logo-img

बलियो राजनीतिक दल नै स्थिरता र स्थायित्वका आधार : शङ्कर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दललाई कमजोर बनाएर लोकतन्त्र र मानवअधिकारलाई बलियो बनाउन नसकिने बताएका छन् ।  

ललितपुरको खोकनामा आज आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २५औँ स्थापना दिवस समारोहमा उनले राजनीतिक दल कमजोर भएमा लोकतन्त्र, मानवअधिकार र जनअधिकार सुनिश्चित हुन नसक्ने बताए । 

‘राज्यलाई बलियो बनाउने शक्ति राजनीतिक दल नै हुन्, बलियो राजनीतिक दल नै स्थिरता र स्थायित्वका आधार हुन् । त्यसैले दलहरूलाई कमजोर बनाएर मानवअधिकारको रक्षा र आर्थिक समृद्धि हासिल हुन सक्दैन’, महासचिव पोखरेलले भने । उनले जनतालाई संरक्षण प्रदान गर्न पनि राज्य र राजनीतिक दल बलियो हुनुपर्ने जिकिर गरे ।  

एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकालले समाजमा व्यवस्था परिवर्तन भएसँगै मानवअधिकारका व्यवस्था पनि परिवर्तन हुँदै आएको बताए । मानवअधिकार एलाइन्सका इन्चार्ज घनश्याम पाण्डेले नागरिकका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हकलाई स्थापित गर्न एलाइन्सले ध्यान दिनुपर्ने धारणा राखे ।  



एमाले केन्द्रीय सदस्य तथा ललितपुर महानगर इन्चार्ज बाबुराम थापाले मानवअधिकार शान्तिको अभिन्न अङ्ग पनि भएकाले यसलाई थप प्रभावकारी बनाइनुपर्ने बताए । एलाइन्सका संस्थापक गङ्गा कसजूले हरेक क्षेत्रमा मानवअधिकार स्थापित गर्न संस्थाले नागरिकको तर्फबाट गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।  



  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया