logo-img

चलचित्र ‘आदिकवि भानुभक्त’मा बर्माका दृश्य समेट्ने रहर अपूरै रह्यो : निर्देशक खरेल

यादव खरेललाई चिनाउने अनेकौँ विधा भए पनि पछिल्लो समय उनको चिनारी चलचित्र निर्देशकका रूपमा पनि दरिएको छ । यसबाहेक कवि, गीतकार, प्राध्यापक, समाजसेवी र फुटबलर भनेर समेत जीवनको विभिन्न कालखण्डमा खरेलले आफूलाई चिनाएका विधा हुन् । 

राणा कालको ऐतिहासिक चलचित्र ‘प्रेमपिण्ड’, ‘श्री स्वस्थानी’ र ‘आदिकवि भानुभक्त’ बनाएका छन् खरेलले । खरेलको लेखन तथा निर्देशनमा ‘आदिकवि भानुभक्त’ नेपाली भाषामा बनेको पहिलो वायोपिक फिल्म हो । यो ०५६ तिर नै निर्माण भएको खरेलको भनाइ छ । वायोपिक भनेको कुनै मानिसको जीवनीमाथि बनेको कथानक चलचित्र भन्ने बुझिन्छ । 

‘आदिकवि भानुभक्त’ आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित छ । जसमा नायक दिलीप रायमाझीले भानुभक्त आचार्यको भूमिका निर्वाह गरेका छन् । फिल्ममा भानुभक्तले विद्या आर्जन गरेदेखि मरणसम्मको घटनालाई देखाइएको निर्देशक खरेलले सुनाए । भानुभक्त निर्माणमा लागि करिब दुई वर्षसम्म अध्ययन गरेका खरेल पुरानो फिल्म भएकाले यसको अस्तित्व जोगाउन समस्या भइरहेको बताउँछन् । 

‘आदिकवि भानुभक्तले नेपाललाई भाषा र साहित्यमार्फत नेपाल एकीकरण गरेको र घाँसीबाट प्रेरणा लिएर राष्ट्र प्रेमको भावना जागृत गरी समाजलाई मद्दत हुने हिसाबले साहित्यको सिर्जना गरी नेपाली भाषामा ‘रामायण’ र अन्य कृतिहरू पनि रचना गरे भन्ने कुरा यसमा चलचित्रमा समावेश गरेका थियौँ । यसका लागि म आफैले भानुभक्तलाई चिनेका धेरै मानिसहरूको अन्तर्वार्ता लिएको छु । धेरै अध्ययन गर्नुपरेको थियो,’ साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाल न्युज बैंकसँगको कुराकानीमा उनले भने । 

खरेलले आदिकवि भानुभक्तको अर्काइभ अहिले पनि सुरक्षित राखेको बताउँछन् । ‘अहिले पनि विभिन्न अर्काइभहरु सुरक्षित राखेका छौं । युसिएलएलले राखेको  छ । भल्ब बनाएर जमिनमुनि भूकम्प गए पनि केही नहोस्  भनेर त्यहाँ सुरक्षित  राखिएको छ,’ उनले भने । 

वाल्मिकीले लेखेको रामायणलाई नेपाली भाषामा उतारेर भानुभक्तले नेपाली भाषालाई  चिनाउन ठुलो  सहयोग गरेको उल्लेख गर्दै यही कारण पनि फिल्म नेपाली माझ सधैँ अमर रहने खरेल बताउँछन् । 



तर आदि कविको वायोपिक फिल्म‘आदिकवि भानुभक्त’ निर्माण गर्न त्यति सहज नभएको खरेलको अनुभव छ । उनी भन्छन्,‘भाषा, कला, साहित्यमा भानुभक्तले  गरेको योगदान अतुलनीय छ । यो सबै कुराको अध्ययन गर्नु ठुलो चुनौती चलचित्र निर्माणका क्रममा भयो । केही नछुटोस् भनेर धेरै मेहेनतका साथ काममा लाग्नु परेको थियो । आदिकवि भानुभक्त बनाउँदाको समय ध्वनि र  दृश्य एकै चोटि लिन सजिलो थिएन । त्यो  बेला भानुभक्त फिल्म बनाउँदा छुटै दृश्य र छुट्टै ध्वनि चाहिन्थ्यो । 

तथ्य लिएर यथार्थ चित्रण गर्न निकै मिहिनेत गर्नु पर्‍यो । भानुको जन्मथलो उनकै घरको महिनौँ बसेर अध्ययन, छायाङ्कनलगायतका काम गर्नुपरेको थियो । नेपालमा मात्र होइन, दार्जिलिङ, सिक्किम र बर्मामा समेत छायाङ्कन गर्ने योजना थियो । त्यस्तै बर्मामा पनि नेपाली भाषीका धेरै कथा–व्यथा थिए । त्यहाँ पनि भानुभक्त लोकप्रिय छन् । चलचित्र निर्माण गर्दाको बखतको अनुभवहरू रमाइला र चलचित्र उतिक्कै असहज थियो ।’



फिल्म बनाउने बेला न दार्जिलिङबाट यथोचित सहयोग मिल्यो न बर्माबाट । फिल्म बनाउने क्रममा अध्ययनका लागि यादव खरेल बर्मा पुगेका थिए । तर, त्यहाँको सरकारले छायाङ्कन अनुमति नदिएकाले चलचित्रमा बर्मालाई समेट्ने रहर पनि अपूरै रह्यो । सानो सीमाभित्र मात्र बसेर भानुभक्त निर्माण गरिएको उनको अनुभव छ । 

‘आदिकवि भानुभक्त’ इतिहासको दस्ताबेज रहेकाले पैसा आर्जन गर्ने उद्देश्य नभएको खरेलले सुनाए । भानुको साहित्यिक इतिहास लिपिबद्ध गर्ने प्रयासमा सफलता मिलेको उनको अनुभव छ । फिल्म भानु जन्मस्थल विकास समितिको सम्पत्ति भए पनि त्यसलाई सुरक्षा नगरिएकोप्रति खरेल चिन्तित छन् । 

चलचित्रमा कमलमणि दीक्षित, बिक्की साह, दिलीप रायमाझी, सुवर्ण श्रेष्ठ र  अनिता सिलवाल लगायतका कलाकारले अभिनय गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष समेत भइसकेका खरेलको बेलामा बनेको राष्ट्रिय चलचित्र नीति अहिलेसम्म पनि कार्यान्वयनमै छ । मुल नेतृत्वमा पुग्ने राजनीतिक दलका नेताहरूमा चलचित्र सम्बन्धी चेतनाको अभावका कारण चलचित्र क्षेत्र अगाडि बढ्न नसकेको खरेको भनाइ छ । 

‘म चलचित्र विकास बोर्डको अध्यक्ष भएकै बेला राष्ट्रिय चलचित्र ऐन, २०२६ लागु गरिएको हो । तर त्यो नीति खासै प्रभावकारी रूपमा कार्यान्वयनमा आएन । दुर्भाग्य के भयो भने मुलुक चलाउन भनेर मन्त्री भएर आउनेहरूमा चलचित्र सम्बन्धी चेतना भइदिएन । चलचित्र विकास बोर्ड आफ्ना मान्छेका लागि भर्ती केन्द्र जस्तो बनाइदिए । यस कारण बोर्डले सोचेको जस्तो काम गर्न सकेन । आज ५५ वर्षवितिसक्दा समेत नीति संशोधन गरेर ल्याउन सकिएको छैन,’ उनले भने ।  

  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया