logo-img

गण्डकी प्रदेशका १७८ खेलाडी पुरस्कृत, स्वर्ण विजेतालाई ७ हजार पुरस्कार

गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई आज नगदसहित पुरस्कृत गरिएको छ ।

प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट सहभागिता जनाएर विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक तथा प्रथम, द्वितीय र तृतीय बनेका प्रदेशका १ सय ७८ खेलाडीलाई पुरस्कृत गरेको हो । 

चालु आर्थिक वर्षमा आयोजना गरिएको बागमती प्रदेशस्तरीय प्रतियोगिता, १४औँ राष्ट्रपति रनिङ शिल्ड र यू–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीले पुरस्कार पाएका हुन् ।

खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यसचिव श्रीधर शर्मालगायतले खेलाडीलाई पुरस्कार वितरण तथा सम्मान गरे । 



पुरस्कृत हुने खेलाडीमध्ये ‘व्यक्तिगत इभेन्ट’तर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजारका दरले पुरस्कृत गरिएको हो । यसैगरी ‘टिम गेम्स’तर्फका विजेता खेलाडीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिबद्ध रहेको बताए ।

‘सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको छ, खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीलाई प्रोत्साहन गर्न हामी प्रतिबद्ध छौँ’, उनले भने, ‘खेलकुद क्षेत्रबाट अझै पनि जीविकोपार्जनका विषयमा थुप्रै प्रश्नहरू छन् । खेलाडीले खेल खेलेर जीवन धान्ने अवस्था बनाउन सबैको प्रयत्न आवश्यक छ, यसमा प्रदेश सरकारले योगदान गर्छ ।’  



  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया