logo-img

समाजवादी मोर्चा पुनर्गठनका लागि प्रचण्डले थाले छलफल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चाको पुनर्गठनबारे छलफल अघि बढाएका छन् । 

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनले समाजवादी घटक दलहरूसँग छलफल गरेका हुन्। बैठकमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए। 

प्रधानमन्त्री दाहालका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको बताए। बैठकमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेको र नेताहरूले पनि आफ्ना धारणा राखेका थिए । 

समाजवादी मोर्चामा पहिले माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध थिए । प्रचण्डकै षड्यन्त्रका कारण आफ्नो पार्टी विभाजन भएको भन्दै जसपा नेपाल उक्त मोर्चाबाट बाहिरिइसकेको छ । 

विप्लवसँगको भेटका क्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अब मोर्चाको औचित्य समाप्त भइसकेको बताएका थिए । उक्त दलबाट विभाजन भएको जसपा पनि प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएर नयाँ गठबन्धनलाई समर्थन गरिसकेको छ । 

उक्त मोर्चामा महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मिसिने भएको छ । सो पार्टी बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट केही महिनाअघि विभाजित भएको थियो ।  





  • प्रकाशित मिति : असार २६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया