logo-img

कोरला नाकामा भवन निर्माण, लागत ४० लाख २५ हजार

मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्धार केन्द्रको भवन निर्माण गरेको छ ।  

पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रविधिको ६ कोठे एकतले भवन निर्माण गरेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठले सुरक्षा निकाय र आपत्कालीन अवस्थामा उद्धारका लागि भवन निर्माण गरिएको जानकारी दिए । 

‘संरचना तयार भइसकेको भवन हस्तान्तरण र फर्निचर व्यवस्थापन भएपछि प्रयोगमा ल्याउन सकिन्छ’, उनले भने, ‘भौगोलिक विकटता, प्रतिकूल वातावरणका बाबजुद काम थालेको एक महिनामै भवन तयार भएको छ ।’  

समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको कोरला नाकाको नेपालतर्फ भवन नहुँदा सुरक्षाकर्मी, भन्सारका कर्मचारी, व्यवसायी र पर्यटकलाई समस्या भएको थियो । 

भूकम्प प्रतिरोधात्मक र वातावरण अनुकूलित भवनमा भान्सा कोठा, बैठक हल र कार्यालय प्रयोजनका लागि चारवटा कोठा बनाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी घनश्याम रोकाले बताए । भवन ४० लाख २५ हजार ९ सय ९९ रुपैयाँमा निर्माण गरिएको हो । 

जोमसोम सडक अवरुद्ध, चिसो मौसम र कामदार अभावका कारण निर्धारित मितिमा निर्माण पूरा हुन नसकेको भवनको प्रमुख संरचना तयार भएको पूर्वाधार विकास कार्यालयका प्राविधिक शतिश पनेरुले बताए । 



कोरला नाकामा नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारीका लागि चीन सरकारले गत कात्तिकमा १० जना अटाउन सक्ने चारवटा कन्टेनर उपलब्ध गराएको थियो । रासस 



  • प्रकाशित मिति : असार २९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया