नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । आजै बेलुकी ५ बजे उनलाई नियुक्त गर्ने तरखर चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरे लगत्तै कांग्रेसको समर्थनमा ओलीले आफ्नो दाबी प्रस्तुत गरेका थिए ।
पहिलो पटक २०७२ असोज २४ मा संसदीय मतदानमा प्रधानमन्त्री निर्वाचित भएका ओली दोस्रो पटक भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समर्थनमा २०७४ को प्रतिनिधिसभा निर्वाचनपछि एमाले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बन्दा ओली २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए ।
त्यस्तै २०७८ वैशाख ३० मा ओली तेस्रो पटक प्रधानमन्त्री भएका थिए । चौथोपटक भने ओली प्रधानमन्त्री बन्दा माओवादी सरकारबाट किनारा लाग्नुपरेको छ । माओवादीसँगको छोटो सत्ता सहकार्य गरेका ओली पुष्पकमल दाहाल प्रचण्डलाई नै बालुवाटारबाट खुमलटार पुर्याएर आफू नेतृत्वमा पुगेका छन् । यसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई साथ दिएका छन् ।
उसो त यसअघि ओली प्रचण्डकै सहयोगमा दुई–दुई पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका थिए । यो पटक भने प्रचण्डलाई नै ‘धोका’ दिएर ओली बालकोटबाट बालुवाटार छिर्दै छन् । ओली–प्रचण्ड सहकार्य पनि अनौठो छ । कुनै दिन पार्टी नै एक गरेका यी दुई छुट्टिँदा भने एक अर्काको आलोचना र कटाक्ष मात्रै गर्छन् ।
गत शुक्रबार संसदमा विश्वासको मत माग्दै प्रचण्डले ओलीले स्वर्ग र नर्क सँगै जाने भनेर झुक्क्याएर आफूलाई धोका दिएको बताएका थिए । पछिल्ला केही दशक यता यिनै ओली–प्रचण्ड–देउवा पेरिफेरिमै सत्ताको चक्र घुमिरहेको छ ।
ओलीको राजनीतिक जीवन
ओलीको जन्म वि.सं. २००८ साल फागुन ११ मा तेह्रथुममा भएको थियो । उनी पहिलो पटक २०७२ साल असोज २४ मा नेपालको ३८ औँ प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए भने २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
उनी नेकपा (एमाले) का अध्यक्ष पनि हुन् । उनी यसअघि गृहमन्त्री, उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसमेत भएका थिए ।
त्यस्तै ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री भएका थिए । २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए ।
तत्कालीन नेकपा (माले) को संस्थापक मध्येका एक ओली २०२२ मा कम्युनिष्ट राजनीतिमा लागेका थिए । २०२६ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०२८ को झापा आन्दोलनका प्रमुखहरू मध्येका एक थिए ।
त्यही वर्ष उनी जेलसमेत परेका थिए । पञ्चायती व्यवस्थाविरुद्धको संघर्षका क्रममा ओलीले २०२८ देखि २०४४ सम्म १४ वर्ष कठोर जेल जीवन बिताएका थिए ।
विगतदेखि हालसम्म चुनावी मैदानमा ओली
पछिल्लो पटकको निर्वाचनमा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा पुगेर प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका थिए । ओली आफैँ उपस्थित भएर क्षेत्र नं. ५ का लागि मनोनयन दर्ता गराएका थिए । जहाँबाट उनी हाल उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित छन् ।
विसं. २०४८ को आम निर्वाचनमा झापा ६ बाट निर्वाचित भएका ओली त्यसपछि आम निर्वाचन २०५१ मा पनि झापा ६ बाट नै निर्वाचित भएका थिए ।
आम निर्वाचन २०५६ झापा २ र झापा ६ बाट निर्वाचित भएका ओली संविधानसभा निर्वाचन, २०६४ मा भने झापा ७ बाट पराजित भएका थिए । उनलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन लिम्बूले हराएका थिए । ि
संविधानसभा निर्वाचन २०७० झापा ७ बाट निर्वाचित भएका ओली प्रतिनिधिसभा निर्वाचन, २०७४ झापा ५ बाट निर्वाचित भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।