logo-img

युरो कप फाइनलमा स्पेन र इंग्ल्याण्ड भिड्दै, दुवैलाई इतिहास रच्ने मौका
‘हेड टु हेड’ मा स्पेनविरुद्ध इंग्ल्याण्ड हाबी

१७औँ संस्करणको युरो कप फुटबलको उपाधिका लागि स्पेन र इंग्ल्याण्ड आमनेसामने हुँदै छन् । यी दुई टिमबीचको उपाधि भिडन्त आइतबार राति १२ः४५ देखि जर्मनीको बर्लिनमा सुरु हुनेछ ।

स्पेनले सेमिफाइनलमा फ्रान्स तथा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए । दुवै टिमले सेमिफाइनलमा विपक्षी टिमविरुद्ध समान २–१ को पुनरागमन जित निकाले । अब इंग्ल्याण्ड र स्पेन फाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न चाहन्छन् । 

१६ संस्करणसम्म स्पेनले चारपटक फाइनलमा स्थान बनाएको छ, जसमध्ये उसले तीनपटक उपाधि जितेको छ । स्पेन सन् १९६४, २००८ र २०१२ को युरो च्याम्पियन टोली हो । यस्तै, ऊ सन् १९८४ मा उपविजेता बनेको थियो ।

१२ वर्षपछि फाइनल पुगेको स्पेन जारी संस्करणमा अपराजित छ । ऊ अब इंग्ल्याण्डलाई पनि हराउँदै सर्वाधिक युरो उपाधि जित्ने कीर्तिमान बनाउने दाउमा छ । हालसम्म स्पेन र जर्मनीले समान तीनपटक युरो उपाधि जितेका छन् । 



स्पेनसँग उपाधि भिडन्तमा उत्रिन लागेको गत उपविजेता इंग्ल्याण्ड भने पहिलो युरो कपको ट्रफीको खोजीमा छ । ऊ सन् २०२० को फाइनलमा इटालीसँग पराजित भएको थियो ।

इङ्ग्लिस टिम प्रायः ठूलो प्रतियोगिताको सेमिफाइनल र फाइनलमा स्थान बनाइरहन्छ । तर, ऊ उपाधि जित्न पनि चुक्दै आएको छ । सन् १९६६ मा फिफा विश्वकप जितेयता इंग्ल्याण्डले फुटबलमा ठूलो उपलब्धि हासिल गर्न सकेको छैन ।



ऊ अब ६ दशक लामो उपाधि खडेरी तोडेर विश्व फुटबलमा बलियो उपस्थिति जनाउन चाहन्छ । तर, निको विलियम्स, लामिन यमालजस्ता युवा स्टार तथा ड्यानी ओल्मो, रोड्री, फाबियन रुइजलगायत अनुभवी खेलाडी रहेको स्पेनलाई हराउन इंग्ल्याण्डलाई सहज छैन । यद्यपि स्पेनसँगको अन्तर्राष्ट्रिय फुटबलको विगत नतिजा हेर्दा भने इंग्ल्याण्ड हाबी देखिन्छ ।  

हालसम्म यी दुई टिमले २७ अन्तर्राष्ट्रिय खेलमा एकअर्कासँग खेलेका छन्, जसमा इंग्ल्याण्डले १४ र स्पेनले १० खेल जितेको विगत छ । इंग्ल्याण्ड र स्पेनबीचको तीन खेल भने ‘ड्र’ भएको छ ।

यी दुई टिमले पछिल्लोपटक सन् २०१८ को नेशन्स लिगमा एकअर्काविरुद्ध खेलेका थिए, सो खेलमा इंग्ल्याण्डसँग स्पेन ३–२ ले पराजित भयो । स्पेन अब उक्त हारको बदला लिँदै चौथोपटक युरो उपाधि जित्न चाहन्छ ।

यता इंग्ल्याण्ड स्पेनसँगको अपराजित यात्रा कायम राख्दै इतिहास रच्ने दाउमा छ ।  

  • प्रकाशित मिति : असार ३०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया