राष्ट्रपति भण्डारी चीन प्रस्थान, कार्यभार उपराष्ट्रपतिलाई

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी चीनको ९ दिने भ्रमणका लागि प्रस्थान गरेकी छिन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको मैत्रीपूर्ण निमन्त्रणामा भण्डारी नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारी बुधबार बिहान ११ बजे नेपाल वायु सेवा निगमको चार्टर विमानमार्फत चीनतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारी अप्रिल २५ देखि २७ सम्म चीनमा आयोजना हुने दोस्रो अन्तरार्ष्ट्रिय साझेदारीका लागि बेल्ट एन्ड रोड फोरममा सहभागी हुन त्यता प्रस्थान गरेकी हुन् । 

गणतन्त्र स्थापनापछि  नेपालका राष्ट्रप्रमुखको यो पहिलो बेइजिङ भ्रमण हो । यसअघि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव सांघार्इ कोअपरेसन र बोआओ फोरम फर एसियाको सम्मेलनमा सहभागी हुन चीन गए पनि त्यतिवेला बेइजिङले राष्ट्रपति यादवलाई स्वागत गरेको थिएन ।

राष्ट्रपति भण्डारीले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। वार्ताका क्रममा भण्डारीले चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिनेछिन् । वार्तामा दुई देशबीच केही समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले चिनियाँ उच्च नेतृत्वसँगसमेत भेट गर्नेछिन्।

राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका केही सदस्य, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका व्यवसायीसमेतको सहभागिता छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ६७ को उपधार २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी कार्यभार तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



राष्ट्रपति भण्डारी वैशाख १९ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।



  • प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार १४:३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया