कैलालीको धनगढीका ललित भट्टलाई केही दिनअघि दाहिने हातमा जनै खटिराजस्तो लक्षण देखियो । उनले त्यसलाई सामान्यरूपमा लिए र आफैँ निको हुन्छ होला भनेर धेरै ध्यान दिएनन् । तर, पछि निकै पोल्ने र दुख्ने भएपछि उनले घरमै घरेलु उपचारका लागि घ्यूकुमारी लगाए । अहिले घाउ सुक्दै गएको छ ।
त्यस्तै बाँकेका सौरभ चौधरीलाई हालै हात, गाला, ढाडमा रातो डाबरजस्तो देखियो । धेरै चिलाएपछि कन्याउँदा एलर्जी अन्य ठाउँमा पनि फैलियो । उनले अघिल्लो दिन झुल नलगाइ सुतेका कारण कीराले टोकेको हुन सक्ने अनुमान गरे । अहिले उनको हातमा घाउ सुक्दै गएको छ ।
‘मैले केही उपचार गराएको छैन । अहिले सामाजिक सञ्जालमा फोटो हेर्दा ‘नाइरोबी फ्लाइ’ रहेछ भन्ने थाहा भयो । हाम्रो घर छेउको फार्मेसीमा बुझ्दा दैनिक पाँचदेखि दश जनासम्म यस्तो समस्या लिएर आइरहेका रहेछन्,’ चौधरीले भने ।
पश्चिम तराईमा मात्रै होइन काठमाडौं उपत्यकामा पनि नाइरोबी फ्लाइ सङ्क्रमण भएका बिरामीहरू भेटिन थालेका छन् । काठमाडौंका ४० वर्षीय एक पुरुष एक साताअघि निजामती कर्मचारी अस्पतालमा पानी फोका र रातो धर्का भएको एलर्जी लिएर आएपछि चिकित्सकले उनलाई नाइरोबी फ्लाइ भएको पुष्टि गरेका थिए ।
वर्षा याम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतङ्क देखिन थालेको छ । अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रज्ज्वल पुडासैनीका अनुसार नाइरोबी फ्लाइ भनेको बिटल्स प्रजातिको कीटाणु (किरा) हो । विश्वभर बिटल्सका तीन लाख ५० हजारभन्दा बढी प्रजाति छन् । तीमध्येको यो एक हो । कालो र सुन्तले रंगको देखिने यो किरालाई ‘केन्यन फ्लाइज’ वा ‘ड्र्यागन बग’ पनि भनिन्छ । यसलाई ‘पेडेरस डर्माटाइटिस’ पनि भनिन्छ ।
किराको टोकाइले नभएर किरा माडिँदा त्यसले उत्पादन गर्ने ‘पेड्रिन’ भन्ने टक्सिनले लक्षणहरू देखिने हुन्छ । सामाजिक सञ्जालमा अहिले यो किराको बारेमा विभिन्न पोस्ट भाइरल भइरहेका छन् ।
मानिसको शरीरमा किराको आक्रमणपछि एक किसिमको रसायन निस्कन्छ । उक्त रसायन ‘पेडेरिन’ले छालामा एलर्जी गराउँछ । चिकित्सकका अनुसार पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ । जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ । छाला सामान्यतया एकदेखि दुई साताभित्र निको हुन थाल्छ । तर, कीटाणुको सङ्क्रमणले घाउ बिग्रिन सक्छ । यो किराले गराउने एलर्जी हरेक वर्षाको समयमा देखिने गरेको चिकित्सक बताउँछन् ।
‘यो किराले टोक्दैन । यदि यो किरा केही गरी माडियो भने यसबाट निस्किने टक्सिनले विभिन्न लक्षणहरू देखाउन थाल्छ । लक्षणहरू १२ घण्टादेखि २ दिनसम्म आइसक्छन्,’ डा. पुडासैनी भन्छन्, ‘यसको एलर्जी निको हुन एक देखि दुई साता लाग्छ र आफैँ निको भएर जान्छ । तर, धेरै चिलाएमा भने यसले अरूतिर सङ्क्रमण गराउन सक्छ । कन्याउँदा दाग र खत बस्न सक्छ ।’

चिकित्सकका अनुसार धेरै बिरामीहरू यसलाई जनै खटिरा, मंकीपक्सको लक्षण हो भनेर झुक्किने गरेका छन् । त्यसैले फार्मेसीभन्दा विशेषज्ञ चिकित्सककहाँ जानुपर्ने हुन्छ । ‘हरेक वर्षातको मौसममा देखिन्छ । यो एलर्जी हो । धेरै आत्तिनुहुँदैन आवश्यकता छैन । कुनै यसले कुनै जटिल प्रकारका जोखिमहरू ल्याउँदैन,’ डा. पुडासैनीले भने ।
पछिल्ला दिन जिल्लाका सरकारी स्वास्थ्य संस्था र निजी मेडिकलमा यस्ता सङ्क्रमित फेला पर्न थालेका हुन् । सङ्क्रमितको छाला रातो हुने, फोका–फोका आउने, चिलाउने, पाक्नेलगायतका लक्षण देखा पर्दछन् । स्वास्थ्यकर्मीले नाइरोबी फ्लाइको उपचार हुने जनाउँदै नआत्तिन आग्रह समेत गरे । यसबाट विशेष गरी बालबालिका र वृद्ध वृद्धालाई जोगाउनु पर्ने उनको सुझाव छ ।
यसबाट कसरी बच्ने ?
१. किरालाई हातले नछुनेः यदि किरा तपाईँको छालामा बसेको छ भने त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस् ।
२. सुरक्षात्मक लुगा लगाउनेः लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ ।
३. झुल प्रयोग गर्नुपर्छः रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ ।
४. झ्याल र ढोकाहरू बन्द राख्नेः झ्याल तथा ढोकामा जाली राख्नाले किराहरू भित्र पस्नबाट रोक्न सक्छ ।
५. घर बाहिरी बत्ती घटाउनेः किराहरू उज्यालोमा आकर्षित हुन्छन् । बाहिरी बत्ती कम गरेर किराहरू आकर्षणलाई घटाउन सकिन्छ ।
६. वातावरण सफा राख्नेः आफ्नो वरिपरि सफा राख्नाले किराहरू आकर्षित हुनबाट रोक्न सकिन्छ ।
के गर्ने ?
चिकित्सकका अनुसार नाइरोबी किराले छालालाई छोइहालेमा छालालाई तुरुन्तै साबुन पानी धुनुपर्छ ।
‘किरा माड्नुभएन । देख्ने बित्तिकै फाल्ने; बेटाडिन हालेर किरा बसेको ठाउँमा सफा गर्न सकिन्छ,’ डा. पुडासैनीले भने, ‘किराले सङ्क्रमण गराइसकेमा नआत्तिने र यदि बढी नै चिलाए वा पोलेमा चिकित्सकको सल्लाह लिनुपर्छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।