युरो कप र कोपा अमेरिका २०२४ को फुटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति र बुधबार बिहान सम्पन्न खेलसँगै यी दुई प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
यसपटक युरो कपको क्वाटरफाइनलमा स्पेन, जर्मनी, पोर्चुगल, फ्रान्स, इंग्ल्याण्ड, स्विट्जरल्यान्ड, नेदरल्याण्ड्स र टर्कीले स्थान बनाए । गत संस्करण अर्थात् २०२० को युरो कपको क्वाटरफाइनलमा स्पेन, इंग्ल्याण्ड, स्विट्जरल्यान्ड, बेल्जियम, इटाली, चेक रिपब्लिक, डेनमार्क र युक्रेनले प्रतिस्पर्धा गरेका थिए । यसपटक तीमध्ये युक्रेन समूह चरणबाट तथा चेक रिपब्लिक, डेनमार्क, बेल्जियम र इटाली नकआउट चरणबाटै बाहिरिए ।
अब १७औँ संस्करणको युरो कपमा पहिलो क्वाटरफाइनल खेलमा उपाधि दाबेदार मानिएका जर्मनी र स्पेन भिड्ने छन् । यी दुई टिमबीचको खेल ५ जुलाईमा नेपाली समयअनुसार राति ९ः४५ देखि सुरु हुनेछ ।
यस्तै, दोस्रो क्वाटरफाइनल खेलमा पोर्चुगल र फ्रान्स भिड्ने तालिका छ । यी दुई टोलीबीचको प्रतिस्पर्धा ५ जुलाईको राति १२ः४५ देखि सुरु हुनेछ । यस्तै, क्वाटरफाइनलको अर्को खेलमा इंग्ल्याण्ड र स्विट्जरल्यान्ड खेल्ने छन् । यी दुई टिमबीचको खेल ६ जुलाईको राति ९ः४५ देखि सुरु हुनेछ ।
यस्तै, युरो कप २०२४ को अन्तिम क्वाटरफाइनल खेलमा टर्कीले नेदरल्याण्ड्सको सामना गर्ने तालिका छ । यी दुई टोलीबीचको खेल ६ जुलाईको मध्यराति १२ः४५ देखि सुरु हुनेछ ।
उता कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा यसपालि अर्जेन्टिना, इक्वेडर, क्यानडा, भेनेजुएला, कोलोम्बिया, पानामा, ब्राजिल र उरुग्वे प्रतिस्पर्धा गर्नेछन् । गत संस्करणको कोपाको क्वाटरफाइनलमा अर्जेन्टिना, इक्वेडर, उरुग्वे, कोलोम्बिया, ब्राजिल, चिली, पाराग्वे र पेरु रहेका थिए । यसपटक चिली, पाराग्वे र पेरुको स्थान क्यानडा, भेनेजुएला र पानामाले लिए ।
कोपा अमेरिका २०२४ मा भने चिली, पेरु र पाराग्वे समूह चरणबाटै बाहिरिए । योसँगै अब जारी संस्करणको पहिलो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र इक्वेडर भिड्ने छन् ।
यी दुई टिमबीचको खेल ५ जुलाईको बिहान ६ः४५ देखि सुरु हुनेछ । गत संस्करणको कोपामा पनि यी दुई टिमले क्वाटरफाइनलमा एकअर्काको सामना गरेका थिए, जहाँ अर्जेन्टिना ३–० ले विजयी भयो ।
यसपटकको दोस्रो क्वाटरफाइनल खेलमा भेनेजुएला र क्यानडा खेल्ने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा ६ जुलाईको बिहान ६ः४५ देखि सुरु हुनेछ । यस्तै, तेस्रो क्वाटरफाइनल खेलमा पानामाले कोलोम्बियाको सामना गर्नेछ ।
यी दुई टिमबीचको खेल ७ जुलाईको बिहान ३ः४५ देखि सुरु हुने तालिका छ । क्वाटरफाइनलको अन्तिम खेलमा गत उपविजेता ब्राजिल र उरुग्वे भिड्ने छन् ।
यी दुई टोलीबीचको भिडन्त ७ जुलाईको बिहान ६ः४५ देखि सुरु हुनेछ । दुवै प्रतियोगिताको सेमिफाइनल १० र ११ जुलाई र फाइनल खेल १५ जुलाईमा हुने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।