कोपा अमेरिकाअन्तर्गत अर्जेन्टिना र कोलम्बियाबीचको फाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।
निर्धारित समयमा अर्जेन्टिनाविरुद्ध कोलम्बिया केही हाबी देखियो । उसले सो अवधिमा कूल १४ सर्ट प्रहार गर्यो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले भने ९० मिनेटभित्र मात्र ७ सर्ट प्रहार गर्न सक्यो ।
यस्तै, कोलम्बियाले निर्धारित समयमा ४ र अर्जेन्टिनाले ३ सर्ट अन टार्गेट राखे । फाइनलमा अर्जेन्टिनी कप्तान लिओनल मेस्सी ६६औँ मिनेटमा मैदान बाहिरिएका थिए । मैदानमा लडेपछि उनी खेल्न असमर्थ भएका थिए ।
जारी कोपामा सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २–० तथा कोलोम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलको यात्रा गरेका थिए । अब यी दुई टिम फाइनल पनि जित्दै कोपा ट्रफी चुम्न चाहन्छन् ।
हालसम्म अर्जेन्टिनाले २९ पटक कोपा फाइनलमा स्थान बनाउँदा १५ पटक उपाधि जितेको छ । उसले गत संस्करणमा ब्राजिललाई १–० ले हराउँदै सर्वाधिक कोपा उपाधि जित्ने मामलामा उरुग्वेको रेकर्ड बराबर गरेको थियो ।
यसपालि अर्जेन्टिना उरुग्वेलाई पछि पार्दै १६औँ पटक उपाधि जित्ने लक्ष्यमा छ । यस्तै, २३ वर्षपछि कोपा फाइनल खेलिरहेका कोलोम्बिया पनि उच्च लयमा छ । उसले पछिल्लो २८ खेलयता हारको सामना गरेको छैन ।
सन् २००१ को कोपा च्याम्पियन कोलोम्बिया यसपटक अर्जेन्टिनालाई पनि हराएर वर्षौँदेखिको उपाधि खडेरी तोड्ने अभियानमा छ ।
हालसम्म अर्जेन्टिना र कोलोम्बियाले ४३ अन्तर्राष्ट्रिय खेलमा एकअर्काको सामना गरेका छन्, जसमा अर्जेन्टिनाले २६ खेल जितेको छ । यस्तै, कोलोम्बियासँग अर्जेन्टिना ९ खेलमा पराजित भएको विगत छ । यी दुई टिमले ८ खेल भने ड्र खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।