नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भीर आरोप लगाएका छन् । आफ्ना पूर्वसहकर्मीसमेत रहेका प्रचण्डमाथि उनले प्रचण्डले कुकुरकै टाउको हाक्काहाक्की देखाएर कुकुरकै मासु बेच्ने कुचेष्टा गरिरहेको बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनयुद्ध सुरु हुनुअघि हामी तत्कालीन क्रान्तिकारी माओवादीहरू लेनिनलाई उद्धृत गर्दै भन्दथ्यौं– ‘पुँजीवादी संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो।’ तर अहिले अपूरो क्रान्तिपछि आफैँले संविधानसभामार्फत बनाएको आंशिक समानुपातिक समावेशितासहितको प्रतिनिधिसभामा जनयुद्धका ‘सर्वोच्च कमाण्डर’ प्रचण्डले कुकुरकै टाउको हाक्काहाक्की देखाएर कुकुरकै मासु बेच्ने कुचेष्टा गरिरहेको देख्दा लेनिनले के भन्दा हुन् ?
यसअघि उनले गत नौ वर्षदेखि निरन्तर सत्तामा बस्दा पनि प्रचण्डले शान्तिप्रक्रिया टुंग्याउन कुनै सार्थक पहल नगरेको, संघीयताको कार्यान्वयनमा आवश्यक कानुनी र प्रशासनिक दायित्व निभाउन नसकेको, संविधानसभाको वेलादेखि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिकाबारे मुखमा पट्टी बाँधेर बसेको, राष्ट्रिय स्वाधीनताको संवर्द्धननिम्ति अत्यावश्यक एपिजी प्रतिवेदनवारे मुख खोल्न नसकेको, ठूला भ्रष्टाचारका काण्ड कुनैलाई सार्थक निष्कर्षमा पुर्याउन नसकेको, संरचनात्मक संकटमा फसेको अर्थतन्त्र उकास्न र लाखौँ युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्नेबारे माखो मार्न नसकेको भन्दै आरोप लगाएका थिए ।
उनले ‘२७५ जनाको संसदमा ३० जना (अरू २ जना त नेसपाबाट निर्वाचित हुन्) सांसदको ‘जादूयी नम्बर’ को फुइँ दिएर सबै दललाई पालैपालो ठग्ने, जनयुद्धमा अतुलनीय योगदान गर्ने सहिद, बेपत्ता, घाइते योद्धाहरूलाई पन्छाएर आफ्नै परिवारका सदस्यहरूको नाउॅमा राज्यको तर्फबाट स्मारक बनाउन नलजाउने’ भन्दै प्रचण्डमाथि खनिएका थिए ।
उनको यस्तो लज्जास्पद हर्कतबाट वाक्कदिक्क भएको मौका छोपेर पुराना संसदीय खेलाडीहरूले नयाँ गठबन्धन गरेर ‘मियाँकी जुती मियाँके शरपर’ भनेझैँ बदला लिँदा प्रचण्डले रोइलो गर्नुपर्ने कारण नरहेको बताए थिए । उनले भनेका थिए, ‘कुनै वेला २७५ मध्ये २६८ सांसदको साथ पाएको व्यक्ति अहिले ६१ मा झर्दा पनि लाजले मुख छोपेर बाटो लाग्नु सट्टा संसद फेस गर्ने ध्वाँस ? के गर्नेलाई भन्दा देख्नेलाई लाज !’
उनले थप भनेका थिए, ‘अब फेरि यी कानले ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्तिहरूद्वारा क्रान्तिकारीहरूको घेराबन्दी’, ‘जनयुद्धका उपलब्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सर्वोच्च कमाण्डरका वरिपरि सबै गोलबन्द हुनुपर्ने’ आदि इत्यादि लफ्फाजी र जनयुद्धमा त्याग र बलिदान गरेकाहरूको भावनात्मक दोहनका राग सुन्नुपर्ने ? हे मार्क्स–लेनिन–माओ तपाईंहरूले यस्तै उत्तराधिकारी खोजेको हो ?
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।