनुका साथै प्रतिभाले जितोस् भन्ने आफूहरूको उद्देश्य रहेको आयोजक संस्थाको दाबी थियो । साथै निष्पक्षताको लागि यो सोका निर्णायकले दिने सम्पूर्ण अंक डिजिटल बोर्डमा सार्वजनिक गरिने र सोको मापदण्डविपरीत अत्यधिक र न्यून अंक दिने निर्णायकलाई लाइभ सोमै स्पष्टीकरण सोधिनेसम्म आयोजकको भनाइ थियो ।
के भन्छन्, निर्देशक ?
भोटिङ सिस्टम विश्वभर रियालिटी सोको फम्र्याट नै भएको बताउँछन्, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी । ‘विश्वभरमा नै रियालिटी सोको विजेता तपाई आफैँ छान्नुहोस् भन्ने नै हो,’ उनी भन्छन्, ‘त्यही भएर सर्वसाधारणलाई भोटिङको अधिकार दिएका हुन्छौँ ।’ तर, केही रियालिटी सो को भोटिङ लिमिट गरिएको उनी बताउँछन् ।
‘सबै रियालिटी सोको भोटिङ लिमिट हुँदैन,’ कमेडी च्याम्पियनको भोटिङ सिस्टमको उदाहरण दिँदै उनी भन्छन्, ‘हाम्रोमा एकजनाले तीनवटासम्म फ्रि–भोट गर्न पाउने प्रावधान राखेका थियौँ । फ्रि–भोटबाहेक आफ्नो मानिस जिताउन चाहनेलाई पे भोटिङ पनि राखेका थियौँ ।’ तर, नेपालमा फ्रि–भोटिङभन्दा पनि पे भोटिङ बढी प्रचलनमा रहेको उनले स्वीकार गरे ।
‘सबैले सोहरूले फ्रि–भोटिङ सिस्टम राखेका हुँदैनन्,’ निर्देशक भण्डारी भन्छन्, ‘सबै सोहरूको आ–आफ्नै फम्र्याट हुन्छन् । हाम्रो सोमा पैसावालाले मात्र सो जित्ने चान्स थिएन । भोटिङका कारण प्रतिभा भएका मानिस नबाहिरियून् भनेरै हामीले वाइल्डकार्ड इन्ट्री, पर्फमर अफ द राउड राखेका थियौँ । यसबाट पनि चारजना प्रतियोगी अरू राउडमा प्रवेश गर्नुभएको थियो ।’
तर, अहिले पनि राम्रोलाई भन्दा हाम्रोलाई जति नै खर्च गरेर भए पनि जिताउने ट्रेण्ड रहेको स्वीकार गर्छन्, निर्देशक भण्डारी । उनका अनुसार जुनसुकै रियालिटी सोमा पनि भोटिङ सिस्टम आवश्यक रहेको छ । ‘रियालिटी सोमा भोटिङ सिस्टम अत्यन्तै जरुरी छ,’ निर्देशक भण्डारी भन्छन्, ‘रियालिटी सोमा हामीले भोटिङ राखेनौँ र हाम्रो मानिसलाई हामी जिताऔँ भनेर दर्शकलाई जोडिने माध्यम बनाएनौँ भने सोलाई नै असर पर्छ ।
हामीभन्दा अग्रजहरूले पनि दर्शकलाई जोडिने माध्यम नै भोटिङ हो भनेर सिकाउनुहुन्छ । त्यसकारण एउटा चर्चा, मेरो मान्छेलाई म जिताउँछु भन्ने इमोसनका लागि पनि भोटिङ अत्यन्तै जरुरी हुन्छ ।’ तर, नेपालमा पे भोटिङको मिसयुज भइरहेको छ । कतिपय रियालिटी सोले फिनालेमा फ्रि–भोटिङ सिस्टम नै हटाएको हुन्छन् । त्यसलाई व्यवस्थित गर्न आवश्यक रहेको पनि उनी बताउँछन् । ‘यस्ता विकृतिलाई हटाउँदै लैजानुपर्छ,’ उनी भन्छन्, ‘एसएमएसबाट मात्र होइन, डिजिटल माध्यमबाट भोट गर्दा बैंकले लिमिट गरेका हुन्छ । तर, यहाँ २०–३० जना मानिस राखेर भोट गर्ने सिस्टम छ । त्यसले गर्दा कतिपय अवस्थामा राम्रोले भन्दा पनि हाम्रोले जितेका उदाहरण छन् ।’
विदेशी रियालिटी सोमा पनि हुन्छ भोटिङ, तर व्यवस्थित !
विदेशमा रियालिटी सोहरू एकदमै लोकप्रिय छन् । उनीहरूले पनि विजेता घोषणा भोटिङ र जजको मतका आधारमा गर्छन् । तर, भोटिङका लागि लिमिट तोकेका हुन्छन् । उदाहरणको रूपमा हामी ‘इन्डियन आइडल’लाई लिन सकिन्छ । इन्डियन आइडलको १४औँ सिजन तीन महिनाअघि मात्रै सम्पन्न भएको थियो । सिजन फाइनलको लागि विजेता दर्शकहरूले दिएका भोट र जजहरूको स्कोरका आधारमा घोषणा गरिएको थियो । फाइनलमा सबैभन्दा बढी मत प्राप्त गर्ने प्रतियोगी विजयी भएका थिए । भोटिङका लागि ५२ घण्टा तोकिएको थियो । जसमा एउटा नम्बरबाट एक प्रतियोगीलाई पाँच सय भोटसम्म गर्न सकिने प्रावधान थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।