२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

बर्खासँगै सरुवारोगको बाढी, रोग लाग्न नदिन कस्तो सर्तकता अपनाउने ?

बर्खा लागेसँगै देशभर मनसुनी प्रकोप पनि बलियो हुँदै गएको छ । यो मौसममा पानीजन्य सरुवा रोगहरू अत्यधिक मात्रामा बढ्ने गर्छन् । विगत वर्षहरूमा झाडापखाला, हैजा र डेंगुलगायत सरुवा रोगहरू महामारीकै रूपमा फैलिएको थिए । यस वर्ष पनि ७३ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको छ । देशका केही भू–भागमा दैनिक पानी परिरहेकाले डेंगु संक्रमण तथा अन्य पानीजन्य रोगको जोखिम उच्च रहेको जनस्वास्थ्यविद् बताइरहेका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार ५४४ जनामा डेंगु संक्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिएको जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा एकसय ८३ जनामा डेंगु संक्रमण देखिएको छ । झापामा एकसय २३ जनामा र चितवनमा ९० जनामा संक्रमण पुष्टि भएको छ । 



उनले पानी संकलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको जोखिम बढेको जानकारी दिए । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेंगु संक्रमण फैलाउँछ । डा. दाहालले डेंगु संक्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

डा. दाहालका अनुसार अहिले फाट्टफुट्ट रूपमा पानीजन्य सरुवा रोग देखिन थालेको छ । जसको निगरानी भइरहेको उनले बताए । ‘विगतका वर्षमा जस्तो महामारीकै रूपमा फैलिएको छैन । तर, एक–दुई केसहरू भेटिएको छ । धेरै फैलिन नदिन सरकारले सक्दो प्रयास गरिरहेको छ,’ डा. दाहालले भने । 



बर्खायाममा नेपालमा हरेक वर्ष बाढी, पहिराले सर्वसाधारणको धन, जनको अनुतलनिय क्षति हुने गरेको छ । यससँगै यस मौसममा रोगको बाढी पनि आउने हुनाले आमनागरिक थप मर्कामा पर्ने गरेका छन् । बर्खायाममा प्रायः पानीजन्य रोगको बढी जोखिम हुने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डाक्टर शेरबहादुर पुन बताउँछन् । यससँगै बर्खामा निम्न प्रकारका रोगको जोखिम अत्यधिक रहने उनको भनाइ छ । 
  
झाडापखाला

दूषित पानीका कारण बर्खामा देखिने मुख्य सरुवारोग भनेको झाडापखाला हो । वर्षाको समयमा हामीले खाने धेरैजसो पानी दूषित हुने हुँदा झाडापखाला देखिने गर्छ । झाडापखालाबाट विशेष गरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने डा. पुनको भनाइ छ । 

उनका अनुसार यसबेला सहरकोे तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखाला धेरै देखिने गर्छ । यस मौसममा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म मिसिने हुँदा झाडापखाला धेरै देखिने गरेको उनको भनाइ छ ।

टाइफाइड



बर्खाको बेला धेरैमा टाइफाइट ज्वरो संक्रमण हुन्छ । साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहमा धेरै खालका जीवाणु हुन्छन् । तर, टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाइड र प्यारा टाइफाइडका जीवाणुहरू भेटिन्छन् । दूषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरू देखिन्छ ।

यो रोगबाट बढी मात्रामा १५ वर्षमुनिका बालबालिका प्रभावित हुने गरेको देखिएको छ । टाइफाइड हुँदा मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । रिंगटा लाग्ने, वाकवाकी हुने तथा कसैलाई वान्ता पनि हुने, शरीर गल्ने र खान मन नलाग्ने लक्षणहरू देखिन्छन् ।

हेपाटाइटिस ए, बी

हामीले खाने खाद्यान्न र पानीले गर्दा यस मौसममा देखिने अर्को प्रमुख सरुवारोग भनेको हेपटाइटिस ए, बी अर्थात् जन्डिस हो । बासी खाने कुरा र दूषित पानीले धेरैमा जन्डिस निम्त्याउँछ ।

शरीरमा पानी मात्रा कम हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाँदा पनि धेरैलाई जन्डिस देखिने गर्छ । सुरुमा ज्वरो आउने र शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हो ।

आउँ र हैजा

हामीले खाने दूषित पानी र खानेकुराले गर्दा यस मौसमा धेरैलाई आउँ तथा हैजा देखिने गर्छ । पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने लामो समयसम्म उपचार नगरेमा शरीरमा पानीको मात्र कम हुने र अन्यमा शरीरका महत्वपूर्ण अंगहरूले काम गर्न छोड्नेजस्ता समस्या निम्तिन्छन् ।

जसकारण यस मौसममा आउँबाट बच्न हामीले खानेपानी र खाने कुरामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

रोगको बाढीबाट कसरी जोगिने ? 

बर्खाको बेला बाढी–पहिरो आउने गर्छ । जसले गर्दा हाम्रो घरवरपरका खानेपानीको मुहानहरूमा बाढी पस्छ । खानेपानीको मुहान दूषित हुन्छ । यसरी बाढी पसेको पानी पिउँदा हामीलाई झाडापखाला र आउँजस्ता संक्रमण हुन्छ । 

त्यसैले पानीलाई नियमित उमालेर पिउनुपर्ने डा. पुन बताउँछन् । उनका अनुसार यदि पानी उमाल्न नसक्ने अवस्था भए क्लोरिन राखेर निर्मलीकरण गर्न सकिन्छ । पानीलाई कम्तीमा पनि एक मिनेटसम्म उमालेर खाने गर्दा यस्ता रोगबाट बच्न सकिने चिकित्सक सुझाउँछन् ।

व्यक्तिगत सरसफाइमा ध्यान दिने

सरुवा रोगबाट जोगिन सबैभन्दा पहिले हरेक व्यक्तिले व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउनुपर्छ । बर्खामा अझ बाढी र पहिरोजस्ता प्राकृतिक विपत्तिमा पानीजन्य समस्याको प्रकोप धेरै हुने हुँदा हामीले खानेपानीको शुद्धतामा विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

वर्षात्मा दूषित पानीबाट लाग्ने रोगहरूबाट बच्ने सबैभन्दा पहिलो विकल्प भनेकै दूषित पानीको सेवन नगर्नु र खानेकुरा खानुअघि हात धुनु नै हो । जथाभावी दिसापिसाब गर्नुहुँदैन । खानेकुरालाई राम्रोसँग पकाएर खानुपर्छ ।

यसका साथै साबुन–पानीले नियमित हात धुने गरे पनि यी रोगबाट बच्न सकिन्छ । दिसा गरिसकेपछि, खाना बनाउनुअघि, खाना बाँड्नुअघि र खाना खानुभन्दा पहिले पहिला साबुनपानीले हात धुनु आवश्यक हुन्छ । विशेषगरी बालबालिकालाई यस्ता रोगले सताउने भएकाले आफैँले उनीहरूको सरसफाइ गरिदिनुपर्ने डा. पुनको सुझाब छ ।

यस मौसममा बासी तथा काँचो खानेकुरा खानुहुँदैन । घरबाहिर निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्ने गर्नुपर्छ । बाढीले विभिन्न जीवजन्तुहरूलाई बगाएर ल्याउने धेरै सम्भावना हुन्छ । जसले गर्दा दुर्गन्ध फैलिने गर्छ । त्यस्तो दुर्गन्धले हाम्रो स्वास्थ्यमा असर गर्ने गर्छ । त्यसैले बाहिर निस्कँदा मास्कको प्रयोग गर्नु उत्तम हुन्छ । 

  • प्रकाशित मिति : १ साउन, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया