४८औँ संस्करणको कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १–० ले हराउँदै अर्जेन्टिनाले १६औँ पटक कोपा उपाधि जितेको हो ।
योसँगै उसले सर्वाधिक कोपा उपाधि जित्ने रेकर्ड बनाएको छ । यसअघि अर्जेन्टिना र उरुग्वेको नाममा १५/१५ कोपा उपाधि थियो । अब अर्जेन्टिनाले उरुग्वेलाई पछि पार्दै सर्वाधिक कोपा उपाधि जित्ने मामलामा शीर्ष स्थानमा उक्लिएको छ ।
अर्जेन्टिनालाई लगातार दोस्रो तथा समग्रमा १६औँपटक कोपा च्याम्पियन बनाउनेक्रममा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे । उनले खेलको ११२औँ मिनेटमा जियोवानी लो सेल्सोको असिस्टमा गोल गरेका हुन् ।
मार्टिनेजको सोही गोल नै निर्णायक साबित भयो । कोपा २०२४ मा उनको यो पाँचौं गोल हो । योसँगै मार्टिनेज सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहे ।
कोपा अमेरिका २०२४ मा सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २–० तथा कोलोम्बियाले उरुग्वेलाई १–० ले हराउँदै फाइनलको यात्रा गरेका थिए ।
कोलम्बिया २३ वर्षपछि कोपाको फाइनल पुगेको थियो । उपाधि जित्न चुके पनि यसपालि उसले उत्कृष्ट प्रदर्शन गर्यो ।
कोलम्बिया अपराजित रहेर फाइनल खेलेको थियो । तर, फाइनलमा पराजित भएसँगै उसको अपराजित यात्रामा पूर्णविराम लागेको छ । कोलम्बिया पछिल्लो २८ खेलयता अपराजित थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।