पछिल्लो समय नेपालमा सुन तस्करी हुनु सामान्यजस्तै बन्न थालेको छ । एक दशकयताको तथ्यांकले पनि यो कुराको पुष्टि गर्छ । एउटै किसिमको अपराध बारम्बार भइरहने र अझ ठूलो परिमाणमा सुन तस्करीको घटनाले सरकार तस्करी नियन्त्रणमा पूर्ण असफल भएको देखिन्छ ।
चीन, हङकङ, दुबई आदिबाट अवैध बाटोबाट सुन ल्याउने र भारततर्फ तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । नेपाल सुन तस्करीको ‘ट्रान्जिट’ बन्नुको धेरै कारण छन् । त्यसमध्येको एउटा हो- कर वा शुल्क ।
सुन तस्करीको प्रमुख कारण विभिन्न मुलुकबीचको कर र आयात शुल्कको भिन्नता रहेको विज्ञले बताउँदै आएका छन् । केही देशले आफ्नो (घरेलु) सुन उद्योगलाई जोगाउन वा यसको प्रवाहलाई नियमन गर्न सुनमा उच्च कर वा आयात शुल्क लगाउँछन् । यसले मूल्यमा असमानता निम्त्याउँछ र अवैधरूपमा सुन भित्र्याएर नाफा कमाउन तस्कर सक्रिय हुन्छन् ।
विज्ञले बारम्बार नेपालमा सुन तस्करी हुनुको एउटा कारण करलाई औंल्याए पनि सरकारले बर्सेनि कर वृद्धि गर्दै आएको छ । फेरि कर वृद्धि हुने भएपछि सुन तस्करी बढ्ने आकलन गरिएको छ ।
बर्सेनि किन बढ्छ सुनमा कर ?
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत सुनमा लाग्दै आएको भन्सार दरमा वृद्धि गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा भन्सार दरलाई १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पुर्याउने घोषणा गरेका थिए । त्यसको असरले सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । बजेटमार्फत भन्सार शुल्क बढेका कारण सुनको मूल्य उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको र थप बजेटमार्फत भन्सार शुल्क बढ्दा सुनको मूल्य उकालो लागेको हो । यसअघि प्रतितोला सुन आयात गर्दा २२ हजार रुपैयाँ भन्सार शुल्क तिर्नु परेकोमा अब बढेर २८ हजार पुगेको छ । गएको वर्ष बजेट घोषणाक्रममा सरकारले सुन आयातमा भन्सार शुल्क ५ प्रतिशतले बढाएको थियो ।
सुन आयातमा लाग्दै आएको १० प्रतिशत भन्सारलाई १५ प्रतिशत बनाइएपछि तोलामै ५ हजार महँगो हुन गएको थियो । यस वर्षको बजेटमा फेरि भन्सारदर १५ बाट बढाएर २० प्रतिशत पुर्याइएको छ । बढेको भन्सार दरका कारण तोलामा थप ६ हजार रुपैयाँ महँगो भएको महासंघको भनाइ छ ।
समग्रमा भन्सारदरकै कारण नेपालमा सुनको भाउ दुई वर्षमै औसत ११ हजार रुपैयाँ महँगो पर्न गएको छ । अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य धेरै नै महँगो हुन गएको हो । सरकारले कर वृद्धि गरेसँगै व्यवसायी आन्दोलितसमेत भएका छन् । यस्तै, उनीहरूले सुन आयातमा लागेको ५ प्रतिशत भन्सार वृद्धि गर्ने निर्णय खारेज गर्न माग पनि गर्दै आएका छन् ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल हस्तकला महासंघले अर्थमन्त्री वर्षमान पुनलाई सुन आयातमा वृद्धि गरिएको निर्णय खारेज गर्न माग गर्दै ज्ञापन पत्रसमेत बुझाइसकेका छन् ।
व्यवसायीले अर्थमन्त्री पुनलाई ध्यानाकर्षणपत्र बुझाउँदै सुन आयात भन्सारदर वृद्धि हुँदा छिमेकी मुलुक भारत र खुल्ला सिमानाका कारण अवैध कारोबारीसमेत बढेर जाँदा र भारतीय सिमाना नजिकका नेपाली व्यवसायीलाई त्यसको असर पर्ने मागपत्रमा भनेको छ ।
व्यवसायीले नेपालमा कोटा प्रणालीमा आधारित रही सुन आयात भइरहेको नेपालको विद्यमान अवस्थामा राज्यले भन्सारदर वृद्धि गर्दा सुन आयातमा सरकारले प्राप्त गर्दै राजश्वसमेत घटेर जाने विज्ञप्तिमा उल्लेख छ ।
भारतबाट भित्रिन थाल्यो तस्करीको सुन !
यसअघि तस्करले चीन, हङकङ, यूएईलगायत देशबाट तस्करी गरिएको सुन नेपाल हुँदै भारत पुर्याउने गरेका थिए । अब भने व्यवसायीले भारतबाटै अवैधरूपमा सुन नेपाल भित्र्याउन थालेका हुन् । सरकारले करमा वृद्धि गरेसँगै भारतबाटै अवैधरूपमा सुन भित्रिन थालेको बताउँछन्, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वउपाध्यक्ष मोहनकाजी शाक्य ।
उनका अनुसार बजेटको व्यवस्थापछि भारतभन्दा नेपालमा सुनको भाउ प्रतितोला ८ हजार रुपैयाँभन्दा बढी महँगो हुन पुगेको छ । बजेटअघि नेपालभन्दा भारतमा प्रतितोला १ हजार देखि १५ सय रुपैयाँ महँगो थियो । त्यसैले नेपालबाट भारतमा तस्कर हुन्थ्यो । अहिले भने खुला सिमानाका कारण भारतबाट भन्सार छली नेपालमा सुन भित्रिन थालेको उनको भनाइ छ ।
नेपाल र भारतमा सुनको भन्सार दरमा २ प्रतिशत फरक छ । यसबाहेक बैंकहरूले सुन आयात गर्दा सेवा शुल्क २ प्रतिशत बुझाउनुपर्छ । त्यस्तै, एक प्रतिशत नाफा राख्छन् । यो सबै जोड्दा भारतभन्दा नेपालमा सुनको मूल्य तोलामा ८ हजार रुपैयाँभन्दा बढी महँगो पर्न गएको हो ।
‘बजेटको व्यवस्थापछि भारतबाट अवैधरूपमा सुन भित्रिन थालेको छ,’ शाक्यले भने, ‘भन्सार दर बढाएर सरकारले अवैध आयातको बाटो खोलिदिएको हो । बजेटअघि भारतमा भन्दा नेपालमा सुन सस्तो थियो । त्यसैले व्यवसायीले भारतबाट अवैधरूपमा ल्याउन सम्भव थिएन । बजेटपछि नेपालमा भाउ बढेकाले भारतबाट अवैधरूपमा भित्र्याउन थालेका छन् ।’
यसरी सरकारले नै सुनको अवैध आयातको वातावरण बनाएको उनी बताउँछन् । सरकारले तस्करलाई नै बढी नाफा दिलाउन भन्सार दर बढाएको त होइन भन्ने शंका पनि उब्जिएको महासंघका पूर्वउपाध्यक्ष शाक्य बताउँछन् । ‘अवैध कारोबारमा जति धेरै लाभ हुन्छ, त्यस्ता काममा त्यति नै बढी सोच, सक्रियता, मिलेमतो तथा सेटिङ बढ्ने जोखिम रहेनछ । सरकारले व्यवसायीलाई भन्दा तस्करलाई नै प्रश्रय दिएको देखियो,’ उनले भने ।
जब वैधानिक सुन र अवैधानिक माध्यमबाट आएको सुनको मूल्यअन्तर धेरै हुँदैन तब थोरै नाफाका लागि कसैले जोखिम लिँदैन । तर, मूल्यअन्तर बढ्नेबित्तिकै बढी नाफा लिन तस्कर लागि पर्छन् । यो कुरा सरकारले समयमै बुझ्नुपर्ने शाक्यको तर्क छ ।
सुस्तायो सुनको कारोबार !
महासंघका पूर्वउपाध्यक्ष शाक्यका अनुसार पछिल्लो समय सुनको कारोबार सुस्ताएको छ । कर वृद्धिसँगै अफ सिजन भएका कारण सुनको कारोबारमा कमी आएको उनले बताए । सुन किन्न चाहनेहरूले पनि नेपालभन्दा भारतमा सस्तो भएकाले उपभोक्ताका साथै व्यवसायीले समेत उतैबाट सुन ल्याउनेक्रम बढेको शाक्य बताउँछन् ।
‘भारतबाट लुकाइछिपाई नेपालमा सुन ल्याउन कुनै कठिनाइ छैन,’ उनले भने, ‘दुई देशबीच खुला सीमा छ । त्यही कारण नेपालमा महँगो भएकाले अहिले सीमा क्षेत्रका उपभोक्ताका साथै व्यवसायीले पनि अवैधरूपमा भारतबाट सुन ल्याएर बेचिरहेका छन् ।’
सुनको बिक्री ठप्प नभए पनि कारोबारमा धेरै कमी आएको शाक्यको तर्क छ । सरकारको यस्तै नीति हो भने सबै सुन व्यवसायी नै पलायन हुने उनी बताउँछन् । देशभर २० हजार बढी सुनचाँदी व्यवसायीसँगै २ लाख बढीले प्रत्यक्ष/अप्रत्यक्षरूपमा रोजगारी पाएको भन्दै उनले सरकारले तत्काल कर फिर्ताको निर्णय लिन माग पनि गरे ।
कसरी मौलाउँछन् तस्कर ?
हुन त कर कै कारण मात्र सुन तस्करी मौलाएको भने होइन । सुन तस्करी विभिन्न कारणले हुने गर्दछ । तस्करीका आफ्नै कारण हुन्छन् । त्यसमध्येको एउटा प्रमुख कारण ‘कर’ भएको बताउँछन्, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल । नेपालमा सुन तस्करी अहिले मात्र होइन, धेरै पहिलेदेखि हुँदै आएको छ ।
सरकारले कर वृद्धि गर्दा अझ सुन तस्कर मौलाउने तर्क गर्छन्, उनी । ‘भन्सार बढेर सुनको मूल्य महँगिदा अवैध कारोबार फस्टाउनु स्वाभाविक हो,’ उनी भन्छन्, ‘तस्करहरूले कर मात्रै छल्ने हो भने धेरै रकम नाफा पाउँछन् । त्यसैले पनि उनीहरू जति कर बढ्दै गयो उति कर छल्ने आइडिया निकाल्न । अवैधानिक सुनमा धेरै नै नाफा हुन जान्छ, त्यसपछि तस्करी बढ्ने र कतिपय व्यापारीले पनि सोही सुन प्रयोग गर्न सक्ने जोखिम हुन्छ ।’
जब वैधानिक सुनको मूल्य धेरै हुन्छ, त्यसपछि तस्करले धेरै नाफा लिन सक्छन् । अवैध सुन कारोबार फस्टाउँदै गए भन्सार दर बढाइए पनि राजस्व गुम्दै जाने जोखिमसमेत बढ्ने पूर्वडीआइजी मल्ल बताउँछन् । ‘राज्यले राजस्व केही बढाउने उद्देश्यले सुनमा भन्सार दर बढाएको होला,’ उनी भन्छन्, ‘तर तस्कर नियन्त्रण नभकन भन्सार बढाउँदा राजस्व झन् गुम्ने जोखिम हुन्छ ।’
नेपालमा सुन तस्करी हुनुका कारण कर र शुल्क सँगै धेरै आर्थिक लाभ लिने उद्देश्य, बजारमा अनियन्त्रित माग, नियम र प्रक्रियाको झन्झट, राजनीतिक र आर्थिक अस्थिरता, कमजोर सीमा नियन्त्रण, भ्रष्टाचार, कमजोर अनुसन्धान पद्धतिलगायत कारणले तस्करी मौलाएको उनको तर्क छ ।
कति हुन्छ सुन आयात ?
भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र २ सय केजी सुन आयात भएको छ । २ अर्ब ३७ लाख रुपैयाँ बराबरको २ सय केजी सुन आयात भएको हो । चालू आवको ११ महिनामा भने २ हजार ६५१ केजी सुन आयात भएको छ । २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँ बराबरको सुन आयात गरिएको विभागले जनाएको छ, जसबाट सरकारले तीन अर्ब ६४ करोड ८३ लाख ७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
गत वर्षको तुलनामा यस वर्ष सुनको आयात घटेको छ । गत आर्थिक वर्षको ११ महिनामा २ हजार ९१६ केजी सुन आयात भएको थियो । तर, यस वर्ष नौ प्रतिशतले घटेर २ हजार ६५१ केजीमा सीमित भएको छ ।
गत वर्ष कुल ४३ अर्ब ८९ करोड ९८ लाखको सुन आयात भएको थियो । विभिन्न वाणिज्य बैङ्कले सुनको आयात गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सुनको कोटा निर्धारण गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।