सिरहाका ४७ वर्षीय रामपृत सदा र ४३ वर्षीया बौकी कुमारी सदा पतिपत्नी हुन् । उनीहरू एमले नेता एवं पूर्वकानूनमन्त्री तथा वहालवाला सांसद लीलानाथ श्रेष्ठको बिँडी कारखानामा काम गर्छन् । उनीहरूले त्यहाँ काम गर्न थालेको १२ वर्ष पूरा भएको छ ।
पूर्वमन्त्री श्रेष्ठको बिँडी कारखानामा १२ वर्ष लगातार काम गर्ने यी दुई दलित मुसहर मजदुर दम्पतीको दैनिक ज्याला सुन्दा उदेक लाग्छ । रामपृतले दैनिक २ सय ५० ज्याला पाउँछन् र बौकी कुमारीले दैनिक २ सय मात्र ।
बौकीको नामको नेपाली अर्थ ‘लाटी’हुन्छ । बोली नफुटेकोले नाम नै बौकी (लाटी) राखिदिए । नागरिकता प्रमाणपत्रमा पनि सोही नाम उल्लेख छ । उनी बोल्छिन्, तर उनको बोली बुझिँदैन । रामपृत सदा पनि कान कम सुन्छन् । बोली अड्किन्छ र लर्बरिन्छ । धेरैपटक सोध्दा एक–दुई शब्द मात्र बोल्छन् ।
बौकीले बिँडी कारखानामा दैनिक सुर्ती कुट्ने र धुल्याउने काम गर्छिन् । घरको भाँडा माँझ्ने, सरसफाइ गर्ने बगैँचा गोडमेल गर्ने काम पनि गर्छिन् । रामपृतले बिँडी कारखानाका मजदुरहरू लाई चाहिने दाउरा चिर्न बञ्चरो चलाउँछन् । सुर्ती कुटछन् । उनीहरू बिहान ८ बजेदेखि साँझ ६–७ बजेसम्म काम गर्छन् । कठोर श्रम गराइन्छ, तर दुई ज्यामीले दिनभरि काम गरेको ज्याला जम्मा ४ सय ५० मात्र ।
रामपृत र बौकी त प्रतिनिधि पात्र मात्र हुन् । पूर्वमन्त्रीको ‘लीला बिँडी कारखाना’मा अझै पनि यस्ता दर्जनौँ मजदुर छन् जसलाई अत्यन्त न्यून ज्यालामा कठोर श्रम गराउनले गरेको मजदुरहरूको गुनासो छ । सरकारले एक जनाको दैनिक ज्याला नै ६ सय २० रुपैंयाँ तोकेको छ । सरकारी नियम अनुसार कारखानामा काम लगाएबापत रामपृत दम्पतीले दैनिक १२ सय ४० ज्याला पाउनुपर्ने हो । तर, मात्र ४ सय ५० दिइन्छ । दलित मुसहर दम्पतीले पूर्वमन्त्रीको कारखानामा दैनिक ७ सय ९० रुपैयाँको श्रमशोषण खेप्नुपरेको छ ।
यसरी शोषणमा परेका मजदुरहरू पूर्वमन्त्री श्रेष्ठको कारखानामा धेरै छन् ।
रजिया खातुन (उनले नाम खुलाउन नचाहेकोले नाम परिवर्तन) लीला छाप बिँडी कारखानामा दिनभरि बिँडी बनाउँछिन् । दिनभरिमा पाँचसय थान बिँडी मठारेपछि ज्याला पाउँछिन् मात्र एकसय । उनी भन्छिन्,‘बोल्न मिल्दैन । बोलेको थाहा पाए भने रोजगारीबाट निकालिदिन्छन् । दिनको एक सय रुपैयाँमा मजदुरी गरेको वर्षौं भयो । मजस्ता यहाँ सयौँ मजदुर छन्, जो दैनिक एक सय रुपैयाँमा काम गर्छन् ।
गोलबजार नगरपालिका–९ डण्डा टोलका श्यामसुन्दर महतो भन्छन्,‘लीलानाथ श्रेष्ठको घरमा मेरी आमाले पनि आठ वर्ष काम गरिन् । डेढ सयदेखि सय ज्याला दिइन्थ्यो । लीलानाथ श्रेष्ठ आफूलाई कम्युनिष्ट नेता भन्नुहुन्छ । तर, व्यवहारमा मजदुरलाई चर्को शोषण गर्नुहुन्छ । अहिलेको जमानामा खाना खुवाएर दैनिक ५–६ सय ज्याला दिनुपर्ने हो, तर दुईसय ज्यालामा मजदुर खटाइरहेका छन् ।’
महतो भन्छन्, ‘लीलानाथ श्रेष्ठको पैत्रिक सम्पत्ति रामपृत र बौकीजस्ता हजारौँ मुसहरको श्रम शोषण गरेर थुपारिएको हो । गणतन्त्रसहितको लोकतन्त्र आउँदासमेत दैनिक दुई सयमा बिँडी कारखानामा मजदुरी गराइन्छ । पञ्चायतकालमा के अवस्था थियो होला कल्पना गर्नुस् त ? उनले थपे, ‘सुर्तीको रागले हजारौं मजदुर फोक्सोका रोगी बनेका छन् ।’
पूर्वकानुनमन्त्री श्रेष्ठको जग्गाको कित्ताको आडैमा मुसहर दम्पतीसँग सम्पत्तिको नाममा एउटा सानो कच्ची झुप्रो छ । दलित मुसहर दम्पतीका दुई छोरी छन् । उनीहरूले छोरी पढाउन सकेनन् । रामपृत भन्छन्,‘दुई ज्यामी घोटिएर दैनिक चार सय ५० कमाएको पैसाले खानै पुग्दैन । कसरी पढाउने ?’
रामपृतकी जेठी छोरी सीता सदालाई पनि श्रेष्ठले काठमाडौं पुर्याएर ६ महिनासम्म घरेलु कामदारको रूपमा प्रयोग गरेका थिए । सीता भन्छिन्,‘त्यतिबेला उहाँको घरमा नानी नि जन्मिएकी थिइन् । अनि मलाई घरको काम गर्न लगेका थिए ।’
स्थानीय नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन्,‘के गर्नु अन्यत्र काम पाइँदैन । लीलानाथ श्रेष्ठले यिनी निर्धा दलित मुसहर दम्पतीको मजवुरीको फाइदा उठाएका छन् । कम्युनिष्ट पार्टीमा लागेर मन्त्री भएको मान्छे, तर लाजसरम नै छैन । दुनियाँले के भन्लान् भन्ने पनि छैन । दुई सय दैनिक ज्यालामा अझै मजदुरी गराउने ? योभन्दा चर्को शोषण के हुन्छ ? उनका पार्टीका केन्द्रीय नेताहरू आएर अनुगमन गरे हुन्थ्यो नि !’
श्याम सुन्दर महतो भन्छन्, ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक हुन्छ । माननीय श्रेष्ठको बिँडी कारखानामा सुर्ती कुट्ने काम गर्ने मजदुरहरूलाई सुरक्षाका लागि मास्क पनि दिइँदैन । त्यहाँ काम गर्ने मुसहर मजदुर ६० वर्ष नपुगी फोक्सो खराब भएर मर्छन् । हजारौँ मुसहर मजदुरको रगत पसिना र चिहानमाथि लीलानाथ श्रेष्ठको सम्पत्तिको डंगुर लागेको छ ।’
सिराहा–३ बाट निर्वाचित श्रेष्ठ एमालेबाट कानुन न्याय तथा संसदीय मामिला व्यवस्था साथै संघीय मामिला मन्त्री भइसकेका छन् । श्रेष्ठले २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादवलाई पराजित गरेका थिए । नेपाल न्युज बैंक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।