logo-img

सहकारी समस्या चाँडै समाधान नभए आर्थिक प्रणालीमै असर गर्छ : सूर्य थापा

संसदीय सहकारी छानबिन समितिका सभापति सूर्यबहादुर थापाले सहकारीहरुको समस्या छिटै समाधान नभए सिंगो आर्थिक प्रणालीमा प्रभाव पर्ने बताएका छन् । 
मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले सहकारीको मात्र समस्या हो भनेर छाड्ने हो भने सिंगो अर्थतन्त्रमा प्रभाव पर्ने भन्दै यसको छिटो समाधान आवश्यक रहेको बताए । 

उनले भने, ‘आज जति पनि सहकारीहरु समस्यामा परेका छन्, उनीहरुको समस्या ठिक तरिकाले, कानुन निर्माण गरेर, प्रस्तावित संरचना बनाएर समाधान गरिएन भने सिंगो आर्थिक प्रणालीमा यसको दुष्प्रभाव पर्छ । बैंकहरुमा पनि यसको प्रभाव पर्छ, सहकारीको मात्र समस्या हो भनेर सिंगो अर्थतन्त्रको हकमा भन्न सक्ने अवस्था नहुनसक्छ ।’ 

उनले नियमनप्रति बेखबर हुनु र कानुनअनुसारका संरचना नबन्नु उचित नभएको भन्दै सहकारीहरु बढेअनुसार संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखापरेको बताए । 

उनले भने, ‘नियमनप्रति बेखबर हुनु र कानुन अनुसारका संरचना नबनाउने कामहरु उचित भएनन् । अहिले सहकारीहरु बढी रहेको अवस्थामा त्यसअनुसारका संरचनात्मक व्यवस्थापनका कामहरु नभएका कारणले पनि समस्याहरु देखा परेको हो । सहकारीमा समस्या आउनुको कारण सहकारीको सिद्धान्त विपरीत सहकारीहरु दर्ता गर्ने कामले गर्दा पनि भएको हो । सहकारीको संख्या धेरै भयो, तर त्यसलाई नियमन गर्ने कानुन त्यहीअनुसार भएन ।’

कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधीकरण, बचत तथा कर्जा सुरक्षा कोष ऐनले व्यवस्था गरे पनि बन्न नसकेको भन्दै उनले यसप्रति ध्यानाकर्षण गराएका छन् । 

धेरै लामो समयदेखि सहकारी रजिस्ट्रारको कार्यालय र सहकारी मन्त्रालयले अर्थ मन्त्रालयमा सहकारीसँग सम्बन्धित बचत तथा कर्जा सुरक्षा कोष स्थापनाको लागि गरिएको सहमति पनि कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : असार २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया