१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

डेंगु नियन्त्रणका लागि बर्सेनि रकम विनियोजन, तर उपलब्धि शून्य

पछिल्ला वर्षमा बर्खायाममा डेंगु संक्रमण जनस्वास्थ्यको प्रमुख चुनौती बन्दै आएको छ । लामखुट्टेको टोकाइका कारण हुने डेंगु संक्रमण रोक्न सरकारले वर्षैपिच्छे ‘खोज नष्ट’ गर जस्ता विभिन्नखाले कार्यक्रम ल्याए पनि पनि डेंगु संक्रमण खासै नियन्त्रणमा आएको देखिँदैन ।


तीन वर्षअघि काठमाडौंमा र गत वर्ष सुनसरी, तनहुँमा महामारीकै रूप लिएको डेंगु यस वर्ष पनि ७३ जिल्लामा फैलिइसकेको छ । यसवर्ष डेंगु असारको दोस्रो हप्तादेखि बढ्न थालेको छ । हाल काठमाडौं, झापा, चितवन, कैलालीमा निकै उच्च दरमा डेंगु संक्रमण फैलिरहेको छ । दैनिक पानी परिरहेकाले पनि डेंगुको संक्रमण दिनानुदिन बढिरहेको छ ।
 
हाल डेंगु संक्रमण सबभन्दा बढी काठमाडौंमा एक सय ८४ जनामा देखिएको छ । यस्तै, झापामा एकसय २३ र चितवनमा ८६ जनामा डेंगु संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आकलन रहेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको संक्रमण अझै बढ्ने खतरा छ । पानी संकलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्नबाट डेंगुको जोखिम बढेको उनले जानकारी दिए ।



बर्सेनि नियन्त्रणका लागि योजना, तर सफलता शून्य 

सरकारले १८ वर्षदेखि डेंगु नियन्त्रणका लागि भन्दै बजेट छुट्याउने गरेको छ । तर, पछिल्लो केही वर्षको विवरण हेर्दा सरकार डेंगु नियन्त्रणमा असफल भएको देखिन्छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सरकारले एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नियन्त्रण लागि भन्दै प्रत्येक वर्ष लामखुट्टेको लार्भा खोजी गरेर मार्ने भनेर रकम विनियोजन गर्ने गरेको छ । तर, डेंगु प्रत्येक वर्ष नियन्त्रणबाहिर नै गइरहेको देखिछ । 



चालू आर्थिक वर्षमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब आठ करोड जति बजेट डेंगु संक्रमण गराउने लामखुट्टे नियन्त्रण गर्न तथा डेंगु संक्रमण रोकथामका साथै अन्य विविध कार्यक्रमका लागि छुट्याएको थियो । डा. दाहालका अनुसार आगामी आर्थिक वर्षको लागि पनि डेंगु संक्रमण गराउने लामखुट्टे मार्न र नष्ट गर्न स्थानीय तहहरूलाई सात करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ । 

यसैगरी, संघीय बजेट व्यवस्थामार्फत  सातसय ५३ स्थानीय तहका सातसय ५३ पालिकामध्ये चारसय दुई पालिकालाई कुल सात करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ । अघिल्ला वर्षहरूमा सबैभन्दा धेरै डेंगु संक्रमण देखिएको कोशी प्रदेशका ९८ पालिकामा सबैभन्दा धेरै बजेट विनियोजन गरिएको छ । कोशी प्रदेशका ९८ पालिकामा दुई करोड छ लाख ५० हजार विनियोजन गरिएको छ ।

यसबाहेक डेंगु नियन्त्रणकै लागि हरेक जिल्लामा दुई लाखका दरले ७७ वटै जिल्लामा कुल एक करोड ५४ लाख थप रकम विनियोजन गरिएको छ । 
स्थानीय तहमा विनियोजित सात करोड ९८ लाख र जिल्लागत रूपमा विनियोजित एक करोड ५४ लाख गरी कुल नौ करोड ५२ लाख बजेट डेंगु नियन्त्रणका लागि विनियोजन गरिएको छ । डा. दाहाल भन्छन्, ‘आगामी आवमा डेंगु संक्रमण रोकथामका लागि लामखुट्टे मार्नेदेखि अन्य विभिन्नखालका अभियान चलाउन नौ करोडभन्दा बढी बजेट विनियोजन गरिएको हो ।’ 

बर्सेनि डेंगु संक्रमण नियन्त्रणका लागि रकम विनियोजन गरिए पनि डेंगु संक्रमण भने वर्षैपिच्छे नियन्त्रणबाहिर गइरहेको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरे भने सरकार एक्लैले यस्ता संक्रमण न्यूनीकरण गर्दा सफल नहुने हुँदा समुदायका सबै सरोकारवला एकजुट भएर लाग्नुपर्ने बताउँछन् ।



‘सरकारले तीन–चार वर्षको संक्रमणको विवरण हेरेर नियन्त्रणका लागि बजेट छुट्याउने भए पनि कहिले संक्रमण देखिने, कहिले नदेखिने हुँदा सहजै संक्रमण फैलिरहेको छ,’ निर्देशक डा. घिमिरेले भने, ‘यस्तो अवस्थामा सरकार एक्लैले डेंगु संक्रमण रोकथाम गर्ने अभियान चलाएर सफल भइँदैन । त्यसैले समुदायका हरेक सरोकारवाला मिलेर लाग्नुपर्छ ।’ नागरिकले स्वयंले पनि घर, अफिस, समुदायमा डेंगु नियन्त्रणका लागि पहल गर्न आवश्यक रहेको उनको भनाइ छ ।
 
उकालो दिशामा डेंगु संक्रमणको ग्राफ 

महाशाखाको तथ्यांकअनुसार पुसदेखि असार २३ गतेसम्ममा नेपालमा एक हजार ४८३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । सन् २०२२ र २०२३ मा नेपालमा डेंगु संक्रमण अत्यधिक बढेको थियो । संक्रमणका कारण सन् २०२२ मा ८८ जना र २०२३ मा २० जनाको मृत्युसमेत भएको थियो ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र उक्त फुलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु रोग लाग्दछ । रोग शाखाका प्रमुख डा. दाहालले डेंगु संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेका छन् ।

  • प्रकाशित मिति : २७ असार, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया