बाबुआमाले आफ्ना छोराछोरीले सानातिना गल्ती गरे पनि ढाकछोप गर्न खोज्छन् । छोराछोरीप्रतिको माया र उनीहरू सुध्रियून् भन्ने चाहनाले उनीहरू सकेसम्म आफ्ना सन्तानको प्रतिरक्षा गर्न तम्सिन्छन् । तर, यो नियम त्यतिबेलासम्म लागू हुन्छ जतिबेला बाबुआमालाई आफ्नो सन्तानलाई आफैँ सुधार्न सक्छु भन्ने विश्वास हुन्छ । अब मैले यसलाई सुधार्न सक्दिन भन्ने बाबुआमालाई लाग्छ, त्यसपछि उनीहरू छिमेकी वा प्रशासनको सहयोग लिन बाध्य हुन्छन् ।
केही दिनअघि पंक्तिकार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुग्दा ठ्याक्कै यस्तै दृष्य देखियो । बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुग्दा देखिएको एउटा दृश्यले मनै उद्वेलित बनायो । झट्ट हेर्दा करिब ४५–५० वर्षकाजस्ता देखिने एकजना अधबैंसे पुरुष आफ्नो छोरालाई प्रहरी हिरासतमै राख्न अनुरोध गर्दै थिए ।
कोही पनि आमाबुवाले आफ्नो छोराछोरीको कुभलो कदापि चिताउँदैनन् । ती अधबैंसे पुरुषले पनि छोराको रिसले उसलाई हिरासतमै राख्न पक्कै भनेका होइनन् । बरु ऊ बाहिर आएर थप बदमासी नगरोस्, हिरासतभित्रै बसेर उसले आफूलाई सुधार गरोस् भन्ने ती बाबुको चाहना हो ।
नेपाली समाजमा कोही व्यक्ति जेल जानुलाई सामान्य ढंगले हेरिँदैन । अझ सामान्य सोधपुछको लागि प्रहरीकहाँ जाँदा पनि ठूला–ठूला आँखा पारेर हेर्ने समाजमा एउटा बुबाले भने छोरालाई जेलमै राख्न अनुरोध गरिरहेको दृष्य उदेकलाग्दो थियो ।
उनी प्रमुख जिल्ला अधिकारीसामु भनिरहेका थिए, ‘बाहिर निस्क्यो भने बहिनी, आमा र मलाई मार्छु, खुकुरी लिएर काट्छु भन्दै हिँड्छ । यसले गर्दा घरमा दिनदिनै कलह हुन्छ । छिमेकीले समेत होहल्ला भयो भनेर कराउन थाल्नुभएको छ । केही गरेर पनि सुधार्न नसकेपछि यसलाई प्रहरीको जिम्मा लगाएको हुँ । यो यतै भए मात्र हामी घरमा शान्तिले बस्न पाउँछौँ ।’ एक्लैले ज्याला मजदुरी गरेर दुःखले हुर्काएको छोरो लागुऔषधको कुलतमा फसेपछि आफ्नो जीवन सुरक्षाका लागि गरेको अनुनयले एकपटक सोचमग्न बनायो ।
पछिल्लो समय लागुऔषधको प्रयोग एक मानसिक स्वास्थ्य समस्याको रुपमा देखापरेको छ । जनस्वास्थ्यविदहरू भने लागुऔषध दुर्व्यसन स्वास्थ्य समस्याका कारण उत्पन्न हुने भएकाले यसको उपचार पनि सम्भव भएको बताउने गर्छन् । उनीहरूका अनुसार यसले मस्तिष्क र व्यवहारलाई असर गर्दछ ।
‘मनको तेस्रो तहमा व्यक्तिको पूरा हुन नसकेका इच्छा, आकांक्षा, सपना, चाहना, कुण्ठा आदि दबिएर बसेका हुन्छन्,’ स्नायु तथा मनोरोग विशेषज्ञ डा. सुमनप्रसाद अधिकारी भन्छन्, ‘यस्ता तत्वहरूले सजिलो निकास नपाउँदा विकारको रूप लिएर प्रकट हुन्छन् । यसरी पैदा हुने मानसिक समस्यालाई रूपान्तरित विकार भनिन्छ । रूपान्तरित विकारमा व्यक्तिको मन, स्मरणशक्ति, व्यक्तित्व, परिचय र व्यवहारबीचको समन्वय टुटेर असामान्य वा अस्वभाविक लक्षण देखापर्छन् ।’
उनका अनुसार हिजोआज युवाहरूको मनमा दबिएर बसेका आफ्ना इच्छा, चाहना पूरा गर्न नसक्दा पीडालाई भुलाउन धेरैजसो लागुऔषध दुर्व्यसनमा फसेको पाइन्छ । यसतर्फ समयमै सजग हुन आवश्यक रहेको उनको भनाइ छ ।
यस्तै, अर्का स्नायु तथा मनोरोग विशेषज्ञ डा. अरविन्द भुसाल पनि युवाहरू कुलतमा फस्दै जाँदा एन्जाइटी, डिप्रेसनजस्ता मानसिक समस्याको सिकार भइरहेको बताउँछन् । उनका अनुसार दुव्र्यसनमा फसेका युवाहरूमा मानसिक समस्यासँगै शारीरिक समस्या जस्तैः मिर्गौला, कलेजोलगायतमा समस्या निम्तिन्छ । यसका साथै सुनौलो भविष्य निर्माण गर्ने समयमा कुलतमा फस्दा वर्तमान तथा भविष्यमा आर्थिक, सामाजिक समस्या निम्तिने उनको भनाइ छ ।
१५ देखि ३० वर्षका युवा कुलतमा
लागुऔषध प्रयोगकर्तालाई फौजदारी दण्ड दिनुको विकल्पमा दुई प्रकारका उपचार विधि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । लागुऔषध प्रयोगकर्ताहरूलाई उपचारमा प्राथमिकता दिनाले उनीहरूको स्वास्थ्य र सामाजिक सुधार हुने जनाइएको छ । लागुऔषध प्रयोगकर्ताहरूको उपचारका लागि लागुऔषध मौखिक प्रतिस्थापन उपचार विधि र लागुऔषध उपचार तथा पुनर्स्थापना केन्द्र गरी दुई प्रकारका उपचार विधिहरू प्रचलनमा रहेका छन् ।
सन् २०२२ सम्म विश्वका ८७ देशहरूले मौखिक प्रतिस्थापन उपचार विधि सञ्चालन गरेका छन् । नेपालमा यस उपचार कार्यक्रमको पहिलोपटक सुरुवात सन् १९९४ मा गरिएको थियो । हाल नेपालका सरकारी तथा निजी गरी १४ अस्पतालहरू र गैरसरकारी संस्थाहरूबाट यो कार्यक्रम सञ्चालन गरिएको छ ।
त्यस्तै, नेपालमा लागुऔषध उपचार तथा पुनःस्थापना केन्द्र सन् १९७६ मा सुरु भएको थियो । हाल दुई सय ५० भन्दा बढी उपचार केन्द्रहरू सञ्चालनमा रहेका छन् । नेपालको लागुऔषध नियन्त्रण ऐन २०३३ र लागुऔषध नियन्त्रण राष्ट्रिय नीति, २०६३ ले लागुऔषध प्रयोगलाई स्वास्थ्य समस्याको रूपमा मान्यता दिएको छ । र, फौजदारी दण्डको विकल्पको रूपमा उपचार सिफारिस गर्छ ।
लागुऔषधको प्रयोगलाई स्वास्थ्य समस्याका रूपमा नलिई अपराधीकरण गर्ने राज्यको नीति रहेको छ । नेपालका जेलहरूमा हरेक पाँचमध्ये एकजना लागुऔषधको मुद्दामा छन् । नेपालका अधिकांश ७५ प्रतिशतभन्दा बढी लागुऔषध प्रयोगकर्ताहरू १५ देखि २९ वर्ष उमेर समूहका किशोरकिशोरी र युवा रहेका छन् ।
गृह मन्त्रालयको एक सर्वेक्षणअनुसार कुल लागुऔषधको प्रयोगकर्तामध्ये ९७ प्रतिशतलाई कम्तीमा एकपटक प्रहरीले पक्राउ गरेको र पक्राउ परेकामध्ये ३२ प्रतिशतलाई फौजदारी मुद्दा लगाइएको थियो । त्यसै लागुऔषध नियन्त्रण ब्युरोले मात्रै वि.सं २०८० असारदेखि चैत्तसम्म लागुऔषधसम्बन्धी कसुरमा तीन हजार एकसय ५७ फौजदारी मुद्दा अदालतमा दायर भएका छन् ।
गृह मन्त्रालयले वि.सं २०७६ मा प्रकाशन गरेको उक्त सर्वेक्षण प्रतिवेदनअनुसार देशभर करिब एक लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ताहरू रहेका थिए । कुल लागूऔषध प्रयोगकर्तामध्ये ७ प्रतिशत महिला प्रयोगकर्ता पाइएको थियो ।
६९ प्रतिशत अर्थात् ९० हजारभन्दा बढी प्रयोगकर्ताले सुईद्वारा लागुऔषध प्रयोग गर्ने गरेको उक्त प्रतिवेदनले देखाएको थियो । उक्त सर्वेक्षणमा नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या २०६३ सालको पहिलो सर्वेक्षणको तुलनामा तीन गुणाले बढेको र प्रत्येक वर्ष ५.०६ प्रतिशतका दरले बढ्दै गएको देखाएको छ ।
न्यूरोसाइकियाट्रिस्ट डा. भुसाल नेपालमा लागुऔषधको प्रयोग एक मानसिक स्वास्थ्य समस्याको रूपमा देखापरेको तथा यसको उपचार सम्भव भएको बताउँछन् । यसलाई फौजदारी अपराधअन्तर्गत राख्न नहुने उनको भनाइ छ । यससँगै उनले लागुऔषध प्रयोगकर्ताको अवस्था हेरेर उपचार गर्दा यसबाट बाहिर निस्कन सकिने समेत औँल्याए ।
उनका अनुसार विशेषगरी २० वर्षसम्मका बालबालिकाहरू साथीभाइको लहलहैमा लागेर उत्सुकता मेटाउन लागुऔषध प्रयोग गर्दछन् । प्रयोग गर्ने अधिकांश बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर भरियाको रूपमा प्रयोग गर्ने र उनीहरू लागुऔषध कारोबारको सिकार बनेको देखिन्छ भने केही बालबालिकाले घरमा माया, ममता नपाएर भौँतारिँदै हिँड्दा लागुऔषधको गम्भीर कुलतमा फसेको देखिएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।