गत बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ । पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू जोड्ने सडक र राजमार्गहरू अवरुद्ध भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय अत्तरियाका अनुसार बझाङको तमैलमा पहिरो गएको छ । जयपृथ्वी राजमार्गको तमैलमा पहिरोका कारण अवरुद्ध भएको हो । दार्चुलाको शैलेशिखर नगरपालिका–६ पर्नेवासमा पहिरो गएको छ । खोड्पे–दार्चुला मुख्य सडक पहिरोले अवरुद्ध पारेको हो ।
बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द भएको छ । पहिरोका कारण बैतडीको सिँगास गाउँपालिका–९ बाजपानीमा पनि पहिरो गएको छ । यता, डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ रुवाखोलामा पहिरो गएको छ । रुवाखोलामा पहिरो गएपछि राजमार्ग बन्द भएको हो ।
डडेल्धुराको अनारखोलीमा रुख ढलेका छन् । रुख ढलेकाले जोगबुढा–बुडर सडकको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ । उता, अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरमा पहिरोले सडक अवरुद्ध भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।