[समीक्षा] ‘हिमालको देश मेरो’ भित्रको अन्तरंग

नेपाली कविता साहित्यमा गद्य र पद्य दुवै धारलाई समातेर थुप्रै कविता सिर्जनाहरू हुँदै आएका छन् । मूलतः पद्य कविता एकाध व्यक्तिहरूले मात्र लेख्ने आँट गर्छन् । त्यही आँट बोकेर आएका कवि हुन् : दिनेश घिमिरे ‘अन्जान’ । नेपाली भाषा साहित्यमा अनवरत रूपमा भदौरे झरी झैँ वर्षी रहेका छन् ।

वि. स.२०४३ सालमा भोजपुरको वास्तिम गाँउमा जन्मिएका घिमिरेले कर्मथलो भने काठमाडौँलाई बनाउँदै आएका छन् । यही सानो संसार भित्र रूमलिने मान्छेहरू पनि धेरै छन् । तर किन किन अरूभन्दा पृथक छन् अन्जान । पढ्ने र पढाउने काममा तलिन्न भएका उनी हाल नेपाली विषयमा दर्शनाचार्य गर्दै छन् भने संस्कृतमा शास्त्रीसम्म गरेका छन् । विभिन्न साहित्य प्रतिष्ठानमा बसेर नेपाली साहित्यको श्रीवृद्धिमा एकोहेरो लागि परेकै छन् ।

देवकोटाले ब्युँताएको झ्याउरे (लोकलय) र घिमिरले निरन्तर कलम चलाउँदै आएका छन्दवादी दुवै धारलाई खिचेर आफ्नो सिर्जना सिर्जित गर्न सक्नु कवि घिमिरेको विशिष्टता हो । हालसम्म उनका भोजपुरे खिचडी (२०६७) मेरा जीवनका चरणहरू भाग १ (२०७०) फूल र म (२०७०) कविता सङ्ग्रह तथा शालिकराम (२०७०) शोककाव्यजस्ता उत्कृष्ट रचना सुम्पिएका छन् ।

उनी नेपाली जनजीवनका अन्तरकुन्तरका विषयलाई कलात्मक तवरले उन्न माहिर छन् । यिनका कवितामा प्रकृति प्रेम, मानवतावाद, अस्तित्ववाद, विश्वशान्ति, भातृत्व प्रेम र व्यङ्ग्य चेत पाइन्छ । 

 हिमालको देश मेरो कविताबाट सङ्ग्रहको नामकरण गरिएको यस कविताभित्र तीन स्वरूपका कविता छन् :  बाल, गीति र छन्द कविता । यसभित्र चौध वटा बाल, उनन्तिस वटा गीति र पाँच वटा छन्द कविता छन् ।

अन्जानका कवितामा बालमनोविज्ञान, बालबोली र अनुप्रास युक्त भाषा पाइन्छ । प्रस्तुत कविताहरूले बालबालिकालाई नैतिकवान्, चरित्रवान् बन्न प्रेरित गरेका छन् । विशेषः घिमिरेका बाल कविताहरूले बालबालिकाको बानी व्यवहार बोलीचाली, भाषा शैलीलाई जस्ताको त्यस्तै टिपेका छन् । धेरै कविताहरू पढौँ पढौँ लाग्ने देखिन्छन् :          



 खाने कुरा मीठो गरी
अब खानुपर्छ
पढ्ने लेख्ने बानी गरी
स्कुल जानुपर्छ । (पृष्ठ २)
पाडो गर्छ आई आई 
बाछो गर्छ डाँ डाँ
परेवाले घुर घुर
मने गर्छ म्या म्या । (पृष्ठ ९)

नेपाली साहित्यमा हराउन लागेको झ्याउरे छन्दमा मुनामदन रचना भएपछि भने यस छन्दले उचाइ पायो । त्यही लोकप्रिय लोकलय छन्दमा उनले आफ्नो प्रतिभा पस्किएका छन् । कविता वार्णिक र वर्णमात्रिक छन्दमा छन् । धेरैले छन्द कविता लेख्न रूचाउँदैनन् । कतिले छन्दमा कविता लेख्न साहस नै गर्दैनन् । कहिले काही रूमलिएको गीति कविता हिमालको देश मेरो कविता आए सँङ्गै फेरी पनि एक पटक जुर्मुराएको छ ।



घिमिरेका गीति कविता भित्र प्रकृति, राष्ट्रियता, भातृत्व, वीर पूर्खाको योगदान, विश्वशान्तिको कामना, वैवाहिक जीवनका उतारचढाव, अस्तित्ववादी, विसङ्गतिवादी तथा व्यङ्ग्यवादी चेतना छल्किएका छन् । साथै शृङगारिकता, मानवीय व्यवहार, गाँउघरका लुप्त विषय तथा सामाजिक यर्थाथलाई फोटोग्राफिक शैलीमा व्यक्त गरिएको छ । पठनीय, मननीय अनि ग्रहणीय उनका कविताले राष्ट्रिय प्रेम र प्रकृति प्रेमले बढी स्थान पाएका छन्:

 हिमाल पहाड तराईले मिलेको यो ठाउँ
 स्वर्गभूमि नेपाल हो स्वर्गजस्तै गाउँ । (पृ २६) 
पहिलो पल्ट देखे पछि देखुँ देखुँ लाग्यो
सम्झिएर एकान्तमा भेटौँ जस्तो लाग्यो । (पृ ३०) 

दाजु भाइ यै देशका जुधे दुख्छ मन
तेरो मेरो भन्दे गर्दा रून्छ आमा मन । (पृ ३५)

 घिमिरेका पाँचवटा कविता छन्दोवद्ध छन् । कविता लेखनमा सदैव लागि रहने उनी धेरैका उत्प्रेरणाका स्रोत हुन् । उनका कविता शार्दुलविक्रीडित छन्दमा रचिएका छन् । शृङ्गारिक, शान्त र करूण रस प्रधान मध्ये केही कविता आफ्ना गुरूप्रति समर्पित गरेका छन् ।

 नेपाली साहित्य लेखनमा घिमिरे छन्दवादी चिन्तन बोकेर तङ्ग्रिएका छन् । शास्त्रीय ज्ञान भएका उनको साहित्य लेखनले क्रमशः उचाइको बाटो तय गरिरहेको छ । उनको लेखनमा कतिपय कमिकमजोरी भेटिन्छन् । केही केही कवितामा एउटा श्लोक र अर्काे श्लोक विचमा हुनु पर्ने सम्बन्ध टुटेको छ भने कतिपय ठाउँमा अनुभवी भाषा सम्पादकको ध्यान नपुगेको देखिन्छ ।

घिमिरेको हिमालको देश मेरो कविता सङ्ग्रह अट्चालीस पृष्ठमा संरचित छ । उर्वर साहित्य समाजले प्रकाशन गरेको यस कविता सङ्ग्रहको मूल्य एक सय पचास रूपैँया राखिएको छ । 


(समीक्षक: त्रि. वि. केन्द्रीय क्याम्पस कीर्तिपुर, नेपाली भाषा शिक्षा विभागका विद्यार्थी हुन् ।) 

  • प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार १२:२५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया