पेट दुख्यो, टाउको दुख्यो, ज्वरो आयो, कान दुख्यो मात्र होइन, सामान्य रुघाखोकी लाग्नेबित्तिकै हामीमध्ये धेरैजना फार्मेसी धाउँछौँ । समस्याको मूल कारण के हो ? टाउको दुखाइको पछाडिको कारण हो ? त्योबारेमा ठोस पहिचान नगरी औषधि पसलेले हचुवाका भरमा दिएका औषधि हामी जथाभावी खान्छौँ ।
औषधि पसलेले अनुमानका भरमा दिएका औषधिले केही समयलाई दुखाइ त नियन्त्रण होला । तर, कतिसम्म निको भयो, त्यो भने पक्का हुँदैन । आफूखुसी औषधि खाँदा उपचारका लागि अस्पताल जानुपरेन, चिकित्सकको सल्लाह लिनुपरेन । समय पनि बच्यो, चिकित्सकले लिने सेवाशुल्क पनि जोगियो । सरसर्ती हेर्दा कति सजिलो भएको आभास हुन्छ ।
तर, त्यसरी विनापरीक्षण औषधि खाँदा हामीले के भुलिरहेका हुन्छौँ भने हामीले औषधि होइन, विष खाइरहेका छौँ । किनभने, कुनै पनि औषधिले राम्रो काम गर्नका लागि चिकित्सकको सल्लाह र स्वास्थ्यको रिपोर्टअनुसार मात्रा पुर्याएर औषधि खानुपर्ने हुन्छ । मात्रा पुर्याएर खाएको औषधिले मात्रै शरीरमा रोग लगाउने कीटाणु र त्यसबाट सिर्जित समस्यालाई पूर्णतः निर्मूल पार्न सक्छ ।
मात्रा नपुर्याई सेवन गरिएको औषधिले पनि हामीलाई निको पारेको अनुभूति त हुन्छ । तर, त्यसले रोगलाई र रोगका कारक कीटाणुलाई पूर्णतः निर्मूल भने पारिसकेको हुँदैन । अन्ततः पुनः रोग बल्झिने सम्भावना धेरै हुन्छ । यसरी जथाभावी औषधिको सेवन गर्दा एन्टिबायोटिक प्रभावविहीन बनिरहेको चिकित्सक औँल्याउँछन् ।
हिजोआज मानव स्वास्थ्यमा औषधि अर्थात् एन्टिबायोटिकले काम गर्न छाडिसकेको औँल्याउँछन्, डा. सतीश देव । उनका अनुसार एन्टिबायोटिक स्वास्थ्य परीक्षण गरेर कुन रोग लागेको हो, पत्ता लगाएर मात्रै खानका लागि बनाइएको हो । इन्फेक्सन विभिन्न कारणले हुन्छ । ब्याक्टेरियाबाट हुने इन्फेक्सनका लागि मात्रै एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ । तर, यस्तो भएको पाइँदैन । पछिल्लो समय एन्टिबायोटिक ब्याक्टेरियाभन्दा पनि सामान्य रोगका लागि पनि चिकित्सकको सल्लाहविना नै खाने गरेको पाइन्छ । जसले भविष्यमा घातक रूप लिने उनको भनाइ छ ।
के हो एन्टिबायोटिक ?
मानिस वा पशुपन्छीको शरीरमा ब्याक्टेरियाको वृद्धि र विकास रोक्न वा ब्याक्टेरियालाई मारेर संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । प्रतिजैविक प्रतिरोध भनेको जीवाणुले एन्टिबायोटिकविरुद्ध देखाउने प्रतिरोधात्मक क्षमता हो । संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगस (ढुसी) तथा परजीविहरूले औषधिप्रति प्रतिक्रिया नदेखाउनु भनेको ती जीवमा कुनै औषधिविरुद्ध एन्टिमाइक्रोबियल रेसिसटेन्स (एएमआर)को विकास भयो भन्ने हो । जब संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगस (ढुसी) तथा परजीविहरूले औषधिहरुप्रति प्रतिक्रिया देखाउन बन्द गर्छन् तब एन्टिमाइक्रोबियल रेसिस्टेन्सको विकास हुन्छ ।
‘भाइरल इन्फेक्सन’ अर्थात् सामान्य रुघाखोकी ३ देखि ५ दिनमा आफैँ निको हुन्छ । तर नेपालमा यसमा एन्टिबायोटिक खाने चलन छ, जसको कुनै पनि भूमिका हुँदैन,’ डा. सतीश भन्छन्, ‘यस्तै चिकित्सकले पनि बिरामीलाई अनावश्यक एन्टिबायोटिक प्रयोग गर्न अनुमति दिनु मानव स्वास्थ्यमा एन्टिबायोटिकको असर कम देखिने अर्काे कारण हो । पछिल्लो समय एन्टिबायोटिकको गलत प्रयोग मानव जीवनमा भन्दा पनि पशु र कृषिमा धेरै देखिएको छ ।’ अबको दिनमा एन्टिबायोटिकले एकदमै डरलाग्दो अवस्था निम्त्याउने डा. सतीशको बुझाइ छ ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) विश्वभर नै गम्भीर स्वास्थ्य समस्या बन्दै गएको सरोकारवालाले बारम्बार बताइरेहका छन् । एन्टिबायोटिक्स औषधिहरूको अधिक र जथाभावी प्रयोगले मानिसमा मात्र नभई जनावर तथा कृषिमा पनि प्रभाव पारिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०५० सम्म वार्षिक एक करोड मानिस यसको सिकार हुने अनुमान गरेको छ ।
डब्लुएचओका अनुसार जब विभिन्नखाले सूक्ष्म जीवाणुहरूको संक्रमण रोकथामका लागि प्रयोग गरिने औषधिविरुद्ध नै जीवाणुहरूले प्रतिक्रिया जनाउन थाल्दछन्, तब त्यस्ता जीवाणुहरूमा औषधिप्रतिरोधी क्षमता विकास भएको भनेर बुझिन्छ । औषधिप्रति जीवाणुहरुको प्रतिरोधी क्षमता बढ्दै जाँदा उपचार खर्च त बढ्छ नै, लामो समयसम्म अस्पताल बस्नुपर्ने बाध्यतासँगै मृत्युदर पनि बढ्ने चिकित्सकहरूको भनाइ छ ।
खासगरी जीवाणुहरूमा एमएमआर विकास हुने धेरै कारणमध्ये अहिले देखिएको प्रमुख कारण एन्टिबायोटिक्स औषधिको दुरुपयोग र अत्यधिक प्रयोग नै हो । जसले गर्दा त सामान्यतया कुनै संक्रमणका लागि प्रयोग गरिँदै आएको औषधिले नै ती जीवाणुविरुद्ध काम गर्न नसक्ने अवस्था सिर्जना हुँदै गएको गएको चिकित्सक बताउँछन् ।
एक अध्ययनअनुसार २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहविना नै औषधि किन्ने गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्यांकन’ शीर्षकको अध्ययनमा २८ प्रतिशत भर्ना नगरिएका बिरामीले आफूखुसी औषधि किन्ने गरेको पाइएको हो ।
चिकित्सकको सल्लाहविना किन्छन् औषधि : अध्ययन
त्यसैगरी अध्ययनमा २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बीचमै छाड्ने गरेको देखिएको छ । अध्ययनले ४० प्रतिशत फार्मेसी सञ्चालकले मात्र सञ्चालन अनुमति लिएको देखिएको उल्लेख गरेको छ भने ४८ प्रतिशतले फार्मेसी दर्ता गर्न अरूसँग लाइसेन्स भाडामा लिएको देखिएको छ । त्यसैगरी ४ प्रतिशतले दर्तै नगरी फार्मेसी सञ्चालन गरेको भेटिएको अध्ययनले जनाएको छ ।
चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहविना बिरामी आफैँले एन्टिबायोटिक औषधि कहिले पनि सेवन गर्न नहुने र सन्चो महसुस भए पनि एन्टिबायोटिक औषधिको निर्धारित मात्रा अनिवार्य रूपमा पूरा गनुपर्ने विज्ञ बताउँछन् । भाइरसबाट हुने रुघाखोकीलगायत अन्य साधारण रोगमा एन्टिबायोटिकको प्रयोग नगर्न विज्ञहरूको सुझाब छ ।
औषधिको राम्ररी सेवन नगरेमा रोगका लक्षणहरू नदेखिन सक्छन् । तर, रोग निको नभई पुनः बल्झिन सक्छ र अरुलाई रोग सर्न पनि सक्छ । एन्टिबायोटिकको पूरा मात्रा प्रयोग नगरेमा ब्याक्टेरियाले एन्टिबायोटिकविरुद्ध लड्ने क्षमता (प्रतिरोध) को विकास गर्दछ र अर्कोपटक सो एन्टिबायोटिकको प्रयोग गर्दा रोग निको नहुन सक्ने सम्भावन धेरै हुने डा. सतीशको भनाइ छ ।
कसरी गर्ने एन्टिबायोटिकको सही प्रयोग ?
–चिकित्सकको सल्लाहबमोजिम एन्टिबायोटिक खाने,
–चिकित्सकले तोकेको समयसम्म एन्टिबायोटिक अनिवार्य खाने,
–आफैँ जथाभावी एन्टिबायोटिक किनेर नखाने,
–अरूले खाएको औषधिले आफूलाई पनि निको हुन्छ कि भनेर नखाने,
–जथाभावी एन्टिबायोटिक बिक्रीमा रोक लगाउने,
–औषधि पसलले डाक्टरको प्रेस्क्रिप्सनविना एन्टिबायोटिक नदिने,
– बिरामीले स्वास्थ्य परीक्षण नै नगरी आफैँ औषधि नखाने,
– बिरामीले चिकित्सकलाई एन्टिबायोटिक सिफारिस गर्न कर नगर्ने
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।