उपसभामुख इन्दिरा राना मगरले अमेरिकामा भएको एक कार्यक्रमका लागि पाँच जनालाई भिसा दिन भन्दै काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र पठाएको खुलेको छ ।
उनले सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्युयोर्कमा आयोजित एनजीओ ‘सिएसडब्यू-६७’ फोरमको कार्यक्रममा आफूसँगै अमेरिका लैजाने भन्दै पाँच जनालाई भिसा दिन भन्दै अमेरिकी दूतावासको कन्सुलर जनरललाई प्रतिनिधिसभाको उपसभामुखको लेटरप्याड प्रयोग गर्दै उक्त पत्र पठाएकी थिइन् ।
उनले उपसभामुखको हैसियतले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङलाई कार्यक्रममा लैजानका लागि भिसा उपलब्ध गराइदिन भन्दै दूतावासलाई पत्र लेखेकी थिइन् । तर, उनले लैजान खोजेका व्यक्तिहरू कसैलाई पनि अमेरिकाले भिसा भने दिएन ।
एक पीडितको दाबीअनुसार उपसभामुख रानाको नाम लिएर केही व्यक्तिले अमेरिकाको उक्त कार्यक्रममा लैजाने भन्दै प्रतिव्यक्ति अग्रिम १० लाख रुपैयाँका दरले पाँच जना व्यक्तिबाट ५० लाख रुपैयाँ लिइएको थियो । बाँकी रकम भिसा प्राप्त भएपछि लिने/दिने सहमति भएको थियो ।
उपसभामुख मगरले २६ फेब्रुअरी २०२३ अर्थात् १४ फागुन २०७९ मा दूतावाससमक्ष उक्त निवेदन दिएकी थिइन् । आफूले सिफारिस गरेका पाँच जनालाई दूतावासले भिसा नदिए पनि उपसभामुख मगर उक्त कार्यक्रममा सहभागी हुन २६ फागुनमा कतार एयरको विमानबाट दोहा हुँदै अमेरिका प्रस्थान गरेकी थिइन् । एक साताको भ्रमण पछि उनी नेपाल फर्किएकी थिइन् ।
उपसभामुख रानाले पाँच जनालाई अमेरिका लैजान दूतावासको नाममा सिफारिस गरेको पत्र फरकधारले प्राप्त गरेपछि उक्त विषयमा बुझ्न उपसभामुख रानालाई सम्पर्क गरेको थियो ।
उनले ‘एनजीओ फोरमको कार्यक्रममा लैजान पाँचजना व्यक्तिलाई अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । तर, उनीहरूलाई अमेरिकाले भिसा नदिएको कुराको वास्तविकता के हो भन्दै फरकधारले उपसभामुखलाई प्रश्न गरेको थियो ।
उक्त प्रश्नको जवाफ दिँदै उनले आफू सन् २००७ देखि अमेरिका जान थालेको र हालसम्म कसैलाई सिफारिस दिने काम नगरेको प्रतिक्रिया दिएकी छन् । केही नपाएर आफ्नोपछि लाग्नेलाई केही भन्न नसक्ने प्रतिक्रिया दिएकी हुन् ।
‘म अमेरिका जान थालेको २००७ देखि हो । आजसम्म मैले कसैलाई सिफारिस दिने काम गरेको छैन । यदि कसैले केही नपाएर मेरो पछि लाग्नु छ भने मैले केही भन्नु छैन,’ उपसभामुख रानाले जवाफमा लेखेकी छन् ।
झापा शनिश्चरेकी राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक संसदबाट उपसभामुख निर्वाचित भएकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।