कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिनालाई कोलोम्बियाले दबाबमा राखेको छ । पहिलो हाफको ४१ मिनेट सकिँदा कोलोम्बियाले ७ र अर्जेन्टिनाले मात्र २ सर्ट प्रहार गरेको छ ।
यस्तै, यो समाचार तयार पार्दासम्म कोलोम्बियाले तीन र अर्जेन्टिनाले एक मात्र सर्ट अन टार्गेट राखेको छ । यो अवधिमा कोलोम्बियाले पटकपटक गोलको अवसर प्राप्त गरे पनि ऊ फिनिसिङमा चुकिरहेको छ ।
अर्जेन्टिनाले सेमिफाइनलमा क्यानडालाई २–० तथा कोलोम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलको टिकट पक्का गरेका थिए । अब यी दुई टिम फाइनल पनि जित्दै कोपा ट्रफी चुम्न चाहन्छन् ।
हालसम्म अर्जेन्टिनाले २९ पटक कोपा फाइनलमा स्थान बनाउँदा १५ पटक उपाधि जितेको छ । उसले गत संस्करणमा ब्राजिललाई १–० ले हराउँदै सर्वाधिक कोपा उपाधि जित्ने मामलामा उरुग्वेको रेकर्ड बराबर गरेको थियो ।
यसपालि अर्जेन्टिना उरुग्वेलाई पछि पार्दै १६औँ पटक उपाधि जित्ने लक्ष्यमा छ । यस्तै, २३ वर्षपछि कोपा फाइनल खेलिरहेका कोलोम्बिया पनि उच्च लयमा छ । उसले पछिल्लो २८ खेलयता हारको सामना गरेको छैन । सन् २००१ को कोपा च्याम्पियन कोलोम्बिया यसपटक अर्जेन्टिनालाई पनि हराएर वर्षौँदेखिको उपाधि खडेरी तोड्ने अभियानमा छ ।
हालसम्म अर्जेन्टिना र कोलोम्बियाले ४३ अन्तर्राष्ट्रिय खेलमा एकअर्काको सामना गरेका छन्, जसमा अर्जेन्टिनाले २६ खेल जितेको छ । यस्तै, कोलोम्बियासँग अर्जेन्टिना ९ खेलमा पराजित भएको विगत छ । यी दुई टिमले ८ खेल भने ड्र खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।